सूक्ष्म रुपी हे कोरोना भाइरस!
अदृश्य हावाभित्र लुकी छिपी
निर्दोष मान्छेको आँखा छल्दै
सुटुक्क नाक मुखभित्र नपस्नू।
नबोली उड्ने हे कोरोना भाइरस!
बोल्ने मान्छेको अथक पिछा गरेर
अदृश्य नङ्ग्राले घाँटी नङ्ग्र्याउँदै
क्रुरताको हिँस्रक आक्रमण नगर्नू।
असीम उर्वर हे कोरोना भाइरस!
छिन घडीमा लाखौँ लाख बनेर
अनमोल मायाले भरपूर छाती
निर्मम थिचेर छिया छिया नपार्नू।
वायुब्यापी हे कोरोना भाइरस!
मान्छेभित्र बसेर झन् अझै
मान्छे नै मान्छे निर्मम खाएर
गुनलाई बैगुनले मार्ने नगर्नू।
मानव भक्षक हे कोरोना भाइरस!
मानव लाशमाथी चढेर
बाँच्नेको कारुणिक क्रन्दन र रोदन
सुरिलो सङ्गीत नबनाउनू।
बिषालु हे निर्दयी कोरोना भाइरस!
मान्छेको लाश कुल्चेर निर्मम
अट्टहासको क्रुर हाँसो कहिल्यै नहाँस्नू
मान्छेसँग धोकेबाज मितेरी अब नगाँस्नू।
लघु आयुको हे कोरोना भाइरस!
बताससँग उड्दै बेपत्ता हुनू
या कतै कुनामा खुम्चिएर झन्
छिनघडीमा हठात बिलाइ जानू!