खै त हस्पिटल,
डाक्टर,
अक्सिजन,
आइसियू र भेन्टिलेटर?
छ त मात्र उद्घाटनको ब्यानर।
जाबो एउटा सिलिन्डर
नपाएर मर्नु पर्ने?
खै त क्वारेन्टाइन,
होल्डिङ सेन्टर,
परीक्षण,
कन्ट्याक्ट ट्रेसिङ र फलोअप?
छ त केबल चित्कार,
क्रन्दन र विलाप।
एउटा एम्बुलेन्स नभएर
संसार छोड्नु पर्ने?
कहाँ छ राज्य,
कानुन,
सरकार,
संबिधान
र
अधिकार,
सरोकारवाला र अधिकारकर्मीहरू?
देखिन्छ त केबल
सेटिङ,
अपहरण र
कमिसनको खेल।
के मतदाता सधैँ
तिमीहरूको भर्याङ
नै बन्नुपर्ने?
खै त तिम्रो
विकास,
सुशासन
र
कानुनी राज्य
प्रगति, खुसी
र समृद्ध?
छ त मात्र
छद्मभेष,
व्याभिचार
र
भष्ट्रचारको
आहाल।
कहिले बन्द गर्छौ
यो लास र कात्रोमाथिको
व्यापार?
अत्ति भो
सीमा नाघ्यो,
मुखमा मात्र
होइन,
आँखा पनि
बन्द गर्नु पर्ने भो,
जिउँदा मान्छेलाई त
पहिलेदेखि बेचिरहेका छौ,
अब
लासहरूको व्यापार!
घर जलाएर
कतिन्जेल न्यानो खोज्छौ?
अझ अचम्म!
सरकार पनि सरकार खोज्दैछ,
जनताको सरकार खै?
बन्द गर यो लाजनीति।