भ्रष्टाचारीले के सोच्दो हो जिन्दगी?
भ्रष्टाचारीले के सोच्दो हो समाज?
भ्रष्टाचारीलाई के लाग्दो हो विकास र समृद्धि?
भ्रष्टाचारी केलाई ठान्दो हो सफलता र खुसी?
देश लुट्दै, बेच्दै, ठगी र चोरी गर्दै
निर्दोष कलिला सन्तानलाई भ्रष्टाचार पहिर्याएर,
हुर्काएर तिनलाई कालै धनले
पाइलट, ईन्जिनियर, डाक्टर बनाइरहँदा
देशको सेवा ठान्छ कि ठान्दैन होला भ्रष्टाचारी?
सीमित मान्छे, परिवारका लागि
देश लुट्ने, बेच्ने, ठगी र चोरीको
सीमाहीन अपराध गर्ने भ्रष्टाचारीलाई
सरोकार होला?
कि हरेक नागरिक हकदार छ
भरपेट खान, एकसरो लाउन,
खुसीले सम्मानजनक जीवन जीउन।
कि हरेक समाज, समुदाय हकदार छ
प्रगती र पहिचान अघि बढाउन।
कि हरेक राष्ट्र हकदार छ
विकास र समृद्धि हासिल गर्न।
सन्तान, दरसन्तानलाई कालो सम्पत्ति,
राष्ट्रलाई गरिबी, असमानता, अन्यायको विपत्ति
गर्ने गराउने तिनका नीति, निर्णय, व्यवहारले
पिरोलोस् भ्रष्टाचारीलाई जुनी जुनी।
बुझ्दै जाँदा समयक्रममा आफ्ना बा, आमाको
हैसियतभन्दा माथिको दौलतको राज,
बुझ्दै जाँदा समयक्रममा
आफ्नै अबैध हैसियत,
प्रेरणा मिलोस नयाँ पिंढीलाई
कमसेकम आफ्नै इमानमा बाँचेर
कालो पैतृक सम्पत्ति, सकभर,
देशको हितमा समर्पित गर्न।
प्रेरणा मिलोस नयाँ पिंढीलाई
कालो पैतृक सम्पत्ति, सकभर,
देशलाई फिर्ता गर्न।