पशुपतिनाथ मन्दिर।
तपाईं कति जनाले यो मन्दिरको दर्शन गर्नु भएको छ?
कति जनाले मन्दिर परिसर भित्र पुगेर फूलपाती सहित पूजा गर्नु भएको छ?
मन्दिरमा पूजा बाहेक आसपासमा कति समय बिताउनु भएको छ?
पहिलोपल्ट जानु भएको हो भने मन्दिरको पछाडिपट्टि बागमती नदी माथिका ती दुई पुल मध्य कुनै न कुनैमा आढेस लागेर केही समय पक्कै पनि बिताउनु भएको होला।
आर्यघाटमा जलिरहेका लासलाई एक नजर लगाउनु भएको छ होला। यो मेरो अनुमान मात्र। नमिल्न पनि सक्छ है।
पशुपतिमा हरेक दिन बेलुका आरती पनि हुन्छ।
आरती सुन्न र हेर्न सानो बालकदेखि बुढा बाआमा पनि जान्छन्। आस्था र भरोसाभन्दा पनि बढी मनको शान्तिको लागि।
तपाईंहरुमध्ये धेरैले नेपाली फिल्म पशुपतिप्रसाद पनि हेर्नु भएको छ होला।
आफैले देखेको र बुझेको पशुपतिभन्दा फिल्मबाट केही फरक कुरा सिक्नु भयो होला। फरक चिज देख्नु भयो होला। यी सब कुरा देख्न मन्दिर परिसरमा केही दिनहरु बिताउनु पर्दो रहेछ। कयौं रातहरु बिताउनु पर्दो रहेछ।
हरेक दिन बेलुका आरती हेर्न जाने मेरो बानी जस्तै भैसकेको थियो। म जस्तै अनुहार दोहोर्याएर धेरै मान्छे आउँदा रहेछन्। विस्तारै आरतीमा गाउने भजन पनि सिकियो। मनमा छुट्टै आनन्द आउन थाल्यो।
त्यसपछिका धेरै साझहरु पशुपतिको खोला किनारमा बित्न थाले। सुरुसुरुमा साथीभाइहरु पनि जान्थे। मेरो त् दैनिकी जस्तै भयो। एकदिन गाउँबाट आएका आफन्तले अनुरोध गरेपछि एकाबिहानै पूजाको लागि पशुपति गयौं।
मन्दिरमा पूजा गर्नेहरुको भिड नै थियो। महाशिवरात्री र हरितालिका तिजको जस्तो भिड भने होइन।
जे होस्। कोही पूजा गरिरहेका थिए। कोही फोटो खिचिरहेका थिए। फूल व्यापारीहरु फूल बेचिरहेका थिए। कामदारले सफाइ गरिरहेका थिए। कोही परेवालाई दाना खुवाउँदै थिए त कोही जनावरलाई जिस्काउँदै थिए।
पशुपतिका बाबाहरु आफ्नै धुनमा थिए। एकजना हनुमानको अवतारमा थिए। उनीसँग फोटो खिचनेको पनि कमि थिएन। माग्नेहरू मागिरहेका थिए। आर्यघाटमा सवहरु जलिरहेका थिए। नजिककैको रिङरोडमा गाडी गुडिरहेका थिए। आकाशमा हवाइजहाज बेला बेलामा उडिरहेका थिए।
पूजा पाठ सकिसकेपछि हामी सबै जना घर फर्कियौं। बाटोमा घर फर्किदै गर्दा अनेक प्रश्न मन भित्र खेली रहे। बिर्सिन कोसिस गर्थेँ, सकिरहेको थिइनँ। आफन्तहरुलाई गाउँ फर्किन अनलाइनबाट टिकट बुकिङ गरेँ।
तीन बजेको टिकट थियो। एक घण्टा अगाडीनै बिमानस्थल पुगिसक्नु पर्ने। दुई बजेतिर उहाँहरुलाई बिमानस्थलमा छोडेर सिधैँ पशुपति तिर लागेँ। आरती हेर्न बेलुका त् जानु नै थियो। बेलुकासम्म कुर्न सकिनँ। कारण: बिहान पूजा गर्न जाँदा मन्दिरमा देखिएका दृश्य र मन भित्र उब्जिएका प्रश्न।
हतार हतारमा बागमती पुल माथि गएर यता उता हेर्न थालेँ। मन्दिरको कथाभन्दा आर्यघाटको कथा बुझ्नु थियो। आर्यघाटको कथासंगै जिन्दगीको परिभाषा खोज्नु थियो।
क्षण-क्षणमा शव बोकेका एम्बुलेन्स र गाडीहरु आइरहन्थे। आज कुनै पनि आर्यघाट खाली थिएनन्। सधैँ यस्तो हुँदैन। जन्मपछि हामी सबै आफ्नो मृत्यु कुरिरहेका हुन्छौं। ति मृत लास भने आर्यघाट कुरिरहेका थिए।
आर्यघाटमा भिआइपीको लागि छुट्टै व्यवस्था छ। एकजना व्यक्तिलाई त्यही आर्यघाटमा लगियो। सायद उनी पनि कहीं कतै उच्च ओहदाका मान्छे नै होलान्। हामी जन्मिँदा नै धेरै कुरा छुट्टिसकेका हुन्छन्। जस्तै: लिंग, जात, धर्म आदि इत्यादि।
धर्म परिवर्तन गर्न सक्छौँ। पेशा परिवर्तन गर्न सक्छौं। ओहदा परिवर्तन गर्न सक्छौं। यो सानो जात त्यो ठूलो जात। यो सानो मान्छे त्यो ठूलो मान्छे। यो सानो धर्म त्यो ठूलो धर्म। यो सानो वर्ग त्यो ठूलो वर्ग। यो सब हामी मान्छेले नै त हो छुट्ट्याएको। जन्मदेखि मृत्युसम्म फरक छुट्याउन छोडिनौं। मृत्युपछि पनि आर्यघाट छुट्याउन छोडिनौं।
म भने चितामा पल्टिरहेको लाचार लास माथि फरक छुट्याउन कोसिस गर्दै थिएँ। जलिरहेको लासको धुवाँमा के फरक छ? चिताको खरानीमा केही फरक छ? मृत्युपछि स्वर्ग वा नर्क गइन्छ रे। को कहाँ गए होलान सोध्न मिल्छ? स्वर्ग जाने आधार के रहेछ? नर्क जाने आधार के रहेछ? लुकेर हेर्न मिल्छ?
