रण मैदानमा दूवो कल्चेझैं
गहुँ पिस्दा घुन पिसेझैं ठानेर
सोझासाझा श्रमजिवीलाई
सदियौंदेखि
पेलिरहे, कुल्चिरहे, तेल निकालिरहे
यो देशका सम्राटले
कोलमा तोरी पेलेझैं
तिमीले मात्र एउटा बिर्खेकी श्रीमतीको लाश देख्यौं
उसका ती अवोध छोराछोरीको मुहार मनमा बोकिरह्यौं
आँसु झार्यौं, दिनभर रातभर घोत्लिरह्यौं
यहाँ त अनगन्ती छन्
हत्याराले लाशमा परिणत गरिदिएका निर्धा र गरिवहरू
चुनावका बेला के के न गर्छौं भन्ने
तिम्रा झमकदाइहरुले
दिन सकेनन् जनतालाई एक मुठि हावा पनि
बिचौलिया दम्भीहरू हौसिएको देशमा
जुकाहरू मौलाएको परिवेशमा पनि
विकासको झुल्कोको आशमा
बाँच्न सिकेका इमानदार मनहरू
सासै फेर्न नसक्ने भएपछि
प्राणको भिक माग्दै
जोड्न थालेका हुन् हात
मात्र एक मुठी अक्सिजनका लागि
मेरी प्रिया
सुन्दैन सम्राट
टेर्दैन सम्राट
मात्र हेरिरहन्छ कमाउने घाटाहरू
लुकाउने खाताहरू
एकातिर घुमिरहेछ कमाउधन्दाको जाँतो
अर्कोतिर बगिरहेछ दम तोडिरहेका कैयौंको आँसु
ठानिदिन्छन् यो देशका मुखियाले
त्यो आँसुलाई समेत क्रान्तिको रगत
र खुसीयालीका साथ बनाउन लगाइरहन्छन्
आर्यघाटमा अस्थायी चिता
मेरी प्रिया
अब त बुझ
अब त सम्झ
अब त सोच
यो देशको सरकार निरंकुश चिता हो
सम्राटहरु दाउरा हुन् चिताका
रत
यिनले
जलाइरहेका छन् निर्दोष जनतालाई