प्राचीन समयको कुरा हो। एसिलिस्तान भन्ने महादेशमा नेफ्लिस्तान भन्ने देश थियो। त्यो देशमा नेफ्लासिस भन्ने राजाले राज्य गर्दथे।
नेफ्लिस्तानका जनता शान्त र सन्तोषी थिए। सबै आदेशहरू राजाको नामबाट जारी हुन्थे। प्रजा राजाज्ञाको अक्षरश: पालना गर्थे। राजाको आदेशमा कुनै व्यक्ति ‘बोक्सो’ हो त्यसलाई वहिष्कार गर्नु भनेर उल्लेख भयो भने ऊ ‘बोक्सो’ कहलिन्थ्यो। ‘बोक्सो’ आरोप लागेको व्यक्ति पनि भित्री मनैबाट आफू ‘बोक्सो’ भएको स्वीकार गर्दथ्यो। राजा भगवान हो। भगवान झूटो बोल्दैन भन्ने मानिन्थ्यो।।
नेफ्लिस्तानको राजा आफू ( भगवान ) भन्दा माथि रहेको परमात्मा परमेश्वरलाई सबै भारदारको अगाडि दुई हात जोडेर प्रार्थना गर्दथे। प्रजा त्यसैगरी राजाको प्रार्थना गर्दथे।
समय सधैं अनुकूल रहेन। एक दिन अकस्मात प्रजाको एउटा हात लुलो हुने महामारी फैलियो। मन्त्रीहरूले राजालाई बिन्ती गरे, यो रोग त्यस्तालाई मात्र लाग्दछ , जो भित्रभित्र राजाको विरोधी छ। राजाले महामन्त्री नेफ्लिस र राजगुरु नेफ्लिनोसलाई एकान्तमा बोलाएर सोध्यो कि के एउटा हात लुलो हुने रोग लागेका सबै मेरा विरोधी नै हुन्?
दुबैले गम्भीर भएर सोच्न थाले। संयोगले उनीहरूको चित्तले एउटै कुरा सोच्यो। त्यो सोच थियो, यो रोग गरिबहरूलाई मात्र लाग्ने रहेछ। यो हामीजस्ता सम्पन्नलाई लाग्ने होइन। अर्को कुरा, राजालाई एउटा कुरा जाहेर गरिसकियो। अब कुरा बदल्ने हो भने मारिहाल्छ।
उनीहरूले एकै स्वरमा जाहेर गरे, ‘हो सरकार !’
राजाले एउटा हात लुलो हुनेको अभिलेख तयार गर्न लगायो। सम्पूर्ण जनसंख्याको एक प्रतिशत त्यस्ता लुलाहाते भेटिए। लुलाहातेहरूलाई सार्वजनिक रुपमा भारी यातना दिइयो।
प्रजाहरूले रोग लुकाउन थाले। राजालाई विश्वास भयो, अब सारा विरोधी मासिए। एक दिन बिहान परमपिता परमेश्वरको प्रार्थना गर्ने कार्यक्रम थियो। सबै भारदारहरू प्रार्थना हलमा जम्मा भए। महामन्त्री नेफ्लिस र गुरु नेफ्लिनोसले दुबै हात जोडेर राजाको स्तुति गरे। उनीहरूले लुलाहाते रोग निर्मूल भएको समेत जाहेर गरे।
गुरुले मन्त्र पढ्यो। राजाले परमपिता परमेश्वरलाई प्रार्थना गर्ने समय भयो। राजाले प्रार्थना गर्न हात उठाउन खोजे। तर, एउटा हात उठेन। गुरु अगाडि बढेर ठूलो आपत पर्दा मात्र पढ्न भनेर तोकिएको अन्तिम मन्त्र पढे। किन्तु, राजाको हात उठेन। राजा क्रोधले आगो हुँदै आफ्नो कक्षभित्र पसे।
राजाले मनमनै विचार गरे, मेरो हात किन लुलो भयो? के म नै मेरो विरोधी हुँ? कि म भगवान होइन? म भगवान होइन भने सबै जना किन भगवान भन्छन्? कि म पनि साधारण मनुष्य हुँ? म भ्रममा त छैन? भ्रम भनौं भने लुलाहातेहरूलाई ठेगान लाएपछि महामारी साम्य भयो। परन्तु, त्यही रोग मलाई कसरी लाग्यो? म पत्ता लगाएरै छाड्छु।
यो ठूलो राष्ट्रिय सङ्कट थियो। भारदारहरू डरले थरथर काँप्न थाले। हलमा सन्नाटा छायो। महामन्त्रीले सबै भारदारलाई सोधे, ‘अब के गर्ने? सल्लाह दिनुहोस्!’
