आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो-
'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो
जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो
सेतो एकदम सेतो, अस्पतालका वार्डहरूमा
फुलेको सुन्दर, इन्द्रकमलको फूल'
यही गीतले मेरी दिदीलाई नर्स बन्न प्रेरणा दियो।आठ कक्षा उत्तीर्ण भई विराटनगरबाट अनमी पढेर नर्सिंङ पेसामा आबद्ध मेरी दिदी अनमीकै रूपमा नेपालका दुर्गम गाउँबस्तीका हेल्थपोस्टमा सेवारत रहनुभयो। त्यही क्रममा स्थानीय विद्यालयबाट उहाँले प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभयो।
त्यसपछि जागिर र पढाइ सँगसँगै बढाउँदै बिएस्सी नर्सिंङ उत्तीर्ण गरेर उहाँले लामो समय नेपाल र बेलायतका सरकारी अस्पतालहरूमा काम गर्नुभयो।
तीन वर्षअघि क्यान्सरसँग लड्दा लड्दै दिदीले तलको कविता लेख्नुभएको थियो। दिदीको अन्त्येष्टिका लागि बेलायतको पिटरबोरो जाँदा मैले उहाँकै निवासमा बेडको तकियामुनि यो कविता भेटेकी हुँ।
दिदीले आफ्नो अन्तिम कवितामा पोखेको नर्सिंङ पेसाप्रतिको सम्मान अहिलेको समयमा अत्यन्तै सान्दर्भिक रहेकाले तपाईंहरूसमक्ष सार्वजनिक गर्न चाहन्छु। आफ्नो र परिवारको स्वास्थ्य जोखिमको ज्ञान हुँदाहुँदै अस्पतालहरूमा कोरोना संक्रमित र अन्य बिरामीको सेवामा अविरल खटिरहेका ती सबै इन्द्रकमल फूलहरूप्रति यो कविता समर्पित छ।
विजयको विश्वास नर्सिंङ पेसा
- स्व. मीना पौड्याल
टलल टल्केको मोती जस्तो,
कलल बग्ने झरना जस्तो,
हिउँ शृंखलाको हिउँको ढिको जस्तो,
सरस्वतीको बिणाको झंकार जस्तो,
त्यो सेतो सुभाष, दया र सेवाको आभास,
तिनको रूप-इन्द्रकमल फूलको गुच्छा जस्तो।
मैले सुनेथेँ, इन्द्रकमल पनि निश्चित समयमा फुल्छ रे,
मैले सुनेथेँ, इन्द्रकमल पनि उचित वातावरणमा मात्रै फुल्छ रे,
तर यो कस्तो फूल हो?
जुन अनुकूल वातावरणमा पनि,
र अनुचित मौसममा पनि फुलि नै रहन्छ!
ठूला ठूला अस्पतालका वार्डहरूदेखि लिएर
सहरका, गाउँबस्तीका झुपडीहरू बीचमा पनि फक्रिरहन्छ।
हरबखत आफ्नु दु:ख र पीडालाई भुलेर,
पहेँलो पात र ओइलाउन लागेका मुनाहरूबीच मुस्काइरहन्छ।
दया र सेवा अनि विश्वासमा ओतप्रोत त्यो मूर्ति
बेजान हुनै लागेका शरीरमा जीवनदान दिन लम्किरहेको हुन्छ।
अब तपाईं आफैं भन्नुहोस्,
आफ्नो दुधे बालकको वास्ता नगरी
अरूको बालकलाई नलीको माध्यमले पेट भराउने-
ती आमालाइ के भन्ने?
घरमा छोरीको तृष्णामा बाटो कुर्ने वृद्ध आमाको वास्ता नगरी
वार्ड र गाउँकी बूढीआमाहरूको मन बहलाउने-
ती छोरीलाइ के भन्ने?
आफ्नो जीवनका हज्जारौं बन्धनलाई त्यागेर
पहाड अनि कन्दरामा गई जीवनयापन गर्ने-
तिनको त्यागलाई के भन्ने?
ऐस, आराम र सुखी जीवन लत्याउँदै झुपडीको सेवा गर्ने-
ती सेविकालाइ के भन्ने?
तपाईं जे भन्नुहोस्,
म त यही भन्छु-
विज्ञान र पश्चिमी प्रभुत्व विस्तारको यो रणमैदानमा कतै शान्तिको अस्तित्व छ भने-
तिनी बुद्धकी छोरी चेली हुन्,
अविश्वास र घृणाको लहरमा कतै मानवताको स्थान भए-
तिनी नाइटिङ्गलकी शिष्य हुन्,
बढ्दो विदेशी संस्कृति र प्रभुत्व भएको समाजमा
यदि नेपालीत्व भए-
तिनी सीताकी अर्को रूप हुन्,
एक्काइसौं शताब्दीमा पनि कतै ईश्वरप्रति आस्था भए-
तिनी सरस्वतीकी प्रतिमूर्ति हुन्।
मलाई विश्वास छ,
विश्वभरिकै सेवाका मूर्तिहरू,
ती इन्द्रकमलका फूलहरू,
एकदिन एउटै माला सेवाको गाँस्ने छन्।
ती इन्द्रकमलका फूलहरू एकदिन एउटै गुच्छा बनी परिचारिकाको परिचय दिनेछन्।
त्यो माला गएर सेवाकी जननी नाइटिङ्गलको गलामा बस्नेछ,
आफ्नो उद्देश्य र परिणाममा सन्तोष बनी त्यो सेतो मूर्ति हाँस्नेछ।
शान्ति र सेवाको अस्तित्व देखेर चन्द्रमा नाच्नेछ,
हजारौं, लाखौं रोगीहरूको आशीर्वादमा संसार स्वर्ग बन्नेछ।
विश्वभर शान्ति फैलाउने उद्देश्यमा त्यो मूर्ति लागिरहनेछ
हिँडिरहनेछ,
रोगीका क्षितिजसम्म पुग्न हातमा प्रकाशको ज्योती बोकेर।
निरोगिता र शान्ति बनाउने प्रयासमा
अनि विजयको विश्वासमा।