न दया छ यहाँ, न माया छ यहाँ,
बस् मान्छेहरुको लामो लाइन छ यहाँ,
घरको प्यारो छत, आमाको मायालु काख
बाबाको गहिरो साथ छोडेर,
म पनि त आएको हुँ
केही बन्ने चाहले, केही गर्ने आशले
सपनाको ठूलो सहरमा,
सपना किन्ने रहरले।
खै त यो सहरमा,
त्यो सपना किन्न म कहाँ जाउँ?
उता हुँदा लाग्थ्यो
ठूलो सहरमा, मेरा सानातिना आवश्यकताहरु त
त्यसै पूरा हुन्छन्।
के थाहा मलाई लाखौं सपना बेचेपछि
एउटा झिनो
विपना मिल्दो रहेछ यहाँ!
एक मुठी सास, झिनो आश,
घन्टौंको सफरपछि थाकेर
एक गाँस खान पनि
नसिबले मिल्दो रहेछ यहाँ।
परबाट देखेकी हुँ
निला आकाशमुनि गहिरा ठूला समुद्रमा,
छाल जस्तै नाचिरहेका रंगिन जीन्दगी।
त्यो बेला साघुँरो मन बनाएर भन्ने गर्थेँ
ओहो! म कहिले नाचुँला, रमाउँला त्यसरी!
आज नजिकबाट चियाउँदै छु,
कस्तो हुन्छ पीडाहरु लुकाउन
हसिला नकाब भिरेका जिन्दगीहरु!
पैसाको बोट छ रे ठूलो सहरमा!
पख है आमा एक दिन टिपेर ल्याउँछु,
नयाँ तिम्रो सारीमा रङ त्यसैले भर्छु,
बाबालाइ नयाँ कमिज त्यसैले किन्छु
भनेर आएको म।
खै त यो सहरमा त्यो पैसाको बोट
टिप्न कहाँ जाउँ?
यता हारेको मन टालेको जिन्दगी लिएर
बाचिरहँदा
उता मैले भन्ने गर्छु स्वर्गमा झैँ छु आमा,
केही परे भन्नुस् है सबै म पुर्याइदिन्छु।
अनि फोनको घन्टी राखेपछी भक्कानिँदै
भन्ने गर्छु,
आमा, जिन्दगी त हजुरकै हातमा स्वर्ग थियो
बाबा, जिन्दगी त हजुरकै हातमा परिपूर्ण थियो।