एउटा सुनौलो बिहानी आउनेछ...
जब काँधमा अक्सिजन सिलिन्डर होइन, अफिसका ब्याग हुनेछन्
फेसबुकमा मात्र होइन रियल जीवनमा साथीहरु ट्याग हुनेछन्
भिड औषधालयहरूमा होइन, चिया पसलहरुमा देखिनेछन्
र महामारीका कटु अनुभव बितेका पलहरुमा लेखिनेछन्।
एउटा सुनौलो बिहानी आउनेछ...
सडकमा एम्बुलेन्स होइन, जताततै स्कुल भ्यानहरु देखिनेछन्
देश सेवामा लागि परेका सच्चा हिरोहरु (डाक्टर, नर्स, सामाजिक
अभियन्ताहरु, पुलिस,सफाई कर्मचारीहरु आदि) का लाखोँ फ्यानहरु भेटिनेछन्
लकडाउनमा समय कसरी काट्ने भन्ने मानसिक घाउ हुने छैन
र व्यापार/जागिर नभए आमदानी कसरी होला भन्ने तनाव हुने छैन।
एउटा सुनौलो बिहानी आउनेछ...
जब बुवाले बिहान औषधिको सट्टा चिया पाउने छन्
हजुरबुबा बाहिर पार्कमा गएर निष्फिक्री डुलेर आउने छन्
हजुरआमा कौसीमा होइन, मन्दिरमा जल चढाएर आउने छिन्
र हाम्रा सुख र समृद्धिका गीत अब कोइलीले गाउने छिन्।
एउटा सुनौलो बिहानी आउनेछ...
जब हामी अंकमाल गर्दै फेरि आत्मियतालाई हृदयले गाँस्नेछौं
कटु सम्झनाहरुलाई बिर्सेर उज्यालो भविष्यमा फेरि हाँस्नेछौं
'अति'को अन्त्य अवश्य हुन्छ, यसै विश्वासमा सँगै बाँच्नेछौं
र 'महामारी' माथि धैर्यको विजयपछि हामी फेरि नाच्नेछौं।
एउटा सुनौलो बिहानी आउनेछ...
जब हाम्रो हातमा क्यारम र लुडो होइन, ब्याट र बल हुनेछ
महिनौं मौन रहने मैदानहरूमा अब ठूलो कोलाहल हुनेछ
गाउँ-सहरमा सबै प्रतिबन्ध हटाइनेछ र फेरि चाडपर्व हुनेछ
र महामारीको हार माथि मानवताको जितको गर्व हुनेछ।