सबैले भने, ‘महामन्त्री र राजगुरुले राजालाई जस्तो सल्लाह दिन मनासिब हुन्छ दिनुहोस्। हाम्रो मन्जुरी छ।’
महामन्त्री र राजगुरुबाहेक सबै सभासद बाहिर निस्के। क्रोधले जलिरहेका राजा हलमा आए। उनले दुबै जनातर्फ हेर्दै भने, ‘मलाई गलत सल्लाह दिने? मलाई गुमराहमा राख्ने?’
राजगुरु उत्तरतर्फ फर्केर राजाले नबुझ्ने शब्दमा मन्त्र पढ्न थाले। गुरुको आवाजमा अचम्मको थर्कन थियो। उनले दुबै हात जोडिरहेका थिए। गुरुको शरीर हल्लिरहेको थियो। उनको आवाज रोदनमा परिणत भयो। गुरु कहिले हाँस्न, कहिले चिच्च्याउन र कहिले मन्द आवाजमा मन्त्र पढ्न थाले।
राजा गुरुका सबै गतिविधि ध्यानपूर्वक हेरिरहेको थिए। अकस्मात गुरुको अनुहार रातो भयो। आँखा ठूला-ठूला भए। अनि गुरुको एउटा हात विस्तारै तल झर्न थाल्यो। अब एउटा हात मात्र नमस्कार मुद्रामा थियो। फेरि गुरुको आवाज सामान्य अवस्थामा परिणत हुँदै गयो। गुरु मुसुक्क हाँस्दै राजातर्फ फर्के। उनले बिन्ती गरे, ‘सरकार! झण्डै बर्बाद भएको !’
राजा स्तब्ध थिए। उनले भने, ‘झण्डै बर्बाद भएको? सत्य कुरा बता!’
गुरुले बिन्ती गरे, ‘सरकार! परमपिता परमेश्वरलाई दुबै हातले प्रार्थना गर्ने युग समाप्त भइसकेछ। अबदेखि एउटा हातले प्रार्थना गर्ने युग आरम्भ भयो। सरकारको हात माथि उठ्न केही महिना मात्र लाग्नेछ।’
तत्काललाई यो समस्या साम्य भयो। राजाले एउटा हात उठाएर परमपिता परमेश्वरलाई प्रार्थना गर्न ले। परन्तु, महामन्त्री र गुरुको मनमा चैन थिएन। उनीहरूले एकान्तमा भेट गरे।
महामन्त्री नेफ्लिसले भने - गुरुजी हाम्रो समस्या टर्यो कि यथावत छ? मेरो चित्त साह्रै अशान्त छ। हेर्नुहोस्, त कुन भुमरीमा आएर फसियो। राजालाई खुसी पार्न त्यसरी चाप्लुसी गर्नु हाम्रो महान भूल थियो। अरु सबै सभासदले हामीलाई नै सारा निर्णयको अधिकार प्रत्यायोजन गर्दा मक्ख पर्नु पनि ठूलो भूल थियो। उनीहरू सबै पानीमाथि ओभानो हुने भए, अचानोमाथि गर्दन थाप्ने हामी हुने भयौं। यी राजा बडो रिसाहा र अहङ्कारी छन्।
गुरु नेफ्लिनोसले भने - जो रिसाहा र अहङ्कारी हुन्छ, त्यो मूर्ख पनि हुन्छ। मेरो नाटक देखेर कति प्रभावित भए उनी। महामारीको स्थिति के छ नेफ्लिस?
