देश महामारीले ग्रस्त छ
अस्पतालका बेडहरू भरिएका छन्
बरण्डाहरूमा बाँच्न पाइने
एक थोपा जिजीविषा छट्पटाइरहेछ
‘त्यो पर्दैन’
अहँ! त्यो पर्दै पर्दैन
केवल हिँ .. हिँ भए पुग्छ
अस्पतालहरूमा अक्सिजन छैन
क्रन्दन छ, चित्कार छ
नयाँ स्वरुपका ईश्वरहरू
दिनरात नभनी भिड्दैछन्
जीवनहरू बचाउन
‘त्यो पर्दैन’
अहँ! त्यो पर्दै पर्दैन
छ केवल केही आत्मरतिहरू
कहिले बेसार
कहिले हाच्छ्यूँ
कहिले अम्बकको पात
कहिले गरारा
आउनुस्, मिलेर हिँ .. हिँ गरौं
बागमतीका किनारमा
हररात जल्ने चिताहरू
फगत नम्बर र अंक न हुन्
हर दिन टिभीमा भट्याइने
पर्दैन, त्यो पर्दैन
पर्दै पर्दैन, अहँ पर्दैन!