मेरो प्रिय नेता,
मलाई अरु केही चाहिँदैन
केबल मलाई अक्सिजनका सिलिन्डर देऊ
त्यसको बदला तिम्लाई
भोट चाहिए, भोट दिम्ला
नोट चाहिए, नोट दिम्ला।
अस्ति भर्खरै विदेश गाको छोरा
खै के कोरनाले गर्दा उतै
चिहानको पालो पर्खदै छ रे
हिजो मात्र बुहारी हस्पिटल लाँदै गर्दा
बीच बाटामै श्वास रोकियो रे।
हस्पिटलमा पनि आमाको हाल
त्यस्तै त्यस्तै छ र
न बेड छ रे, न बेडको सही रेट छ रे।
त्यसैले
मेरो प्रिय नेता,
मलाई अरु केही चाहिँदैन
केबल मलाई अक्सिजनका सिलिन्डर देऊ
त्यसको बदला तिम्लाई
भोट चाहिए, भोट दिम्ला
नोट चाहिए, नोट दिम्ला।
मेरो प्रिय नेता
तिम्रा लागि हाम्ले पनि
कहाँ बलिदान नगरेको होर?
७ सालमा तिम्रै लागि
मेरा बाजे झुन्डाइएर मारिए।
४६ सालमा मेरा बा तिम्रै लागि गोली खाएर मारिए।
अनि मेरो प्रिय नेता
५२ पछि हाम्लाई पनि कहाँ गरिखान दियौ र?
तिम्रा लागि खाका गोली
अझै शरीरमा चहर्याउँदै छन्
एम्बुसका घाउ नओइलाउँदै
राजा फाल्न बोलायौ
तिम्रै राजका लागि।
मेरो प्रिय नेता
तिम्ले भन बरु
हिँड्दा पनि कर तिर्छु, बस्दा पनि कर तिर्छु
सुत्दा पनि कर तिर्छु, उठ्दा पनि कर तिर्छु
तिम्रो भरपूर सुविधाका लागि जति पनि
कर तिर्छु।
तर मेरो प्रिय नेता
मलाई यतिबेला अक्सिजन चाहिएको छ
त्यसैले मलाई अक्सिजन देऊ
त्यसको बदला तिम्लाई
भोट चाहिए, भोट दिम्ला
नोट चाहिए, नोट दिम्ला।