म
भुइँतलाको मान्छे
मलाई धुवाँ बनी
धुरीको धुवाँ सरि उड्नु छैन।
भर्याङका खुडकिला एकैचोटिमा
दुई वटा उछिनी अरुको धुरी
चिहाएर हेर्नु छैन।
म
भुइँतलाको मान्छे
मलाई धुरीबाट धुवाँ
कसरी निस्केर उडेको छ
भनी जान्नु छैन।
पिरो धुवाँ बनी, कसैको
हाँसोमा घोलिइ आँसु
पनि बन्नु छैन।
म
भुइँतलाको मान्छे
मलाई मेरा सपनाको ढलान
पुरिने गरी कुनै अर्को तला
थपी धुरी चुल्याउनु पनि छैन।
केही समय थकाइ मारेका
मेरा सपनाका सिलिङ्हरुलाई
हल्ल्याई, अनायसै बिथोलेर
बीचमा कतै चिरिएको धर्को
पनि बनाउनु छैन।
म
भुइँतलाको मान्छे
मलाई धुवाँ बनी
धुरीको धुवाँ सरि उड्नु छैन।
म
भुइँतलाको मान्छे
पिरो धुवाँ बनी, कसैको
हाँसोमा घोलिइ आँसु बन्नु छैन।