महामन्त्री - मैले गुप्तचर खटाएर बुझ्दा स्थिति भयावह रहेको रिपोर्ट आएको छ। धन्न प्रजाले रोग लुकाएर हामीलाई जोगाएका छन्। यसरी कति दिन चल्छ?
गुरु - यो कुरा राजालाई त भनिनस् ठिकै छ, मलाई किन थाहा नदिएर लुकाइस्? म त महामारी सकियो भनेर विश्वास गरेर बसेको थिएँ। अब तेरो काल आयो।
महामन्त्री - तैंले कहिल्यै सोधिस्? मैले त यो गुरुलाई ठूलो ज्ञान छ, महान ज्योतिष र तान्त्रिक हो भन्ने ठानेको थिएँ। त्यो मन्त्र ढोङ मात्र बुझेको भए त्यसै बेला पोल खोलिदिने थिएँ।
यसरी महामन्त्री र राजगुरुमा मनमुटाव पैदा भयो।
शरदपूर्णिमाको दिन थियो। राजा नेफ्लासिसको पुर्खाको पालादेखि नै सो दिनमा राजदरबारमा भव्य प्रार्थना र भोजको आयोजना गर्ने परम्परा थियो। यो साल ठूलो महामारीबाट पार पाएको उपलक्ष्यमा झनै भव्य समारोह गर्नु भन्ने राजाको आदेश थियो।
समारोह सुरू भयो। राज्यका गाउँ तहका मुखियाहरु पनि सजिसजाउ भएर आए। महामन्त्री र गुरु अघि र अन्य सभासदहरू पछि भएर औपचारिक परिधानमा हलमा उपस्थित भए। चारणहरूले मधुर स्वरमा राजाको स्तुतिगान गरे। अलौकिक प्रतीत हुने सुन्दरीहरू छमछम नाचे। राजा र रानी नेफ्लिसा सबैलाई आशीर्वाचनको अभिवादन गर्दै हलमा उपस्थित भए। राजारानीको जयगानले हल गुन्जियो। सुगन्धित फूलहरू राजारानीको पाउमा छरिए।
राजाले छोटो भाषण गरे। उपस्थित सबैप्रति विशेष धन्यवाद प्रकट गर्दै उनले भनेका थिए, ‘अब देशमा नयाँ युग सुरू भएको छ। अब प्रार्थना गर्दा एक हात र देशसेवा गर्दा दुबै हातको प्रयोग गर्ने युग आएको छ। अबका दिनमा सबैले मातृभूमिको सेवामा उत्सर्ग गर्नु आवश्यक छ।’ राजा राजगद्दीमा बसे।
प्रार्थनाको मुहूर्त आएपछि राजगुरु उठे गुरुले राजाको प्रतापले समस्त प्रजा सुख, शान्ति र आरोग्यमा जीवनयापन गरिरहेको कुरा राजाका हजुरमा बिन्ती चढाए। उनले तन्त्रमन्त्र पाठ गरेपछि राजालाई प्रार्थनाका लागि आह्वान गरे। राजा मन्द मुस्कानका साथ उठेर विस्तारै प्रार्थना गर्दा उभिन बिछ्याइएको आसनतर्फ बढे। सबै सभासदहरू उठी शान्तसँग उभिएर राजप्रार्थना श्रवणका लागि तयार भए।
गुरुले भन्दै जाने र राजाले दोहोर्याए भन्ने परम्परा अनुसार गुरुले प्रार्थनाको पारायण गर्न सुरू गरे। गुरुले एउटा हात उठाए। राजाले पनि हात उठाउन खोजे, तर उठेन। राजाले अर्को हात उठाउन खोजे त्यो पनि उठेन। सभाहल चकमन्न भयो। सबै डरले लगलग काँप्न थाले। गुरुले राजातर्फ नभई महामन्त्रीतर्फ हेरिरहेको थिए। महामन्त्री जुरुक्क उठेर भाग्न थालेको देखेर गुरु पनि अगाडि बढ्न थाले। राजाले आठपहरियालाई आदेश दिए, ‘यिनीहरूलाई गिरफ्तार गर!’
