सत्ता रह्यो, विवेक रहेन
शक्ति रह्यो, विचार रहेन
व्यक्ति जोगियो, अन्तर संघर्ष सकियो
खै! कम्युनिष्ट कतै देखा परेन
किन देखा नपर्नु
कुन्ठा र स्वार्थ त छताछुल्ल छ
भ्रम त झन् फस्टाएको छ
शंका त चुलिएको छ
फेरि कम्युनिस्ट तन्नेरीहरु मुठी बजार्दै छन्
धन्न हाम्रो पालालाई जोगियो
खै के जोगियो!
विवेक! विचार! संघर्ष !
रित्तो भए नि भाँडो जोगियो
अहिले कुचिएको मात्र हो
ठोक ठाक पार्ने हो
कसो नउसिएला!
कहिले कुच्चिने
कहिले उध्रिने
कहिले फाट्ने
कहिले च्यातिने
कहिले चुहिने
कुच्चिने उध्रिने, फाट्ने, च्यातिने, चुहिने
नियती नै भयो
उस्याउने सिलाउने टाल्ने
ठेक्कै रह्यो
इतिहासदेखि वर्तमानसम्म
टाल्दा टाल्दै
जात र रंग फेरियो
चित्र र चरित्र फेरियो
गुण र स्वाद नै फेरियो
खै!
म सर्वहारा, म प्रधानमन्त्री
सर्वहारादेखि श्री ३ सम्म
काचुली फेरियो
दुब्लोदेखि खाइलाग्दोसम्म
तिमी पनि अनुभव गर्नू
मैले खाएको काजुमा
तिमी मिठास लिनू
मैले गरेको मोजमस्तीमा
तिमी आनन्द लिनू
मैले बाड्ने सपनामा
तिमी मन्त्रमुग्ध बन्नू
साम्यवाद सपना हो
हकिकत त अनुभव हो
इमानभन्दा सत्ताको आश छ
असल बन्नका लागि होइन
लगानी उठाउन
रोइकराई गरेर भएपनि संख्या जुटाइ
सत्ता र शक्तिमा बसिरहनु छ
जुवामा त दाउ पर्छ
यो त नाथे राजनीति आफैंलाई दाउमा राखेपछि
दाउ त होइन, स्याउ नै झर्छ
नास्पातीको अगाडि स्याउ टिप्नै पर्यो
आखिर कम्युनिष्ट परे
आफ्नो साख त जोगाउनै पर्यो।