यदि मान्छेको पहुँच त्यहाँसम्म पुग्थ्यो भने त्यहाँ पनि भेदभाव कायमै राख्थे होला है। त्यहाँ पनि फरक छुट्याउन छोडदैन थिए होला है? म मात्र होइन्। मसंगै पुलमा अढेस लागेर धेरै जना उभिएका रहेछन्।
एकजना बुढा बा पनि रहेछन्। बा आफूलाई थाम्न सकिरहेका थिएनन्। घरि मन्दिर तिर फर्केर अनुहारमा आशाका धर्साहरु देखाउथे। घरि खरानी बनिसकेका लासको अवशेषमा आफूलाई सुताउँथे र थाम्नै नसकेर आँसु चुवाउँथे।
सोच्दा सोच्दै यति धेरै गहिरोसम्म पुगेँ, घरि आफूलाई बुढो भएको सम्झिएँ। सोचे जिन्दगीभर कयौं मान्छेसंग घमण्ड गरेँ, आखिर केका लागि? धेरै मान्छेसंग मनमुटाव गरेँ, आखिर केका लागि?
कतिपय मान्छेसंग त मान्छेको जस्तो व्यवहार पनि गरिनँ। जिन्दगीको धेरै समय त तेरो र मेरो भन्दैमा बित्यो। कहिलेकाहीं केही सानो कुरा नपाउँदा या गुमाउँदा पनि महिनौं दुखी भएँ र तड्पिरहेँ। आखिर केका लागि?
ती बुढा बासंग केही कुरा सोधौं जस्तो पनि लाग्यो। तर के सोध्ने? धेरै कुरा उनको चेहराले नै देखाइरहेको थियो। केहीँ सोधिनँ।
बेलुका भैसकेछ। समय बितेको पत्तै भएन्। आरतीको लागि मान्छे जम्मा हुन् सुरु गरिसकेका थिए। सोमबार भएर होला क्षण भरमै मान्छेको बाक्लो उपस्थिति भयो।
पूजारीहरू आरती सुरु गर्न थाले। दर्शकहरु ताली बजाउन थाले। बत्तीहरु चम्किदै गए। दियोहरु सल्किदै गए। सधैँभरि निरन्तर एउटा चिज थियो, लासहरु सल्किँदै गए।
आरती पनि खोला किनारमा हुने। खोला किनारा पनि के भन्नु, आर्यघाट किनारमा। सदा जस्तो ध्यान दिएर आरती सुन्ने मुड थिएन। बरु नियाल्नु थियो सबै घटना। खोज्नु थियो जिन्दगीको परिभाषा।
हेर्दा हेर्दै मान्छेहरुको बाक्लो उपस्थिति पनि यति धेरै भयो कि आर्यघाटमा जलिरहेको लासदेखि भजन सुन्ने मान्छे एक रथी पनि टाढा थिएनन्। आरतीलाई साथ् दिरहेका थिए। बजाइरहेका थिए ताली। कसैलाई फुर्सद थिएन जलिरहेको लासमाथि एक नजर लगाउन। कोहीं सोचेन बजाइरहेको तालीले कहीं कतै चितालाई गिज्याइरहेको त छैन।
यी सब ब्यर्थै सोचेछु जस्तो लाग्यो। सोचेर मन खल्लो भयो। एउटै ठाउँ एकै समय फरक फरक परिवेश। कसलाई कसको मतलब छ यो दुनियामा। कसलाई कसको पर्वाह छ यो दुनियाँमा। कोहीं हाँस्दै थिए। कोहीं रुदै थिए। कोहीं माग्दै थिए। कोहीं पुण्य कमाउदै थिए। कोहीं भजन गाउँदै थिए। कोहीं तालि बजाउदै थिए।
जनावरहरु बास स्थान खोज्दै थिए। माग्नेहरु खोला किनारामा रात बिताउँदै थिए। कोहीं चितामा सल्किएर खरानी बन्दै थिए। कोहीं धुवा बनेर आकाश तिर उडदै थिए। कोहीं चिता कुरिरहेका थिए। कोही मृत्यु कुरिरहेका थिए।
त्यहीँ मन्दिर, त्यहीँ खोला, त्यहीँ आर्यघाट। कोहीं मन्दिर गएर जन्म माग्दै थिए। कोहीं आरती सुनेर मनको शान्ति माग्दै थिए। कोहीं मृत्यु माग्दै थिए। यही रहेछ जिन्दगी। यस्तै रहेछ जिन्दगी। जन्म, बाचुन्जेल तेरो र मेरो, मृत्युपछि न मेरो न तेरो।