राजा - ए गुरु ल भन् ! तैंले मलाई झूटो जाहेरी गरेको हो कि होइन?
गुरु टाउको झुकाएर खडा भइरह्यो।
राजा - हे दुष्ट महामन्त्री!
महामन्त्री पनि चुप लागेर उभिइरहे।
राजा क्रोधले थरथर काँपिरहेका थिए। उनले महामन्त्रीलाई आफ्नो छेउमा आएर उभिने आदेश दिए। महामन्त्री नेफ्लिसको अनुहार विरुप भए। उनको आभा सहसा उडेर फुस्रो भयो।
राजा - ल भन्! महामारी अन्त्य भएको हो कि होइन?
महामन्त्री - होइन सरकार।
राजाले आठपहरियालाई बोलाएर महामन्त्रीको दाहिले हात भाँचिदिने आदेश दिए। आठ पहरियाले मुङ्ग्रोले हानेर उनको हात ठनक्कै पारिदिए। महामन्त्री थचक्क भुइँमा बसे।
राजा - महामारीले प्रजाको एउटा हात मात्र लुलो भएको हो कि दुबै?
महामन्त्री - सुरूमा एउटा मात्र हो। पछि गएर दुबै हात सङ्क्रमित हुन थाले।
राजाको आदेशमा आठपहरियाले महामन्त्रीको अर्को हात पनि भाँचिदिए।
राजा (सभासदहरूतर्फ हेर्दै) - कति प्रजा सङ्क्रमित छन्?
सभासदहरू टाउको झुकाएर खडा भइरहे।
राजा - कोही त बोल।
एक जना सभासद - सरकार! प्रजाहरू भयग्रस्त थिए। आफूलाई रोग लागेको कुरा बतायो भने उल्टै राजद्रोहको आरोप लाग्ने र यातना भोग्नुपर्ने डरले सबै चुप लागे। हामी गाउँका मुखियाहरू पनि चुप लागेर बस्न बाध्य भयौं।
राजा (गुरुतर्फ हेर्दै ) - सत्य सत्य बता!
गुरु - सरकार! मलाई सरकारको प्रतापमा विश्वास थियो।
राजा - तेरो मन्त्रमा विश्वास थिएन?
गुरु - परम्परादेखि पढिने मन्त्र तिनै हुन्। मेरा गुरुले पढाएको त्यही हो।
राजा - मेरो एउटा हात लुलो भएपछि गरेको नाटक पनि गुरुकै मन्त्र हो?
