सेतो पहिरन पहिरेका केही मानिसहरु आउने छन्
बेर्ने छन् तिमीलाई पनि सेतै प्लास्टिकको कपडाले
उठाउने छन्, हाल्ने छन् गाडीमा
हुने छैनन् कोही तिमीसँग
बजाइने छैनन् कुनै बाजाहरु
चढाइने छैनन् कुनै फूलमालाहरु
गरिने छैनन् कुनै क्रियाहरु
केबल लाने छन् आर्यघाट तिर
हेर त जहाँ तिमी जस्तै धेरै पहिलै पुगिसकेका छन्
तिमीलाई राख्न ठाउँ नै छैन
राखिने छ खुला चौरमै
र जलाइने छ त्यही।
तर मलाई तिम्रो मलामी जाने रहर छ
म जस्तै धेरैको रहर छ
एक हुल मानिसको ताती लगाउनु पर्छ
कोही शोकमा हुन्, कोही सान्त्वना दिँदै हुन्
बजाउने हो शोकका बाजाहरु
आओस् श्रद्धान्जलीको ओहिरो
तिम्रा आफ्नैले दागबत्ती दिन पाउन्
र यसको लागि अहिले
हामी सुरक्षित बस्न जरुरी छ।
हो, हामीले चीनको दुर्दशा देखेउँ
पूरै युरोप र अमेरिकाको चित्कार पनि सुनेउँ
अहिले त्यस्तै नियति हामी भोग्दै छौँ
यहाँ महामारीबीच चल्दै छ
राजनैतिक खिचातानी, चलखेल,
मनपरी र व्यापार
तर पनि,
हामी संयमित हुनै पर्छ
छाडेर लापरबाही, अंगाल्दै सावधानी
जित्नु छ मृत्युलाई, जित्नु छ समयलाई
बाँच्नु छ आफ्नै सामर्थ्यले
रम्नु छ संग-संगै
अनि हुनु छ जिउँदाको जन्ती र मर्दाको मलामी।