कसरी सम्बोधन गरौँ खै?
कुन सर्वनाम र विशेषण प्रयोग गरूँ म
जुन प्रयोग गरेपनि फिक्का नै रहनेछ
तिमी यो ब्रह्माण्ड झैँ विशाल छौ
यो प्रकृति झैँ अद्भुत सुन्दर छौ
तिम्रा लागि कविता कोर्नु
मेरा मन शान्तिका निम्ति एक
सानो प्रयासमै सीमित रहने छ
तिमीलाई लेखिरहँदा
म यी नि:स्वार्थ पोखिने शब्दका आकारमा
अनुभूति गर्छु
जसरी तिमी बिना भेदभाव सबैलाई आफ्नो
हृदयमा स्वागत गर्दछौ,
त्यसरी नै शब्दहरू कुनै भेदभाव सर्जकका
मनमस्तिष्कबाट उत्पत्ति भइदिन्छन्
तिमीलाई लेखिरहँदा
म एउटा छुट्टै संसार लेख्दछु
जहाँ तिम्रो उपस्थितिमा
शान्त हुन्छ,सबैमा बराबर हुन्छ
तिम्रो मुटुको पानाहरूमा सबैका लागि
स्थान हुन्छ, उस्तै हुन्छ बस्ने बसोबास
फेर्ने उस्तै हुन्छ बतास
तिमीलाई लेखिरहँदा
आफन्त लेख्न मन लाग्छ मलाई
जसरी तिमीले अरुलाई आफ्नो देखेका हुन्छौ
रुनेहरूको आँसु पैँचो लिएका हुन्छौ
हाँस्नेहरूको हाँसो पैँचो लिएका हुन्छौ
अनि राखेका हुन्छौ आफ्नै तखतामा सझाएर
विभिन्न पानामा एकाअर्काका अनुभूतिहरू
हामीलाई स्थान दिएर विभिन्न
स्वादका किताबले जब पस्कन्छौ
तिमी ज्ञानका अनेकन भण्डार
विश्वका सारा आँखाहरूमा देख्छौ
एउटै भोक तब पस्किन्छौ सपनाको परिकारले
तब त तिमी सबैको प्यारा छौ
तिमीलाई लेखिरहँदा
हावासँग तौलिन मनपर्छ
पानीको स्वादसँग पिउन मनपर्छ
हिमालको हाँसोसँग दाँज्न मनपर्छ
किनकि
तिम्रो निश्चलता र उदारतामा कुनै कमजोरी छैन
जसरी हावाको बेगमा हुँदैन
पानीको स्वादमा हुँदैन
हिमालको हाँसोमा हुँदैन
तिमीलाई लेखिरहँदा
विद्यार्थीका गम्भीर ध्यान लेख्न मनपर्छ
खोजकर्ताहरुको अनुसन्धानको प्रेरणाको स्रोत लेख्न मनपर्छ
पाठकको रुचि लेख्न मनपर्छ
यसरी लेखिरहँदा अझै लेख्न मनपर्छ
उज्यालोपनमा लिप्त घाँम
पातमा लिप्त शितका थोपा
अनि सबै सबैमा उत्तिकै लिप्त तिमी
म तिमीलाई लेखिरहँदा
संसारको अद्भुत स्थान बरमुडा ट्राइंगल लेख्न मनपर्छ
जहाँ कुनै वस्तु पसेपछि विलीन भइदिन्छ
अनि तिमी यस्तो बरमुडा हौ
जहाँ पाठक पसेपछि उसलाई पछाडि फर्कन मनपर्दैन
म तिमीलाई लेखिरहँदा
लाग्छ यो लेखाइ कहिले अन्त्य नहोस्
म यसरी नि तिमीलाई लेखिरहूँ मेरो अन्त्यसम्म
निरन्तर ,अविरल।