गुरु - त्यो त मेरै मौलिक नाटक हो।
महामन्त्री र गुरु दुबैलाई सबै सभासदको सामुन्नेमा झुण्ड्याउने आदेश जारी भयो।
राजाले अर्को महामन्त्री र राजगुरु नियुक्त गरे। राजालाई महसुस भयो, प्रजालाई अनाहकमा यातना दिएको हुँदा त्यही पापको फलस्वरूप उसका दुबै हात लुला भएका हुन्। राजाले सबै सङ्क्रमित प्रजाको सेवा र उद्धार गर्नु भनी राज्यकोषबाट प्रशस्त रकम निकासा गरिदिए। यता दरबारमा अनेकौं यज्ञयगादिको आयोजना गरियो।
अब सुरू भयो राज्यकोषको लूट। देशमा भ्रष्टाचारको बिगबिगी सुरू भयो। नयाँ महामन्त्री, गुरु र सभासदहरूले पनि राजालाई भगवानकै दर्जामा राखे। राजालाई सराका सारा प्रजा खुसी र सुखी रहेका प्रतिवेदन जाहेर हुन थाले। राजा हर्षले गदगद भए।
देशको यस्तो हविगत भएको देखेर केही फिरन्ता जोगीहरू मिली एउटा हल्ला मच्चाउने सल्लाह गरे। जोगीहरूले यत्रतत्र (हालको सामाजिक सञ्जाल जस्तै ) हल्ला फैलाउन थाले कि देशभरिमा महामारी झनै भयानक हुँदै गएको छ। पहिलेका सभासद र मन्त्रीबाट धोका पाएको राजाले आफ्नै नियन्त्रण र निर्देशनमा गुप्तचर खटाएर बुझ्दा जोगीहरूले चलाएको हल्ला सत्य ठहरियो।
राजा सोझिएको बुझेर जोगीहरूले अर्को हल्ला चलाए। त्यो हल्ला थियो, यो महामारी फैलाएको एउटा भयङ्कर राक्षसले हो। अर्कै लोकबाट आएको त्यो राक्षस आगामी शरदपूर्णिमाको दिनमा नेफ्लाटिसको वनको ठूलो ढुङ्गामाथि खडा हुनेछ। त्यस दिन नेफ्लिस्तानका एक लाख मानिस वनमा उपस्थित भए भने राक्षसले तीमध्ये एक सय जनालाई खानेछ। त्यसरी खान पाएपछि ऊ सदाकालका लागि परलोक जानेछ। सङ्क्रमित प्रजा र राजा पनि स्वस्थ हुनेछन्।
राजाले सभा बोलाए। महामन्त्री, गुरु र सभासदहरूले शरदपूर्णिमाका दिन नेफ्लाटिसको वनमा एक लाख प्रजा जम्मा गर्ने वचन दिए। उनीहरूले राजालाई बिन्ती गरे - सरकार! सरकार साक्षात् भगवान भएको हुँदा राक्षस नेफ्लाटिसले सरकारलाई मार्न सक्दैन। हामी सरकारका सेवक हौं। संयोगले हामी सिकार भयौं भने पनि देश र राजाका लागि त्याग गर्न तत्पर छौं। प्रजा त सरकारको हुकुम शिरोपर गर्न सदा तयार नै छन्।
शरदपूर्णिमाको दिन आयो। राजा बिहान सबेरै उठे। रानीले शौच स्नानादि गराएर राजालाई तयार गरिन्। रानीले भनिन्, ‘राक्षसले हजुरलाई खाने छैन। संयोगले मलाई खाएछ भने एक दिन मरेर जाने यो शरीर देशको कल्याणमा काम आउनेछ। म पनि जान्छु।’
राजा आफ्नी रानीको राष्ट्रप्रेम देखेर अत्यन्त खुसी भए।
राजा रानीलाई लिएर बाहिर निस्किए। बाहिर सुनसान थियो। एक जना द्वारपालले भन्यो, ‘सायद महामन्त्री, गुरु र सभासद वनतर्फ गइसके।’ राजा सरासर नेफ्लाटिसको वनमा पुगे। तर त्यहाँ सुनसान थियो। राजाले धेरै बेरसम्म प्रतीक्षा गरिरहे। किन्तु, ऊ, रानी, दरबारमा फूल टिपेर पूजास्थलमा पुर्याउने वृद्ध महिला, राजाको हजाम र सर्वसाधारण समेत जम्मा एक सय जना मात्र उपस्थित थिए।
