गाँठ छञ्जेल आँट छञ्जेल
भट्टीतिरै धाइयो
धोती उड्यो टोपी उड्यो
बल्लै चेत पाइयो ।
साथी बन्थे भड्काउँथे
देखे ताली पड्काउँथे
यौटा यौटा निहुँ खोज्थे
पछि हलो अड्काउँथे
नखा भन्थिन् आमाले जे
ठाडै घाँटी लाइयो
देश डुल्यो केश फूल्यो
बल्लै चेत पाइयो ।
खाने बेला अघि लाग्थे
आपत् पर्दा भाग्थे
रिट्ठो कतै बिरिएमा
आफैमाथि जाग्थे
मोही माग्ने बेलामा
ढुङ्ग्रो लुकाइयो
न त रंग न उमंग
बल्लै चेत पाइयो ।
मान्छेलाई न मान्छे गन्थें
न मान्छेले मान्छे भन्थे
धोकुञ्जेल धोक्थे सँगै
पछि मेरै खोइरो खन्थे
न चुहिने छानो छाइयो
न महल ठडाइयो
मुती सक्यो दैलो देख्यो
बल्लै चेत पाइयो ।
गाउँले सलाई सल्काउँथे
मलाई आगो लायो भन्थे
बाहिर बाहिर गुरु भन्थे
भित्र मुर्गा आयो भन्थे
बञ्चरोलाई पिटी पिटी
घन बनाउन लाइयो
पानी पर्यो आरन सर्यो
बल्लै चेत पाइयो ।
बेला हुन्थ्यो मेला हुथ्यो
जोस जाँगर भेला हुन्थ्यो
जसै पण्डित उसै स्वाहा
उमेरकै खेला हुन्थ्यो
जुन बगानमा फूल देख्यो
नजर उतै लाइयो
घाम ढल्यो देह गल्यो
बल्लै चेत पाइयो ।
राति राति माती माती
खोयाबिर्के खाइन्थ्यो
मकै बारी सोत्तर पारी
हुण्डरी मच्चाइन्थ्यो
न असल फसल लाइयो
न थाँक्रो अड्याइयो
जब राति बुढी ताती
बल्लै चेत पाइयो ।
भुन्टी घरै बस्न भन्थी
भट्टीमा नपस्न भन्थी
आँखा छली निस्के कतै
कुर्दै घडी पला गन्थी
यौटा यौटा बहानामा
लुखुर लुखुर धाइयो
न पाखुरी न च्याखुरी
बल्लै चेत पाइयो ।
बाले मनमा गुन्न भन्थे
राम्रा कुरा सुन्न भन्थे
बार्हैमास मधुमास
कुनै लोकमा हुन्न भन्थे
बारी कान्ला लुकी लुकी
झ्याउरे गीत गाइयो
ढल्क्यो वय टुट्यो लय
बल्लै चेत पाइयो ।
बाहिर नैनासुत हुन्थ्यो
भित्र भैँमा सुत हुन्थ्यो
आफ्नै छायाँ पनि कैले
हेर्दाहेर्दै भूत हुन्थ्यो
चुना मोली सुर्ती खाइयो
फुर्ती ठूलै लाइयो
सिउर ढल्यो आँत गल्यो
बल्लै चेत पाइयो ।
मानी भन्यो दानी बन्यो
न त कहीं बाटो खन्यो
न गुन मिठो न धुन मिठो
व्यर्थै अभिमानी बन्यो
मनमा पापकै पोको बोकी
मन्दिर मन्दिर धाइयो
शंकाले नै लंका गुम्यो
बल्लै चेत पाइयो ।
नचाहिंदा मुख लाइयो
चाहिंदा खामोस खाइयो
घाम झर्दा साँझ पर्दा
बिस्कुन सुकाइयो
फूल टिपी आउँछु भनी
कोपिलै जिलाइयो
न रह्यो बाँस न बाँसुरी
बल्लै चेत पाइयो ।
चाहिंदा जुन चिज छैन
पछि किन चाहियो
बेला टल्यो दिन ढल्यो
बल्लै चेत पाइयो ।