देश
बन्दीगृह भएको छ
जनता
कैदी भएका छन्
घरभित्रै कारावास भुत्तान गरिरहेछन् ।
कारागारिकहरु
जनसेवा गर्ने
नाटकको झुटो दृश्यहरु
मञ्चन गरिरहेछन्
नयाँ नयाँ चटक देखाईरहेछन् ।
प्रतिनायक
तारकासुर हाँसो हाँसिरहेछ
देशलाई
असुरहरुको उपनिवेश बनाएर
जनतालाई
समृद्ध नेपाल सुखी नेपालीको
गीत गाउन फर्मान गरिरहेछ ।
जनता
बेवारिस भएका छन्
राज्य विहीन भएका छन्
जीवन रक्षाका लागि
तड्पिरहेछन्
अकाल मरिरहेछन् ।
टेलिभिजनबाट
सम्बोधन भयो
जनता
निर्भयताका साथ बाँचेका छन्
सबै खुसी छन्
सबै सुरक्षित छन्
कोही भोका छैनन्
कोही भोकै मरेका छैनन्
असाधारण बिकास भएका छन्
देश समृद्धितर्फ लम्किरहे छ ।
शासक
सत्ताको चौघेरोमा
खुसहाल जिउँछ र,
उस्ले आफुलाई देश ठान्छ
म जनतालाई देश भन्छु
फरक यसैमा छ ।
अहिले
सन्नाटा छ
यो तुफान आउनु अघिको शून्यता हो
नीरवता छ
यो हुन्डरी चल्नुअघिको सुनसान हो
चकमन्नता छ
यो मेघ गर्जनु अघिको निश्शब्दता हो
एकलास छ
यो विद्रोह अघिको एकान्त हो ।
एकदिन
आँधीबेहरी आउनेछ
बेस्मारी हल्लाउनेछन्
रुखबुट्टा र घरहरु
लतार्दै उडाउनेछन्
वेग बतासको गतिमा
धुलोमैलो र कसिङ्गरसंगै
दुःशासनलाई
सदा, सदाका लागि सिनित्तै पारेर ।