अचानक ठूलो ढुङ्गामा एउटा जोगी देखियो। कालो लिबासले बेरिएको जोगीका लट्टा जमिनसम्म लत्रेका थिए। उसका राताराता आँखा बलिरहेको प्रतीत हुन्थ्यो। जोगीले जोडले ज्यान हल्लाएर अट्टहास गर्यो। उसको ज्यानबाट छुटेको खरानी परसम्म गएर बिलायो।
जोगीले राजातर्फ हेर्दै भन्यो - हे राजा! देख्यौ तिम्रो औकात? सधैं चाप्लुसी गर्ने स्वार्थी झुण्ड खै? हाम्रो राजा साक्षात् भगवान भन्दै पारितोषिक कुम्ल्याउने तिम्रा सभासदहरू कहाँ गए? कहाँ गए तिम्रो नाम जपेर प्रजा ठग्ने गाउँका मुखियाहरू? राजा! तिमीले कुरो बुझ्ने प्रयास नै गरेनौ। आज तिमीले नियुक्त गरेका गुप्तचरहरूले समेत झुक्याए। सबैको इच्छा राक्षसले आफूबाहेक अरु जोसुकैलाई खाओस् भन्ने थियो। सबैले सोचे कि म एक जना नेफ्लाटिसको वनमा नगएर के पो फरक पर्दछ, अरु सबै त जाने नै छन्।
यहाँ कुनै राक्षस आउनेवाला छैन। महामारी कुनै राक्षसी कारणले होइन, प्राकृतिक कारणले फैलिएको हो। बेलैमा बुद्धि पुर्याएको भए समयमै नियन्त्रण हुन्थ्यो। आज तिम्रो मूढताले गर्दा महामारी नियन्त्रणबाहिर पुगेको छ। हेर त यी एक सय जना अकिन्चन र सोझा प्रजालाई। यिनीहरूले तिम्रो मुख पनि देखेका थिएनन्। यिनीहरूले तिमीले दिएको एक मुठी पानी पनि खाएका थिएनन्। तैपनि यिनीह‘रू आए। यिनीहरू आए, किनकि यिनीहरू सोच्दथे- हाम्रो राजा भगवानको अवतार हो। यिनीहरू यो सोचेर आए, कि राजाको साथमा महामन्त्री, गुरुहरू, सभासद , मुखिया र साहुमहाजन सबै आउनेछन्। यिनीहरू आए, किनकि यिनीहरू एक सय सिकारमध्ये आफू परे परिएला, तर देश त जोगिन्छ भनेर सोच्दथे ।
यति भनेर जोगी नेफ्लाटिसको घना वनभित्र पस्यो।
राजाले केही नबोली उपस्थित प्रजातर्फ हेरे। उपस्थित प्रजाहरु ससाना झुण्ड बनाएर कानेखुसी गर्दै थिए। जोगीको कुरा सुनेपछि उनीहरूको राजभक्ति र डर छुमन्तर भइसकेको थियो। कतिपय बुद्धिहीन र सोझा प्रजाहरू सहसा बुद्धिमान र टाठा अगुवामा परिणत भए। उनीहरूले यति छोटो समयमा आफ्नो नेता छान्न भ्याए।
भर्खरै छनिएको नेता नेफ्लुजालले राजालाई सम्बोधन गर्दै भन्यो, ‘अब म जे आदेश दिन्छु, त्यसको पालना गर। हामी तिम्रो ज्यान लिने छैनौं, तर अब तिम्रो शासन गर्ने समय सकियो। चुप लागेरे जहाँ बस्न भन्यो त्यहीँ बस, जे खान दियो त्यही खाऊ। ल अब हामीलाई दरबारतर्फ लिएर हिँड।’
नेफ्लाटिसको वन तालीको पर्राले गुन्जायमान भयो।
उनीहरू दरबारको सभाहलमा जम्मा भए। नेफ्लुजालले राजालाई एउटा कुर्सीमा बस्ने आदेश दिए। राजा यन्त्रवत कुर्सीमा बस्यो। उनीहरूले राजाको खुट्टा जन्जिरले बाँधिदिए।
त्यसै बखतमा महामन्त्री र गुरु प्रकट भए। वास्तवमा उनीहरू सँगै आएका थिएनन्, द्वारमा भेट भएपछि नेफ्लाटिसको वनको अपार भीड र राक्षसले एक सय मानिस कसरी खायो भन्ने आ-आफ्नो अनुभव सुनाउँदै विस्तारै उपस्थिति भएका थिए। राजाले गुरुलाई सम्बोधन गर्दै भने - मैले त गुरुलाई नेफ्लाटिसको वनमा देखिन।
गुरु - त्यत्रो जनसागरमा कसरी देख्नु नि सरकार! किन्तु, मैले सरकारलाई देखेको थिएँ।
राजा - त्यहाँ के के भयो?
