मेरो सरकार,
दिनको तीन पटक शितल निवास धाउँछौ
कसैले गर्न नसक्या मैले गरेँ भन्दै
सुशासन र समृद्धिका अनन्त गीत गाउँछौ
चुच्चे रेललाई त्रिपाल ओढाउँछौ
प्रत्येक घरलाई मसानघाट बनाउँछौ
बाँचेका परिवारजनलाई मलामी गराउँछौ
अनि धरहरामा चढेर एकोहोरो शंख फुक्छौ
सत्ताका लागि मरिहत्ते गर्दै
आकाशतिर फर्केर थुक्छौ
महामारीले सधैँका लागि सुताएका लासलाई
अस्पतालभरि खाली बेड देख्याछौ
घरीघरी
अक्सिजनको सिलिन्डरभन्दा लामो सास तान्छौ
अनि निश्चिन्त मुद्रामा पटाङ्गिनीमा लम्पसार पल्टिएर
महामारीमा आफ्नो उपचार आफैँ गर भन्छौ
प्राणवायु नपाएर पुक्लु पुक्लु जनता मरेका बेला
फल्नै नपाई जीवनका सपना झरेका बेला
म छु भन्ने अनुभूति गराउनै सक्दैनौ
मानवताको व्यवहार देखाउनै सक्दैनौ
हेलो सरकार,
सम्हालिनै नसक्दा पनि तिमीजस्तो कठोर बन्दिनँ म
मेरो सरकार तिमीलाई हार्दिक श्रद्धाञ्जली भन्दिनँ म
हेलो सरकार, तिमी अहिले बोल्दा पनि बोल्दैनौ
जति चिमोटे पनि आँखै खोल्दैनौ
एक पटक हेरिदेऊ न मात्रै
तिमीले भनेजस्तै हामीले
अस्पताललाई बेसार-घर बनाएका छौँ
प्रत्येक घरमा अम्बाका पात पकाएका छौँ
अक्सिजनका सिलिन्डर प्राणघातक हुन्छन् जस्तो गर्यौ
हामीले बागमतीमा सेलाएर आएका छौँ
तीन महिनाभित्र तीन करोडलाई खोप दिनै हुन्न भन्यौ
हामीले कमिसनमा अल्मलाएका छौँ
तिमीले जे भन्यौ हामीले त्यही गर्यौँ
आखिर तिमीले सबै कुरा जानेकै हौ नि
कुर्ची भाँच्छु भन्यौ मानेकै हौँ नि
हामी तिमीलाई केही दिन सक्दैनौँ अरु
कोटा छुट्याएर सिलिन्डर दिन्छौँ बरु
तिमी आज यसरी चुपचाप भइदिँदा
हेलो सरकार,
सम्हालिनै नसक्दा पनि तिमीजस्तो कठोर बन्दिनँ म
मेरो सरकार तिमीलाई हार्दिक श्रद्धाञ्जली भन्दिनँ म।
उता अस्पतालमा सेता वस्त्रधारी भगवानहरु आत्तिएका बेला
यता तिमी सत्ता उन्मादमा मात्तिएका बेला
अस्पताल चाहार्दै एम्बुलेन्सहरु दौडिएका छन्
जनता आँसुका दहमा पौडिएका छन्
मौन छ तिम्रो धरहरा
मौन छ तिम्रो बालुवाटार
मौन छौ तिमी, मौन छ तिम्रो सरकार
कमिसनको कात्रो ओढेर
कहिलेसम्म सुतिरहने हो तिमी
रोग लाग्दा सास दिन नसक्ने सरकार
भोकमरीमा गाँस दिन नसक्ने सरकार
बिरामीलाई अस्पतालमा बास दिन नसक्ने सरकार
पशुपतिमा सुनको जलहरी चढाउने
ठाउँ-ठाउँमा अग्ला भ्यु टावर बनाउने
चाहिँदैन यस्तो सरकार भन्दै तिमीलाई घेरिसके
तिम्रो धरहरामाथि कात्रो बेरिसके
मेरो सरकार
सबैले मर्यो सरकार भन्दैछन्
छिनछिनमा तिम्रा नाडीका धड्कन गन्दैछन्
प्राणवायु नपाई मरेका आफन्तका लागि गहिरो खाल्डो खन्दैछन्
हेलो सरकार
सम्हालिनै नसक्दा पनि तिमीजस्तो कठोर बन्दिनँ म
मेरो सरकार तिमीलाई हार्दिक श्रद्धाञ्जली भन्दिनँ म।