आशाको मेसेज आयो मेसेन्जरमा। मैले काम गर्ने अफिसमा इन्टर्न गर्न आउँदा चिनजान भएको। फेसबुक लिंक पठाएकी रैछ।
'दाइ आना।'
२४-२५ वर्षीय युवतीको प्रोफाइल। बोल्ड, ब्युटिफुल, मोर्डन।
'लोकसेवा तयारी कक्षामा चिनेको। हामी खुब मिल्छौँ। पढाइमा पनि अब्बल छे।'
लिंक खोलेर हेरेँ। राजधानीको फेमस कलेजमा एमबिए गर्दै। पश्चिम नेपाल तिर घर। हाल काठमाडौँ।
‘राम्री रैछ। मैले के गर्नु पर्यो?’
‘उसको घरबाट विवाहको कुरा आइरन्छ। उसको दाइ-भाउजू पनि यतै बस्नुहुन्छ। काठमाडौँमै। ऊ एक जना घरतिरकै दिदीसँग बस्छे। मौतिदेवी तिर। फ्ल्याट सेयर गरेर। राम्रो केटा पायो भने विवाह गर्ने र पढाइलाई कन्टिन्यु गर्ने मनसायमा छे। दाइसँग म्याच हुन्छ जोडी।’
‘ए ठिकै छ, सानी रैछन्। म त ३३ पुग्न आटेँ। विचार गरौँला अनि कुरा अगाडि बढाउला नि, है?’
‘हुन्छ दाइ। फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउनुस् न। मैले तपाईको बारेमा भनेको छु। आफै कुरा गर्दा नि हुन्छ। केटी फ्र्यान्क छ।’
कोभिड-१९ को पहिलो लहर। सरकारले संक्रमण नियन्त्रणका लागि लकडाउन गरेको तीन महिना जस्तो भैसक्यो। खाद्यान्न र औषधि व्यवसाय बाहेकका सबै कृयाकलाप ठप्प प्रायः छन्।
अधिकांश अफिसहरुले कर्मचारीहरुलाई घरैबाट काम गर्ने व्यवस्था गरेका छन्। म पूरै घरमा एक्लै। साथीको घर। ऊ अष्ट्रेलिया पढ्न गएकाले म बसेको। खाने कुरा किन्न बाहेक अरु बेला बाहिर निस्कने कुरै भएन।
अफिसको काम अनलाइनबाटै हुन्छ। छिमेकका छत तथा बरन्डाहरुमा र अत्यावश्यक कामले बाटोमा हिँडेका मानिसहरु देख्दा पनि खुसी लाग्छ।
मेरो घर पोखरा। घरमा बा, आमा, बहिनी र दुई साना भान्जीहरु छन्। भर्चुअल त कुरा भइरहन्छ। अत्यास पनि लाग्छ। अफिसले उपत्यका छाड्न प्रतिबन्ध गरेकाले जान मिलेन। एक्लैभन्दा दुई जना हुन पाए सहज हुन्थ्यो जस्तो लाग्छ। लाग्नु र हुनू फरक रहेछ।
आशासँग कुरा भएको दुई महिना जति पुगेछ। मेसेन्जरमा गएर आनाको लिंक खोलेँ। सुन्दर छे आना। के गर्ने, नगर्ने द्विविधामा परेँ। सोचेँ सानै छे।
ठानेँ, ७-८ वर्षको ग्याप भएका जोडीहरु प्रशस्तै देखिन्छन्। उसकै उमेरका युवतीहरुले अंकल भनेका छन्, मलाई। म जिस्किएर भाग्यमानी हुनु है छोरी भनिदिन्छु। उसले पनि अंकल भनि भने?
