म स्वास्थ्यकर्मी, लाग्थ्यो मेरै पेशा अब्बल
दुनियाँको अरु चिजले भन्दा, दिन्थ्यो खुसी डबल
थुनिए सबै आ-आफ्नै घरघर भित्र
दिँदैनन् निम्तो कसैलाई, चाहे होस् आफन्त या मित्र
अरु थुनिँदा म निस्किने, पेशै यस्तो मेरो
आफ्नै जिउ दाउमा राख्दै, खट्छु सोध्दै के भो
रोगै यस्तो आयो जुन, थिएन कैहिल्यै पहिले
लाग्दैछ गल्ती गरें कि, छान्नलाई पेशा मैले
खुसी थियो परिवारमा, बन्दा म चिकित्सक
बिन्ती गर्छन् नजिकका सबले नजाऊ न अस्पताल भरसक
पेशै यस्तो हो भन्दै, जिद्दी कस्दै हिंडेको छु
लाग्ने पो होकि कोरोना, दिनरात भिडेको छु
लालाबाला सबेरै उठी, भन्छन् नजानू न त्यता
छोड्नुस् बरु पेशै भनी, रुन्छिन प्यारी उता
आमाबाबु दिनरात पुकार्छन्, केही नहोस् यसलाई भनी
कस्तो दिन आयो रुनुपर्ने, सपना पूरा हुँदा पनि
पिपिई, मास्क, पन्जा, चस्मा, २४ सै घण्टा साथसाथ
आफ्नै अगाडि संक्रमितको भिड, हुन्छ लासको खातखात
खापेरै भोक प्यास, रोकेरै निन्द्रा, खटिइराछु दिनरात
डर लाग्छ आफैले नै बिर्सिन्छु कि फेर्न सास
पीडा लुकाई खुसी दिने, बहाना सिक्दै छु अचेल
बिन्ती कोही नआउनु अस्पताल, गरेर लापरबाही अनि हेलमेल
एउटा बाँचे बाच्छ अर्को, भएमा संयमित
खुसी छाउँछ परिवारमा, हुन्छ सबैको हित।