गुरु - त्यहाँ राजाको जयजयकार भयो। राक्षस आएर सरकारको स्तुति गर्यो। त्यसपछि उसले बीच-बीचमा पसेर एक सय प्रजालाई खाएर अलप भयो।
राजा - त्यहाँ तेरो र महामन्त्रीको भेट भयो?
गुरु - भयो सरकार। अरु सभासदहरूसँग पनि भेट भयो।
राजा - तिमीहरू दुबै जना यहाँ मेरो नजिकमा आओ।
दुबै जना राजाको छेवैमा उपस्थिति भए। राजाले उनीहरूलाई आफ्ना जन्जिरले बाँधिएका खुट्टातर्फ देखाए। राजाले भने, ‘मलाई आज मात्र थाहा भयो गुरु, महामन्त्री र सभासदहरूले एक-अर्कासँग शरदपूर्णिमाको प्रतीक्षामा रहेको बताइरह्यौ। प्रकटमा सबैले देशको लागि ज्यान दिन आतुर रहेको मन्तव्य दिइरह्यौ। प्रजाबीचमा उपस्थितिका लागि राजा, महामन्त्री र सभासदहरू समेत दिन गनेर बसेको प्रचार गर्यौ। परन्तु, भित्र-भित्र आफ्ना नजिकका कुटुम्ब, मित्र र सेवकहरूलाई अरु सबै जाने हुँदा उनीहरू नगए पनि फरक नपर्ने प्रचार गरिरह्यौ। सबैले आफूले मात्र आफ्ना मानिसलाई बचाएको, तर अरु सबै मूर्ख भएको हुँदा भव्य उपस्थिति रहने विश्वास गरेर बस्यौ। आज मेरो तख्तापलट भइसकेको छ। अहिले म नेफ्लुजालको कैदी हुँ।’
नेफ्लुजालले राजाको शिरबाट श्रीपेच निकाल्यो। उसले आफूले भर्खरै नियुक्त गरेको राजगुरु नेफ्लिचुसलाई बोलाएर मन्त्र पढ्न भन्यो। नेफ्लिचुस पढेलेखेको मानिस थिएन। उसले अण्टसण्ट ग्रामीण पिचासलाई मन्साउने गरेको मन्त्र पढ्दै नेफ्लुजाललाई राजगद्दीमा बसाल्यो। सबैले ताली पिटे। भूतपूर्व भइसकेको राजाले उपस्थिति समूहतर्फ हेरे। उनका गुरु र महामन्त्रीले पनि ताली बजाइरहेका थिए।
त्यसै बखतमा पूर्वराजाको प्रधानसेनापति उपस्थित भए। पूर्वराजाले भने - कहाँबाट आइस्?
