'फेरि फर्किएर जाने त?' ऊ चुपचाप लडिरहन्छ, निशब्द, निरूत्तर।
'जा...नै हो त फेरि?' अलि संकोच मानेर म साथ माग्छु।
श्वास फुलेर स्वाँ-स्वाँ छ। धड्कन घोडाको पदचाप जस्तो भडक-भडक गर्छ। आँखा माथि तातोले लठ्याएर दृष्टि नै सुक्ला झैं भैसक्यो। जीउ सर्वांग गलेजस्तो छ।
बैंसको ज्वरो जस्तो राप छ तर यी गोडा कस्तो काँपेका, ठन्डीको स्याँठले हाने जस्तो। ऊ बोल्दैन। न इशारा गर्छ, न जाउँ भन्छ न बसौं भन्छ। एकोहोरो माथि हेरिरहन्छ। किन-किन आफ्नै हो जस्तो गरी मुटु बटारिएर आएको, उस्लाई देख्दा।
कलमल-कलमल हल्ला छ, झर्को लाग्दो। सुनेन कि? 'अलि नजिकै आऊ न, कस्तो आँतै काँप्यो' म अज्ञात डरको लवजमा बर्रराउँछु।
ऊ उँभै हेरिरहन्छ।
यस्तो अहम जस्तो चकमन्न अँध्यारो छ के देख्दो हो? मेरो आवाज उता पुग्दैन कि! ऊ प्रतिकृया विहीन अचल रहन्छ। उठेर नजिकै जाउँ, शरीरको तातोले ठन्डी कम होला भनेको, यो जीउ नै चल्दैन।
मनमा डर पस्यो, यसो दृष्टि दौडाएँ। कस्तो आकृतिमात्र, उँभो हेरिरहेको छ, एकोहोरो।
मेरै उमेरको हुँदो हो। तर अँध्यारोले केही ठम्याउन सकेको भए पो हो भनौं।
न हल्छ, न बोल्छ। भूत पो होकि? मुटु तातो-पिरो भो।
चुरोट जलाउनु पर्यो। तर यी हातै पो जमिसके डरले। नाकबाट केही निस्केला जस्तो भो बटारिएर।
तालु सुके झैँ भो, नशा सबै ढिला जस्ता भए। मुर्छाले छोप्यो ए लौ न।
आँखा कस्तो पोलेको यो... अरे! आँखा त बन्द रैछन्।
जोर जोरले श्वास अझै बढ्यो।
ढुकढुक... ढुकढुक मुटु भक्लक-भक्लक फुल्दै सुक्दै गर्न लाग्यो। घाँटीमा आएर केही अड्कियो।
तितो गन्धले नाक फुट्लाझैं रन्कियो। ज्वरोले च्यापे जस्तो मुख तितो भो।
'ए लौन के हो यस्तो!' म कराएँ।
आवाज हरायो। कहीं कतैबाट केही जवाफ आएन। त्यो आकृति बल्ल चल्मलायो।
हावा चले जस्तो छ तर खै त चिसो? अचानक चित्त खे केले बिथोलेर ल्यायो।
'भो! भो! नजाने' म त कराएँछु। आँसु पो आएछन् मेरा त। याचनाको स्वरमा यसै मुखबाट फुत्किछ 'भैगो, भैगो यतै बसौं।' म त रोएछु।
भड्याक्! खै कस्ले हो नमज्जाले हिर्कायो कम्मरमा। ऐया... आमा! फेरि होस हरायो। झस्स होस आउँदा, कलमल-कलमल फेरि आवाज सुनियो। पीडा सबै हराइसकेछ।
चहल-पहल, मान्छेहरूको गन्ध। चिसो सिरेटो चल्यो।
'मान्छे आए! मान्छे।'
डराएको तर चर्को आवाजमा कोही बोल्यो, 'फेरि फर्किएर जाने त?'
केही झलमल्ल भयो स्मृतिमा, म बोल्न खोजें। चिच्याएर कराउन खोजें। आवाजै निस्किएन।
भिडको आवाज नजिकिंदै गयो, 'राम नाम सत्य हो, राम नाम सत्य हो!'