आँगनमा माटोको कण पनि कतै देखिनु हुन्न
त्यो पूरै टायलले छोप्नु पर्छ
एउटा झारको त्यान्द्रो सम्म कतै उम्रन हुन्न
अझ तुलसीको बोट रोप्न ठाउँ खोज्ने ?
के हामी पाखे हो र ?
श्रीमतीको सुझाव हुन्छ
बरू गमलाको रबर प्लान्ट किनौंला
भित्तामा थ्रिडी पेन्टिङले बिरूवा उमारौंला ।
डाँडाको पिपल, सिमल सबै मास है!
त्यहाँको जग्गा जम्मै प्लटिङ गर्नु छ
इञ्चले नापी नापी घर घडेरी बेच्नु पर्छ
खोला नाला कतै छोड्नु हुन्न नि!
त्यहाँ टिपरलाई परेड खेलाउनु पर्छ
पहाड भरी जम्मै डोजरले उधिन्ने हो
मुहान पुरियोस् कि
पहिरोले बस्ती सखाप होस
हाम्लाई बाल मतलब ?
यही होडबाजी लोकमा चलेको छ ।।
पाटर्नर भन्छ –
किन, चाहियो तिम्लाई बर पीपलको छहारी ?
बरू त्यहाँ सिमेन्टको च्याम्बर रोपौंला
ठूला ठूला इँट्टा भट्टा खोलौंला
किनकि, जति सकिन्छ पैसा थुपार्नु छ
फेरि,अर्को नयाँ गाडी किन्नु छ
घाँटीमा अर्को सुनको दाम्लो थप्नु छ
सहरमा अर्को एउटा सिमेन्टको बिरूवा रोप्नु छ ।।।
यहाँ सक्ने ले जे गरे पनि हुन्छ
सरकार, कतै छ र ?
जनता अक्सिजनको अभावमा छटपटाउँदा
सायद सरकार मोलतोलमा होला
कोरोना खोपमा कमिसन खोज्नेहरूलाई
वरिपरि राखी केन्द्रमा
स्थानीय तहहरूमा
खोला नालाका ठेकेदार सँग
चियर्स गर्दै होला ।।।
राम्रा अस्पताल, विद्यालय, सडक हैन
बरू पहाडको चुचुराहरूमा
भ्यू टावर निर्माणको योजना बुन्न व्यस्त होला
केही बोल्नै हुन्न
विकास विरोधीको बिल्ला भिराइन्छ
जनप्रतिनिधिको जवाफ हुन्छ
के हामी ढुंगे युगमा छौं र ?