मलामीहरु
घर फर्केपछि
मलाई
आभास भयो
अब ऊ आउँदैन।
मैले भन्नै पाइनँ
पर्ख
म
त्यो पोखरीलाई भनेर आउँछु
अब तिमी र म पौडने आउने छैनौँ।
त्यो पिपल बोटलाई भनेर आउँछु
तिमी अब तिम्रो हाँगामा बस्न सक्ने छैनौ।
त्यो बगरलाई भनेर आउँछु
अब खोलामा आएको बाढी देख्नसक्ने छैनौ।
औषधि भए त
म आफैलाई बेचेर किन्ने थेँ।
मलम पाउने भए
खोजी गर्न जाने थेँ।
सबै जना
दाउरा बोकेर
तिमी जाने बाटोमा उभिएका छन्।
वा
कोही पनि तिम्रो पछि छैनन्।
त्यो
तिमीले देखेनौ।
खोला सुसाइरहेछ।
हावा चलिरहेछ।
तिम्रो जाने बाटो अनि
मेरो जाने बाटो
एउटै छ
फरक
यात्रा मात्र हो।
खै आजको घाम पनि कस्तो-कस्तो
आजको हावा पनि कस्तो-कस्तो।
खै के बोकेर आए जस्तो
जीवन नै खोसेर जाने जस्तो।
अझ भनौ
श्वास फेर्नै गाह्रो जस्तो।
तर
म भन्न सक्छु
ए जानेहरु हो,
हामीहरु जितेर आउनेछौँ
एउटा विजयको शंखनाद गरेर आउनेछौँ
हामी कदापी हार मान्ने छैनौँ।
ए जानेहरु हो,
तिम्रो जाने बाटो अनि
मेरो जाने बाटो
एउटै छ
फरक
यात्रा मात्र हो।
जानेहरुलाई सलाम
जानेहरुलाई श्रदासुमन।