'नीतिन, नीतिन!'
चिच्याई-चिच्याई एउटी युवतीले बोलाएको आवाज मेरो कानमा ठोक्कियो। एक्कासी वसन्तपुरको मोडतिर आइतबार साँझ पाँच बजेतिर।
अफिसको काम सकेर साथीलाई छाउनी छोडेर वसन्तपुर दरबार स्क्वायर हुँदै घर आउँदै थिएँ। हत्त न पत्त बाइक टक्क रोकेँ अनि यताउता हेरेँ। त्यति धेरै मान्छेहरूको भिडमा चिनेको कोही पनि थिएन।
यसो पछाडि फर्केर हेँरेँ, निकै पर एउटी युवती हात हल्लाउँदै मतर्फ हेरेर चिच्याउँदै बोलाइरहेकी थिइन्। फेरि यसो दायाँबायाँ हेरेँ, त्यत्रा मान्छेहरूको भिडमा अरूलाई नै बोलाएको हुन सक्छ भन्ने मैले सोचेँ।
नीतिन अरू पनि हुन सक्छ। मेरोजस्तै नाम भएका युवाहरू थुप्रै हुन्छन्, यो ठूलो काठमाडौं सहरमा। के तिनीहरूमध्ये मलाई नै बोलाएकी होलिन् त? भन्ने मनमा लाग्यो। तैपनि, मनले मानेन। यसो पछाडि फर्केर हेरेँ।
अझै ती युवती चिच्याउँदै यतै आइरहेकी थिइन्। ह्या छोड्दे, भन्दै म आफ्नो बाइक स्टार्ट गरेर अगाडि बढ्न खोजेँ। बाइक अगाडि मात्र के बढाएको थिएँ, पछाडिबाट कसैले च्याप्प समात्यो।
यसो पछाडि फर्केर हेर्न नपाउँदै बाघले बाख्रालाई झम्टेझैँ झम्टिहालिन्। राम्ररी पछाडि फर्केर हेर्दा त त्यत्रा मान्छेको भिडमा नीतिन, नीतिन भन्दै चिच्याउने तिनै युवती रहिछिन्।
'ओई, के साह्रो नचिनेको? नचिनेजस्तो गरेको हो कि नसुनेको? चिन्न पनि छाड्यौ कि क्या हो?' मैले बोल्न नपाउँदै उनैले मलाई प्रश्नै-प्रश्नको झटारोले हानिहालिन्।
ती युवतीले बीच बाटोमा यसरी प्रश्न गर्दा म अलमल्लमा परेँ, अनि उनैको अनुहारमा ट्वाल्ल परेर हेरिरहेँ।
'एउटै कुरा घरी-घरी, सोधी-सोधी, हँ-हँ गर्दै मान्छेलाई उल्लु बनाउने तिम्रो बानी अझै गएको छैन है?'
म ट्वाँ परेर उनको कुरा सुन्न छोडेर उनैको अनुहार हेरिरहेँ। कता-कता चिनेजस्तो, देखेजस्तो लाग्न थाल्यो, तर उनी को हुन्? अझै स्पष्ट ठम्याउन सकिरहेको थिइनँ। यतिकैमा पछाडिबाट टीँ-टीँ बाइकको हर्न बज्न थाल्यो।
‘अलि कुनामा गएर गफ गरे भइहाल्यो नि, किन बीच बाटोमा बाइक रोकेर अरूलाई डिस्टर्ब हुनेगरी गफ गरेको होला?’ भन्दै एउटा बाइकवाला भटभट्याइरहेको मैले सुनेँ।
‘आजकालका केटाकेटीहरू जहाँ पायो त्यहीँ जुका टाँसेझैँ टाँसेर गफ गर्न थालिहाल्छन्। कसैको मतलब नै गर्दैनन्’ भन्दै एउटी महिलाले बोलेको पनि यो कानले सुनियो।
सायद मैले बीच बाटोमा बाइक रोकेर, गफ गरेर गल्ती गरेजस्तो लाग्यो। त्यसैले, अरू बाइकहरू ओहोर-दोहोर गर्न असहज भएर नै बाइकवालाले ठूलो-ठूलो आवाजमा हर्न बजाएको होला भन्ने मनमा लाग्यो। अनि, हत्त न पत्त मैले आफ्नो बाइकलाई कुनातिर लगेँ, अनि पछाडि फर्केर हेरेँ।
