आदर्श प्रेम नखोज मबाट
धृतराष्ट्रकी म गान्धारी बन्न सक्दिनँ,
कृष्णजी की म राधा रानी बन्न चाहान्नँ।
तिमी पनि नबन
सतीका शिव
म शिवका लागि
अग्निकुण्डमा होमिन सक्दिनँ
तिमीले चाहे जस्तो आदर्श प्रेम म गर्न जान्दिनँ ।
म, मेरा रामसँग सीता बनी बनबास त जाऔँला
तर, तिमी तिनै राम नबनिदिनु
ती सीता सरी परीक्षा दिन म कहाँ सक्छु र।
मलाई बन्नु छैन,
विष्णुकी लक्ष्मी जस्ती
सधैं तिम्रा पाउमुनि म रमाउन सक्दिनँ
अनि, सत्यवानकी सावित्री सरी
मृत तिमीलाई बचाउन पनि कहाँ सक्छु?
अझै, तिमी त्यस्तो दैविक प्रेमको हठ नगरन।
किन गर्छौ त्यो सत्य युगिन प्रेमको अपेक्षा?
अनि किन चहान्छौ अरुका नामका उपमा?
तिमी मात्र तिमी बनी,
म मात्र म बनी
आफूलाई अरु कोही नठानी
आफ्नै ढंगको प्रेम गरौं न।
तिमी आदर्श प्रेम नखोज,
तिमीले चाहे जस्तो आदर्श प्रेम म गर्न जान्दिनँ,
अझै तिमी त्यस्तो दैविक प्रेमको हठ नगरन।