मेरो शिर ठाडो पार्यौ, मेरो उचाइ बढायौ
म लडेको हो मरेको होइन, बिगुल फुकायौ
मेरो पार्थिव शरीरमा ढुंगा माटो जल थपी
हामी फेरि उठ्छौ भनी मेरो संरचना बनायौ
शरीर मेरो बार बार ढलिरहँदा, आत्मा मेरो जीवित राख्यौ
मैले इतिहास देखेको छु, सेवक मालिक समिलित्त
बढ्दै गरेको माटोको आकार देखेको छु,
मेरो उचाइ सानो बनाउनेको, ठूलो विचार देखेको छु
यो माटोको साख जोगाउन, मृत्य वरण गर्ने अमर देखेको छु।
नर नारी एक साथ, अन्याय अत्याचार शत्रु विरुद्ध
युद्धघोष सुनेको छु
एकले सय, सयले हजार शत्रु परास्थ गरेको,
वीर योद्धाको जय देखेको छु।
परिवर्तित शासकको, क्रुरता शोसन देखेको छु
जनमानसको एक स्वरको आँधीले निर्दयीको सेखी झरेको
देखेको छु।
पुनः म विशाल स्वरुपमा जन्मिए, वर्तमान देख्दै छु
हे मेरो उचाइ ठूलो बनाउने मानुष,
मेरो माटो किन लुटेको देख्दै छु?
दूर दूरसम्म छाती भित्र देश हित, देशको माया गर्ने,
किन गनेर देख्दै छु?
मालिक ठूला महलमा,
गरिबको सास्ती बस्ती बस्ती पिछे, किन देख्दै छु?
मेरा प्यारा सेवक,
परको देशमा सपना श्रृंगार्न लाम बसेको, किन देख्दै छु?
जननी रूपी देश र नारीको अस्मिता बार बार लुटिएको
देख्दै छु
सत्ता मोहको तृष्णा, देश प्रेम जन सेवा, उपरको लत
देख्दै छु
जनमानसको लाचारीय मनोदशाको पराकाष्ठा,
तिम्रा सजीव देहको, आत्मा चिरहरण भएको देखेर हीनता बोध हुँदै छ
निसासिदै छु, आत्मग्लानी हुँदै छ, आत्मा रुँदै छ
समयको कस्तो कालखण्डमा उभिएको छु,
जनता जनम-मरण बीच लड्दै छ,
राजनेता कुर्सी बीच तछाडमछाड गरी लागेको छ।
मसँगै हिँडेको दुनियाँ, विकास पथमा विजय छ,
मेरो माटो अतीतको गौरव गाथा बोक्न लज्जित छ।