ओशोको प्रवचनमा कतै सुनेको- भय सफलताको बाधक हो। यस्तो भाव आउने वित्तिकै भय हरायो।
लेखेँ- हाई आना। आई होप यू आर डुइङ गुड। तिम्री साथी आशाले केही महिना अघि तिम्रो बारेमा भनेकी थिइन्।
बेलुका तिर उत्तर आयो- हाई, गुड टु सि यू। एस, आइ रेमेम्बर यू।’
सामान्य कुराकानी पश्चात शुक्रबार भेट्ने कुरा भयो। तीन दिन बाँकी छ। रेष्टुरेन्ट, क्याफे र पार्कहरु सबै बन्द। मेरोमै आउने र भेटघाट गर्ने सहमति भयो।
शुक्रबार आयो। एकदमै ढिलो आयो। सवारी साधन नचलेकाले हिँडेरै आइपुगिन्। मुख्य चोकसम्म लिन पुगेँ। मैले सोचे जस्तै सानो जिउडालकी अनि राम्री। मलाई त मन पर्यो। उच्च हर्मोनल एक्टिभिटीले हो कि? जे सुकैले होस, मन परेपछि सकिहाल्यो नि।
महिनौंपछि मेरै अगाडि लाइभ मान्छे। मेरै लागि आएको। म गद्गद थिएँ। कफी बनाएर किचनको झयालबाट बाहिरको हरियाली चियाउँदै थियौँ।
‘तपाईको बारेमा भन्नुस न’ आनाको मसिनो स्वर निस्कयो।
‘के भनौँ?’
‘भएजति सबै भन्नुस। म सुनिरन्छु।’
‘तिमीले सुन्न खोजेको जस्तो मसँग केही भएन भने?’
‘जे छ त्यही सुनाउनुस्।’
‘दुख लाग्ने होकि?’
‘कदापि दुखी हुने छैन। राम्रो/नराम्रो भन्ने केही हुँदैन। त्यो त हाम्रो धारणा मात्र हो।’
‘यस्तो ठूल-ठूलो कुरा नि आउने रैछ त साना मान्छेलाई।’
‘तपाईले सोचे जतिको सानो नि हैन है।’
‘आना, आइ एम सरी। आइ एम डिभोर्स्ड। जम्मा पाँच महिना मात्र हामीसँगै रहन सक्यौँ।’
‘किन त्यस्तो भयो?’
‘ब्याड कर्मा। हामी एकअर्कासँग सहज हुनै सकेनौँ। प्रयास नभएको पनि हैन। सफल भएनौँ। जीवन या मृत्युको भूमध्ये रेखामा थेचारियौं। जीवन रोज्यौं। अलग हुने निर्णय गरेर।’
‘टेक इट इजी। जीवनमा अक्सर असफलताले नै महत्वपूर्ण पाठ सिकाएको हुन्छ। बितेको कुरा बिती नै सक्यो। अब भोलिको लागि सोच्नु पर्छ।’
कति सम्झदार छे आना। डिभोर्सको टयागले धेरै ठाउँमा अपमान भोग्नु पर्छ। अगाडि केही नभने पनि पछाडि खुचिङ गर्नेको कमी हुँदैन। मृत्युमा अनेक गुणगानका शब्दजाल बुनी श्रदान्जली दिनेहरुको भिड लाग्छ। बाच्न हौसाला दिने एका दुई मात्र। के मानिसले, मानिसहरुको प्रेम पाउन मर्नै पर्ने हो?
