बा भन्नु हुन्छ-
छोरी तिमी नारी भएर जन्मिएकी छौ
भाग्यमानी छौ
तर तिम्लाई नारी भनेरै गल्लीमा कुकुरहरुले गिज्याउने छन्।
अलिकति बोल्यौ भने पनि पोथी बासेको
सुहाउँदैन भनी होच्याउने छन्।
त्यो बेला मलाई बोलाउनु,
महिला पुरुष एकै सम्मान हुन भनी पाठ सिकाउने छु
नारी बिनाको जीवन कस्तो हुन्छ वृतान्त बताउने छु।
सुन ,
त्यसले छोटा कपडा लगाई, हेर त कस्तो लाज पचेकी भन्लान
दुनियाँले औल्याउँदै यसकी छोरी त मति सकिएकी भन्लान्।
त्योबेला मलाई बोलाउनु,
को-को हुन् ती हरामहरु सबैलाई राम्ररी गन्ने छु
कपडाले कसैको नैतिकता निर्धारण गर्दैन भनी सभ्यताका कुरा भन्नेछु।
म फेरि पनि भन्छु ,
मेरी श्रीमतीले नै तँ छोरी मान्छे होस्,
साँझ हिँड्न हुँदैन भन्ने छे
महिनावारी हुँदा छोरीले छोएको खान हुन्न भनी
बन्देजको डोरी बान्ने छे।
त्यो बेला मलाई बोलाउनु ,
म तिम्रै हातले बनाएको खाना चुपचाप खाने छु
तिमी को हौ भनी ऐना देखाउन मन्दिर समेत लानेछु।