जीवनमा
असफलताहरू आए
पीडा र निराशाहरू दिएर गए,
जीवनको गति ठप्प रोकिएलाजस्तो भयो।
पछि बिस्तारै सम्हालिएर चल्न थालेँ।
असफलता र निराशा सम्झिएर
खिसिक्क हाँसें र धन्यवाद भने असफलतालाई
जसले मलाई मेरा सीमितताबारे थाहा दिएर गयो।
हिउँदका कठ्याङ्ग्रिँदा दिनहरू जस्ता चिसा दुःखहरू आए,
जीवनलाई नराम्रोसँग हल्लाएर गए
एकछिन कापेँ
झण्डै लड्न खोजेर सम्हालिएँ।
ती दुःखलाई मुस्कुराएर धन्यवाद भने
उसले मेरो उभिने तागत मलाई नै बताएर गयो।
दुर्घटनाहरू आए,
दुःख र विषादहरू थोपरेर गए
मैले साथीभाई सम्झिएँ, आफन्तहरू पुकारेँ
कतिले हात बढाए, कतिले मुन्टो फर्काएर गए
दुर्घटनालाई सम्झिएर मुस्कुराएँ र धन्यवाद भने
उसले मेरा आफ्ना र पराइ चिनाएर गयो।
महामारी आएको छ,
निरिह मान्छे अस्पतालको अभावमा मृत्यु कुरी रहेछन्
स्रोत-साधनको अभावमा स्वास्थ्यकर्मीहरू हतास छन्
मृत्युको त्रास, भोक र शोकले मान्छे कायल भएको छ।
र ठिक यतिबेला
बिचौलिया र सत्तासीनहरूको ढुकुटी उज्यालिएका छन्
जनताका नाममा राजनीति गर्नेको बोली बन्द भएको छ,
जिम्मेवारीका सरकारी हातहरू इच्छाशक्तिको अभावमा बाँधिएका छन्।
तर शोषणका नङ्ग्राहरू झनै तिखा र लामा हुँदै गएका छन्।
निर्लज्ज शासकहरू उत्ताउलिएका छन्,
र, म अहिले महामारी सम्झेर रुन्चे हाँसो हाँसिरहेको छु
कमसेकम यसले
मान्छेको पहिचान गुमाएका सत्ताको छिना-झपटीमा लिप्त नेताहरू,
र राष्ट्रिय पोशाक भित्रको नांगो सरकारलाई
सबैसामु उदांगो बनाइदिएको छ।