मलाई थाहा छ, कमला
दिनैभरि पिपिई लगाएर
कोभिड वार्डमा दौडादौड गर्न पक्कै सजिलो छैन।
यो गर्मीयाममा
पसिनाले निथ्रुक्क हुञ्जेल
अक्सिजन सिलिन्डर घरी यता, घरी उता दौडाउनु,
अक्सिमिटरले औंला च्याप्दै
घन्टा–घन्टाको अंक टिप्नु,
परबाट एम्बुलेन्सको साइरन कानमा नपर्दै
भएको बेडमा तन्ना फेर्नु
बेड नभए भुइँमै सही
बिरामीलाई पल्टन धरी मिल्ने ठाउँ बनाउनु,
तिमीलाई सजिलो पक्कै छैन, कमला
मलाई थाहा छ कमला
तिमीलाई पनि बेस्सरी दुख्छ कम्मर,
फुट्लाजस्तो हुन्छ पिडौला,
फत्रक्क गल्छ हात,
कतिबेला काठको मुढोजस्तो
निस्लोट पल्टन मन हुन्छ आफ्नो प्यारो ओछ्यानमा
कतै टाढाको पहाडी झरनामा
पखाल्न मन हुन्छ जीउभरिको मयल
धुन मन हुन्छ आगोसरिको गर्मी
फुकालेर गह्रुंगो पिपिई
हलुका हुन मन हुन्छ,
श्वास समातेर बसेजस्तो मास्क
डसबिनमा फालेर
तान्न मन हुन्छ लामो शितल निःश्वास।
तर, मिल्काएर यी सबै मनहरू
तिमी भरिरहेकी छ्यौ आशाको आभा
क्षीण बन्दै गएका आँखाहरूमा।
लुकाएर आफ्ना सबै बह
तिमी भरिरहेकी छ्यौ श्वास
सुक्दै गरेका फोक्सोहरूमा।
आफ्नो तनमा बचेका केही थोपा ऊर्जा झिकेर
घोच्दैछौ जीवनको सुई।
कमला, मलाई थाहा छ
मैनबत्ती बन्न निकै गाह्रो हुन्छ।
आइसियू वार्डमा
तिम्रो श्वासले पनि जोगाउन नसक्दा श्वासहरू,
तिम्रो ऊर्जाले पनि उठाउन नसक्दा प्राणहरू,
स्क्रिनमा सुस्त सुस्त बन्दै जाँदा रेखाहरू,
अक्सिमिटरमा घट्दै घट्दै जाँदा अंकहरू,
मरणासन्न अदनालाई
सुताउन नसक्दा बेडमा
क्षीण बन्दै गरेको श्वासमा
भर्न नसक्दा अक्सिजन
तिमी सराप्दी हौली आफैंलाई
अनि रिसाउँदी हौली सरकारसँग
धिक्कार्दी हौली शासकलाई ।
कमला,
समयले आज
नाप्दैछ तिम्रो धैर्यता
जोख्नेछ तिम्रो विनयशीलता
तौलिँदैछ तिम्रो समर्पणभाव
लिँदैछ जीवनको परीक्षा।
जब उत्तीर्ण गर्ने छौ तिमीले यो परीक्षा
जब जित्नेछौ तिमीले यो लडाइँ
जब तिमीले खोस्नेछौ कालको मुखबाट जीवन
अनि हिँडाउनेछौ आशाको राजमार्गमा
कमला, तिम्रो कसम,
तिमी अझ बढी प्रेमिल हुनेछौ
तिम्रो सुन्दरता पिपिईभित्र अझ निख्खारिनेछ।
मास्कले छेक्न सक्नेछैन तिम्रो उज्यालो आभा
वशीभूत हुनेछ सिंगो मन
तिम्रो चमकमा।
कमला, तिमी नै आजको हाम्रो आशा हौ,
तिमीले नै आजको हाम्रो भविष्य हौ।