हात समातेर आमाको पछि-पछि लाग्ने दूधेबालक झैँ उनी पनि मेरो पछि-पछि कुनामा नै आइन्। प्लिज, अब त भन, 'तिमी को हौ?' बाइक कुनामा पार्क गरिसकेपछि हेल्मेट फुकाल्दै हाँस्दै मैले उनलाई सोधेँ।
‘हँ! को हो रे? अप्पै, अझै पनि चिनेको छैन? कि मलाई अघिदेखि उल्लु बनाइरहेको? मान्छेले एकपटक देखेपछि अर्कोपटक उसले सजिलै चिन्न सक्छ, झन् तिमी त त्यत्रो वर्ष सँगै खाने, सँगै घुम्ने साथी, कस्तो नचिनेको?’ अलि रिसाएको भावमा उनी बोलिन्।
‘प्लिज भन न,’ मुसुमुसु हाँस्दै मैले विनम्र अनुरोध गरेँ।
बाटोमा हिँड्ने र त्यहीँ वरिपरि बस्नेहरू हामीलाई छड्के नजरले हेरिरहेको मैले देखेँ। त्यसैले कतै नजिकै कफीसपमा बसेर कुरा गर्ने सोच बनाएँ।
त्यसैको पछाडिपट्टि रुफटप गार्डेन रेस्टुरेन्ट थियो। बाल्यकालको साथी विदेशबाट आउँदा अरू मिल्ने साथीहरूलाई बोलाएर त्यही रेस्टुरेन्टमा गेट टुगेदर गर्दा म पनि त्यही रुफटपमा एकपटक गएको थिएँ।
उनलाई पनि त्यही रुफटप रेस्टुरेन्ट देखाउँदै- 'यत्रा मान्छेहरूको भिडमा भन्दा ऊ त्यो रुफटपमा गएर चिया, कफी अथवा चिसो पिएर गफ गरौँ न ल,' मैले प्रस्ताव राखेँ। उनले पनि टाउको हल्लाउँदै ओके भन्दै स्विकारिन्।
आकर्षक जीउडाल अनि चञ्चल नयन, लामो कपाल, टिमिक्क मिलेको शरीर, अनि फुक्क उठेको छाती हेर्दै लोभ लाक्दी उनी मेरो अघि-अघि बिरालाको चालमा हिँड्दै माथि उक्लिन्।
तेस्रो तलाको ढोकाबाट बाहिर हामी दुवै खुला आकाशमुनि रेस्टुरेन्टको रुफटप गार्डेनमा पुग्यौँ। रुफटपको कुनामा दुईजना जोडीबाहेक अरू कोही पनि थिएनन्। हामी पनि कुनाको टेबलतिर नै बस्न पुग्यौँ।
'साँच्चीकै तिमीले मलाई चिनेनौ है?' कुनाको कुर्सीमा बस्न नपाउँदै उनैले पहिलो प्रश्न गरिन्।
'कता-कता भेटेकोजस्तो अनि अलि-अलि देखेको, बोलेकोजस्तो लाग्छ, तर ठम्याउन नै सकिनँ,' मैले भनेँ।
'ह्या, म निकिताको बच्चैदेखिको एकदम मिल्ने साथी क्या। हामी सँगै पढ्थ्यौँ नि, याद छ? एकपटक हामी सुन्दरीजलदेखि हिँड्दै बौद्धसम्म सँगै आएका।'
'निकिता' भन्नेबित्तिकै मेरो मन एक किसिमले तरंगित भयो। उनलाई भुलेको वर्षौं भइसकेको थियो, तर आज अचानक उनको मुखबाट निकिताको नाम सुन्दा मनमा कता-कता काँडाले घोचेजस्तो महशुस भयो।
'तिम्रो नाम चाहिँ के रे?' भुलेको जस्तो गरी मैले मुसुक्क हाँस्दै उनलाई सोधेँ।
'समारिका' उनले भनिन्।
कता-कता यो नाम वर्षौंअगाडि धेरै सुनेकोजस्तो लाग्यो।
निकिताले पनि यो नाम धेरै लिने गर्थिन्। समारिका दश वर्षअगाडि उनकी फुपूसँग अमेरिका गएकी थिइन्।
‘तिमीलाई एउटा कुरा भनूँ?’
‘के कुरा?’
‘मन त दुखाउँदैनौ नि?’
‘किन दुखाउनु?’
