मानवको संरचनामा मूर्ति हुनुभन्दा
बिना मानवताको मानव बन्नुभन्दा
बरू बाहिरैदेखि मूर्ति देखिएको बेस
मूर्ति भित्रै मूर्ति भेटिएको बेस।
आहा! हेर, कति मिलेको वदन
ठ्याक्कै स्वर्गकी अप्सरा जस्तै
बोलौंला झैं गर्ने गुलाबी ओठ
चम्किनै लागेको मृग नयन
वर्णन गर्नै नसकिने त्यो रूप
हेर्न लायक त मलाई ऊ नै लाग्छ
सुन्दरतामा खास ऊ छ झैँ लाग्छ
तिमी, न तिमी जस्तो देखिन्छौ
न त तिमीलाई तिमी बन्ने फुर्सद छ
बनावटी रूपभन्दा कुरुपता नै मन पर्छ
मलाई मूर्ति जस्तै देखिने मूर्ति मन पर्छ
हो, विचार शून्य छ त्यो आकृति
विचारहरूलाई दिवङ्गत बनाउनेभन्दा
मलाई विचार शून्य नै मन पर्छ
भावकै अभाव भएको मानवभन्दा
मलाई मूर्ति नै सयौँ गुणा मन पर्छ
तिमी त मान्छे पो
जो बोल्छ अनि
शब्दमै महानता देखाउँछ
सामाजिक प्राणी तिमी
जो समाजमै बस्छ अनि
व्यक्तिगत अहमता झल्काउँछ
आफ्नै लागि मात्र बाँचेको तिमी
तिमीलाई मात्र समेट्ने तिम्रो कहानी
बरु मलाई कपोलकल्पित कथा मन पर्छ
बरू निर्जीव न नै सही, मलाई
पत्थर दिलको मान्छेभन्दा त
पत्थर स्वरुपको मूर्ति मन पर्छ
मान्छे भित्र मूर्ति होइन
मूर्ति भित्रै मूर्ति हेर्न मन पर्छ
हो प्रिय मान्छे! माफ गर मलाई
आजकल तिमीभन्दा तिम्रो मूर्ति मन पर्छ।