प्रेम प्रस्ताव त राखेनौँ तर हामी एकदमै नजिकियौँ। प्रस्ताव बिनै प्रेमको सुरुआत भयो। आउने जाने भइरह्यो। शुक्रबारे साँझहरुमा। आना रक्सी पिउन, अंग्रेजीमा कुरा गर्न र नाच्न खुब सौखिन छे। म पनि खुब रमाएको छु उस्को संगतमा।
ऊ मलाई अर्थशास्त्र र व्यस्थापनका जिज्ञासाहरु समेत सोधिरहन्छे बेलाबेला। म थाहा भएसम्मको बताउने प्रयास गर्छु।
कोभिडको असरले बजारमा कामका अवसर खुम्चने र काम नपाइने चिन्ताले आनालाई सताएको छ। म भने ढुक्क छु। मेरै आम्दानीले मात्रै पनि सामान्य जीवन बाच्न सकिन्छ भनेर।
उसलाई मनाउने थोरै थोरै प्रयास गर्छु। तर ऊ मर्ने बेलामा सामान्य मानिस जस्तो नमर्ने रे। उच्च पदमा आशिन भएरै छाड्ने रे। महत्वकांक्षी छे रे। दिमागमा कुरा खुब खेल्छ रे। राम्ररी निदाउन पनि सक्दिन रे।
हाम्रो बीचमा धेरै फरकहरु छन्। तर पनि हामी सँगै छौँ। कम्तीमा म ऊसँग छु। म उनलाई निराश बनाउन पनि चाहान्नँ। नत्र मलाई प्रष्ट छ, भएभरको जीवन उर्जा गाँस, बास र कपासकै जोहोमा लगाउने मानिस असाधारण जीवन बाच्नै सक्दैन भनेर। पद र प्रतिष्ठाको आशक्तिले जीवनको असीमिततालाई खुमच्याउँछ। म उसैले जीवन बुझोस सोच्छु। मेरो मान्यता थोपार्न चाहान्नँ।
आना पिउँदा पिउँदै रुन्छे पनि। जेबिएल स्पिकरमा 'तेरी कुर्ती सेक्सी' जस्ता गीत बजाएर खुब नाच्छे। उसको नृत्यकलाको म प्रसंशक हुँ। टिकटकमा धेरै भ्युज छ रे। मलाई टिकटकमा त्यती चासो छैन।
म बसेर हेरिदिनुपर्छ उस्को नाच। उसका केटा साथीहरुले खुब तारिफ गर्छन् रे उसको जिउडालको। खासगरी उसको हिप र स्तनको। तपाई त खै केही भन्नु हुन्न भन्छे। उसलाई आफ्नो शरीरप्रति एकदमै गर्व छ रे।
म उसलाई भन्न चाहान्छु। राम्रो शरीर हुनु राम्रै कुरा हो। अझै राम्रो त शान्त मन र शान्त चित्त हुनु हो। बल्लै जीवनको पूर्णता अनुभव हुन्छ। शरीर मात्रै भयो तर जीवन भएन भने? शरीर बिनाको जीवन सम्भव छ। जीवन नभएको शरीर फगत मांसपिण्ड हो।
कसैलाई सोही मांसपिण्डमा आशक्ति होला। मलाई पूरै जीवनसँग। शरीर जीवन बुझ्नलाई उपयोगी साधन हो। जीवन सारा श्रृष्टि बुझ्न साध्य हो। तर म उसको मन दुखाउन चाहान्नँ। मलाई लाग्छ समयसँगै उसले सुन्दर शरीर र सुत्नै नदिने दिमाग बीचको तालमेल पहिल्याउने छे।
आनाको एक सार्वजनिक निकायको लिखितमा नाम निस्कयो। ऊ खुब खुसी भई। मलाई पनि रमाइलो लाग्यो। त्यसपछिको चरणमा पनि मैले सकेको सहयोग गरेँ। उसको भाग्य र मेहनतको फलस्वरुप महिला कोटाको अन्तिममा भए पनि नाम निस्कयो।
काठमाडौँ नजिकैको जिल्लामा पहिलो पोष्टिङ भयो। मलाई टाढा हुनु परेकोमा थोरै चिन्ता पनि लाग्यो। जीवन निर्वाहको बाटो प्राप्त भएकोमा बेग्लै सन्तुष्टि पनि। नजिकै भएकाले आउने जाने चलिरह्यो।