'तिमीहरूको माया बडो अचम्मको थियो है?' उनैले निकिताको कुरा निकालिन्। म र निकिताबीच भएका कुरा कोट्याउन थालिन्।
‘ह्या, त्यो कुरा छोड। पास्ट इज पास्ट, इट्स् अलरेडी गन, कुनै नयाँ टपिक निकाल न,' मैले भनेँ। मैले त्यति भन्नेबित्तिकै उनी चुपचाप बसिन्।
'नभन तिम्रो माया लाग्छ भने, नबोलाऊ भेट्न सुनसान रातमा मायाका कुरा अनि भेटघाट बेकार हो... जानी-जानी हृदयमा चोट...।' एड्रिन प्रधानको यो गीत ब्याकग्राउन्डमा मधुरो धुनमा बजिरहेको थियो। साँझ छिप्पिसकेको हुनाले अँध्यारो भइसकेको थियो।
जुन दिनेदेखि मैले निकितालाई पाएँ, त्यही दिनदेखि म निकै खुसी थिएँ, अनि निकिता पनि खुसी नै थिइन्। जब उनी मेरो साथमा हुन्थिन्, म आफूलाई रमणीय वातावरणबीच रोमाञ्चक अवस्थामा पाएको अनुभूति गर्थेँ।
‘एस्क्युज मी सर!’ एक्कासी ढोकाबाट फुत्त रेस्टुरेन्टको वेटर निस्केर बोलाउँदा पो म झसंग भएँ। अतीतका कुराहरूको यादमा डुबिरहेका बेला हातमा कलम अनि मेनु बोकेर मेरो अगाडि वेटर ठिंग उभिरहेको थियो।
'एस प्लिज' मैले भनेँ।
‘के लिनुहुन्छ सर?’
‘पहिला दुइटा कफी ल्याउनु, अनि समारिका अरू केही लिने हो?’ भन्दै मैले समारिकातर्फ हेरेँ।
‘मिल्क कफी नै लिऔँ न अहिलेलाई’ भन्दै दुईवटा मिल्क कफी अर्डर गरेँ।
'नीतिन, तिमीले बिहे गर्यौ?' हातमा भएको मोबाइल फोन टेबलमा राखेर समारिकाले एक्कासी प्रश्न गरिन्।
रुफटप सुनसान थियो, मधुरो धुनमा गीत बजिरहेको थियो। समय आफ्नो गतिमा अगाडि बढिरहेको थियो। साँझ ढल्दै थियो। रुफटपबाट वसन्तपुरलाई यसो नियालेँ, अघि देखेका त्यत्रा मान्छेहरूको भिड पातलो भइसकेको थियो। हामीभन्दा अलि पर कुनामा एक जोडी मौनतामा अँगालोमा बेरिएर एकले अर्काको कपाल सुमसुम्याइरहेका थिए।
उनीहरू अर्कै दुनियाँमा रमिरहेका थिएजस्तो लाग्यो। मैले समारिकालाई यसो हेरेँ, समारिका पनि मलाई हेर्दै मुस्कुराइरहेकी थिइन्। उनको सुन्दर अनुहार अनि गुलाबी ओठहरू सुस्तरी चलबलाएर बोलिरहेकी थिइन्, कसैसँग फोनमा। टेबुल माथि एउटा किताब थियो यसो पल्टाएर हेरेँ।
पहिलो पानामा नै लेखिएको थियो- यो कथा कसैले छापेको थाहा पाएमा कानुनबमोजिम कारबाही गरिनेछ। मैले त्यस किताबको पहिलो पानाभन्दा अन्य पाना नपल्टाइकन बन्द गरेर टेबलमा नै राखेर समारिकालाई हेर्न थालेँ।
राम्रो घरानियाँ परिवारमा जन्मेकी छोरी, स्वतन्त्र पारिवारिक वातावरणमा हुर्केकी उनी युएसएमा गएर बसे तापनि पुरानो बानी-व्यवहारमा भने कुनै भिन्नता नआएको कुरा उनको चालचलन अनि बोलाइले प्रस्ट्याउँथ्यो।
आज अनायासै समारिकाको मुखबाट निकिताको कुरा सुनेर हृदयका सारा यादहरू ब्युँझिएर आए। सम्झनाहरूलाई अँगाल्दै यो जीवन बिताइरहेका बेला एक्कासी समारिकाले त्यो सम्झना अनि अतीतका ती यादहरू चलचित्रको पर्दा उघारे झैँ उघारिदिइन्।
उनले फोनमा कसैसँग गफ गरिसकेकी थिइन्।
'अनि साँच्चै, तिमी यहाँ कताबाट नि? तिमी त विदेशमै सेटल भयौ रे भन्ने सुनेको थिएँ त?' मैले उनीतर्फ हेर्दै भनेँ।
'ए हजुरलाई पनि मेरो बारे धेरै कुराहरू थाहा छ? इन्टरनेटको गुगलमा गएर सर्च गर्नुभएको त होइन नि?' हाँस्दै जिस्किन थालिन्।
‘ह्या, बढी मजाक नगर न?’
‘हो, म युएसएमा नै छु। म अहिले ठूली-ममीसँग नेपाल आएकी हुँ। अनि निकिता पनि उतै छिन्, तर उनी…’
‘तर उनी?’
क्रमश...