यतिबेला जग्जगी छ
मृत्युको हुङ्कारको
आउँछ,बिना हिच्किचाहट र
यसो दुई चार दिन बिरालोले
मुसो खेलाए झैं खेलाउँछ
अशान्ति फैलाई दिन्छ
अनि पीडाको घनले बेस्सरी ठोक्छ
र,विस्मृतिको बादलमा
बिलिन गराई दिन्छ
यी निस्साहाय मान्छेहरुलाई।
उफ!यो कस्तो कहालीलाग्दो
मृत्यु आतंक हो ?
न यस्ले मान्छेको गुण चिन्यो
न कसैको उदेश्यको महत्व राख्यो
बस् एउटा नमिठो बाहाना बनाएर
अल्पायुमै चुँडेर लान पनि
उद्वत बन्यो
संसार आक्रान्त छ,
गला अवरुद्ध बनेका छन् सबका
न यस्ले मान्छेको साईनो बुझ्यो
न त मान्छेको जिजीबिषाको
अर्थ सोंच्यो
बस् आयो टप्प टिप्यो लग्यो
निसन्देह,निसंकोच।
जताततै धुवाँको मुस्लो उडिरहेछ नभमा
लाशहरु चिताभरी लमतन्न छन्
कठै! बाँच्ने अभीप्शाको टुक्रा बोकेका
संघर्षरत ती मनहरु
आखिरमा छट्पटिमा पलायन हुन बाध्य छन्
जिउँछु भन्ने आशा हुँदै हुँदै
सुटुक्क आउँछ मृत्युको कालो छायाँ
र लैजान्छ निष्ठुर बनेर।
हरे !कस्तो निर्दयी समय यो ?
मृत्यु पनि यतिबिघ्न कठोर बन्छ भन्ने
कस्ले सोंचेको थ्यो ?
धर्ती मौनतामा सुंक्सुकाई रहेछ
नीरवताले मान्छेको मन
लाट्टिए झैं छ ,
आफ्नो जीवन ढल्पल तराजुमा राखेर
भोलीको पल हुँला,नहुँला
यस्तै दोधारे मनमा एकमुठी सास
कैद गर्ने प्रयासमा छ
रोकेर मुटुको स्पन्दनलाई
आयुको भिक्षा माँग्न मान्छेहरु
लालायित छन् मृत्युको हुङ्कारसँग ।