प्रधानसेनापति हतप्रभ भयो। तथापि, केही भन्नु आवश्यक थियो। उसले भन्यो, ‘म त नेफ्लाटिसको वनबाट आउँदै छु सरकार। त्यहाँको अपार भीडलाई व्यवस्थापन गर्दा विलम्ब हुन गयो। यो के भएको सरकार! म तुरुन्तै फौज बोलाएर यो नक्कली राजालाई गिरफ्तार गर्छु।’
सबैले गद्दीमा बसिरहेको नेफ्लुजालतर्फ हेरे। ऊ डरले काँपिरहेको प्रष्ट देखिन्थ्यो।
राजा - कुनै पनि सच्चा राजा अर्को व्यक्तिको शिरमा परेको श्रीपेच पहिरेर बस्न सक्दैन। अब मलाई तिमीहरू जस्ता बेइमानहरूको राजा भएर बस्नु छैन। अब तैंले फौज बोलाउनुको कुनै प्रयोजन छैन। आज मलाई गद्दीच्यूत गरेर फाले तापनि मेरो राज्यकालमा तिमीहरूभन्दा नेफ्लुजाल नै बफादार थियो।
प्रधानसेनापतिले नेफ्लुजाललाई स्यालुट गर्यो। नेफ्लुजालको सत्ता अकण्टक भयो।
पूर्वराजाले राजा नेफ्लुजाललाई सम्बोधन गर्दै भने, ‘अब तेरो सत्ता अकण्टक भयो। मेरो खुट्टाको जन्जिर काटिदे। म अब कहिल्यै नफर्कने गरी नेफ्लिस्तानबाट प्रस्थान गर्नेछु।’ प्रधानसेनापतिको अङ्गरक्षक आएर पूर्वराजालाई सलामसम्म नगरी बडो अपहेलित तरिकाले खुट्टामा चोट हान्दै जन्जिर काटिदियो।
नेफ्लासिसलाई उसकी पत्नी नेफ्लिसाले सहारा दिएर उठाइन्। उसका लुला भएका दुबै हात लोत्र्यान्न झुण्डिइरहेका थिए। नेफ्लासिस बडो गम्भीर र गरिमामय पाइला चाल्दै हलको द्वारतर्फ प्रस्थान गर्यो। हलमा उपस्थित सबै मानिसहरू चुपचाप थिए। नेफ्लासिसको शरीर जता जाँदै थियो, सारा मानिसका आँखा उसको गमनको अनुगमन गरिरहेका थिए। हलको द्वारमा पुगेपछि नेफ्लासिस उपस्थित मानिसहरूतर्फ फर्क्यो। उसमा कुनै पश्चाताप र गुनासो देखिएन। यस्तो प्रतीत हुन्थ्यो, बेइमान स्यालहरूको घेरामा परेको सिंह घेरा तोडेर लसक लसक पाइला चाल्दै आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्दैछ।
नेफ्लासिसले वर्तमान राजा नेफ्लुजालतर्फ नजर लगाएर हेर्यो। प्रधानसेनापति, महामन्त्री र गुरु राजाको छेऊमा नतमस्तक भएर खडा थिए। पूर्वराजाले मधुर तर बुलन्द आवाजमा विदाइ मन्तव्य व्यक्त गर्दै भने - नेफ्लिस्तानमा सदाकाल यस्तै बेइमानहरूको शासन चल्नेछ। राजा, मन्त्री, सभासद, गाउँका मुखिया र व्यापारी महाजन सबै बेइमान बनेरै जीवनयापन गर्नेछन्। सत्ता, शक्ति र सम्पत्तिका लागि सबैले मरिहत्ते गर्नेछन्। शक्तिको राजनीति गर्ने प्रायः सबै धोकेबाज र अवसरवादी हुनेछन्।
नेफ्लासिस र नेफ्लिसा सरासर बाहिर निस्के। उनीहरूलाई बिदाइका दुई शब्द बोल्ने कोही थिएन त्यहाँ। फूल टिप्ने वृद्धा अलि पर पछ्यौरीको सप्कोले आँसु पुछ्दै थिइन्। उनीहरू नेफ्लाटिसको वनभित्र पसेर कता अलप भए, आजसम्म कसैलाई थाहा छैन।
आज पनि नेफ्लिस्तान राज्य अर्कै नामले अस्तित्वमा छ। त्यहाँ धेरै राजघराना आए र लोप भए। धेरै राज्यपद्धति र शासकहरू आउँदै जाँदै गरे। परन्तु, शासनप्रणाली नेफ्लासिसको पालामा जस्तो थियो त्यस्तै छ। नेफ्लिस्तानले अझै कति समयसम्म नेफ्लासिसको श्राप भोग्नुपर्ने हो कसैलाई थाहा छैन।