उसले काठमाडौँ छाडेको छ महिना पुग्न लागेछ। 'अफिसमा सरुवाको लागि भन्दै गर्नुस् ल’ भनी। ऊ काम गर्ने अफिसको प्रमुखसँग मेरो अलिअलि चिनजान भएको भएर।
‘त्यो त ठिकै छ। मलाई एक्लै पनि अलि असहज भएको छ। तिमी पनि अब किन अरुसँग बस्नु? अब यता आएपछि सँगै बस्ने है? तिम्रो अफिसमा कुरा गर्न पनि सजिलो हुन्छ मलाई। बरु तिम्रो घरमा कसरी कुरा गर्ने हो विचार गरेर भन न ल।’
आना यो कुराले खुब उत्साहित हुन्छे होला भन्ने लाग्यो।
आना अक्मकाई। ‘अहिले नै विवाह गर्ने र? भर्खर भर्खर त काम सुरु गरेको। बुबा आमालाई आशा पनि होला केही।’
‘त्यसमा चिन्ता गर्नु पर्दैन। बुबा-आमा हामीसँगै बस्न मान्नु भयो भने झनै राम्रो हुन्छ। हैन, उतै घर तिर बस्ने भए बैंकबाट कर्जा लिएर भएनि आवश्यक पैसा पठाइदिउँला। हामी विस्तारै तिरौँला नि।’
आनाले अप्ठ्यारो माने जस्तो गरी।
‘ठिकै छ, केही दिन सोच न त। अनि जे हुन्छ त्यही गरौँला। तिम्रो अन्य कुनै योजना छ भने पनि भन। अझै केही समय सम्बन्धमै बस्ने मनसाय हो भने नि भन न।’
एक महिनापछि म्यासेन्जरमा उसको म्यासेजको घण्टी बज्यो।
‘डियर सम्यक,
म कुनै प्रकारको सम्बन्धमा बस्ने खालको पनि होइन। थाहा छैन तपाईसँग कसरी सम्बन्धमा पुगेँ। तपाई एकदमै राम्रो मान्छे हुनुहुन्छ। तपाईले मभन्दा राम्रो जीवनसाथी पाउनु हुनेछ। अब हामी साथीको रुपमा मात्रै रहनेछौँ। बाँकी जीवनको लागि सुभकामना।
-आना।’
डियर आना,
तिमीसँग बिताएका रमाइला पलहरुको लागि धन्यवाद।
म केही दिन निदाउन सक्ने छैन। मेरो शुभकामना तिमी आवश्यक परेको बेला निदाउन सक्नू।
केही दिन मेरो शरीर र जीवनसँगको दूरी बढ्ने छ। मेरो शुभकामना तिम्रो जीवनसँगको निकटता बढ्दै जाओस्।
मेरो मस्तिष्कमा खुब कुराहरु खेल्नेछन्। मेरो शुभकामना तिमी शान्त तलाउ झैँ रहनू।
दुख व्यक्त गर्न रोएको छु। मेरो शुभकामना, तिमी पिउँदा पनि नरुनू।
तिमीले लेखेको, 'तपाई एकदमै राम्रो मान्छे हुनुहुन्छ' मेरो लागि श्रद्धाञ्लीका शब्द बराबर हुन्।
तिमीले अहिलेको मलाई अब कहिल्यै पाउने छैनौ।
म सिद्धार्थ गौतमबाट गौतम बुद्ध प्रस्फुटित भएको पढेको मान्छे। मलाई थाहा छ, बुद्धहरु माग्दैनन बरु प्रेम र करुणा प्राणी जातिको हितमा बाड्छन्। प्रेमको भवसागरमा तैरिन्छन।
म बाँकी अवसरलाई गुमाउन चाहान्नँ। सीमित पहिचान र साघुँरो चित्त बोकेको सम्यकलाई अन्तिम बिदाइ गर्दै सम्यक समबुद्धको बिविट यात्रामा समाहित हुन अथक प्रयास गर्नेछु। म साधारण जीवन भित्र असाधारण सम्भावना खोज्नेछु। बोधका लागि धन्यवाद।