लास बोकेर गुडेका एम्बुलेन्समा
श्वासको कुरा गर्दै
त्यहीभित्र अक्सिजनको व्यापार
कसलाई कसरी गर्न सकिन्छ?
तिमी त्यही खोज, त्यही हेर
तिमीलाई त मानवता होइन
मौका चाहिएको छ।
बिरामी छट्पटाइरहेका
शय्या शय्यामा पुगेर
आफन्तका धड्कन छाम
कुरुवाका अनुहार पढ
कति झार्न सकिन्छ झार
मौका यही त हो,
तिमीलाई जीवनचक्र होइन
पैसा चाहिएको छ।
भएको औषधि लुकाइदेऊ
शय्याहरु त्रिपालले छोप
ढोकामा पुगेका बिरामीलाई
विनम्रताका साथ, माफी माग
अनि त, परिबन्धको व्यापार
बडो सान र अभिमानका साथ
सोचे सरी, खोजे जसरी गर
तिमीले चाहेको समय आएको त छ
अस्तिसम्म अलिक दुःख थियो
यस्तो बाध्यता र सकस नभएर
अहिले त निश्चिन्त छौं
तिम्रो उद्देश्यमा अगाडि बढ
सेवाका नाममा खोलेका दोकानमा
मानवताको खरिद बिक्री गर
जति सक्छौ खुद्रामा बेच
तिमीले खोजेको मौका आएको छ।
तर,
तिम्रै जगजगीका बेला
एउटा सानो बिन्ती छ,
तिम्रो पनि एकदिन
अन्तिम दिन हुनेछ
चिताको दाउरा पनि कसैले
बेचेनन् वा दिएनन् भने
तिम्रो पार्थिव शरीर पनि
जल्नै नपाइ रहिरहनेछ
मानवता विरुद्धको साक्षी भएर
जल्नै नपाइ रहिरहनेछ।