माछिखोलाबाट छेकुम २ दिने खच्चरको बाटो। जुम्लामा सडक पुगेपछि जुम्लाको सबै खच्चड यतै गोरखा आई मरेछन्।
खच्चड कम हुँदा त कमाई राम्रै थियो। साहुहरु आफै आँउथे फकाउन। किन नआउन् पनि! यातायातको विकल्प धनीको लागि हेली थियो, गरिबको लागी त्यही खच्चर।
माछिखोलामा खच्चर ड्राइभर निकै सम्मानित पेशा थियो। 'कि छोरी ड्राइभरलाई कि छोरी हेलीलाई' भन्ने निकै प्रचलित भनाइ माछिखोलामा थियो।
भक्ते ड्राइभर पेशाबाट सन्तुष्ट थियो। उसमा त्यो बाहेक अर्को सीप पनि थिएन।
तर आज बिहान के भयो! भक्ते उठ्यो, जुल्को लड्कायो अनि आमालाई भन्यो 'मगासी म नि पोखरा जाने।'
आमाले के नै भन्न सक्ने अवस्था थियो र? सानिआमा जो परिन्।
'के भयो जेठा, आज एक्कासी पोखरा जाने कुरा गरिस्?'
आमालाई थाहा थियो भक्तेको जिद्धिपना। नबोली नबोली जाने स्वीकृति दिइन्।
भक्तेको पोखरा जाने अरु कुनै स्वार्थ थिएन। अस्ति बाह्रकिलो जाँदा बाटामा भेटेको बेलायती सुबेदार मेजरको कुराले उसको मनमा बेलायती खच्चडको भूत चढिसकेको थियो।
यसरी गोरखाको गुरुङको छोरा बेलायती भूतको सपना पूरा गर्न पोख्रेली गुरुङको धर्म छोरा हुन पुग्यो।
विचरा भक्तेलाई थाहा थिएन लाहुरे बुबाको भित्री स्वार्थ। लाहुरेको पनि बिना कुनै पारिश्रमिक घर कुराउने दाउ मात्र थियो।
भक्ते लाहुरे बाबुको घरको दैनिकी छोरा झैँ गर्थ्यो। लाहुरे बाजे पनि २/३ वर्षमा परिवार सहित सिकलेस आउने गर्थे। छोडी जान्थे बेलायती बचे खुचेको रक्सी र जड्यौरी कपडा।
बेलायती जड्यौरीले भक्ते पनि झिल्के देखिन्थ्यो। यत्तिकैमा आफू ३८ वर्ष भएपनि २२ वर्ष सिल्दुजुरेको नान्सी भगाइ विवाह गर्यो।
नान्सीसँगको सम्बन्ध निकै समुधुर थियो। वर्षौटे छोराछोरी ६ र ७ वर्षका भएका थिए। एक्कासी दाहिने कोखा सहनै नसकिने गरी दुख्यो। गाउँपालिकाको एम्बुलेन्समा लगियो मणिपाल मेडिकल कलेज।
ऐपेन्डिक्स पो भएछ, मेसिनले गरेको अप्रेसन ६८ हजार खर्च लाग्यो। ३ महिनापछि बस्यो खाटमा। चिलकै बैँस सम्झिने गरी युवा सम्झियो, पुरानै शैलीमा फर्कियो काममा।
मन तन्नेरी भए पनि बल भने बुढेसकालले छुन थालिसकेको थियो। ७ वर्षकी जेठी छोरी कक्षा ३ र ६ वर्षको कान्छा छोरा कक्षा २ मा पढ्दै थिए।
सिकलेशको पाखो डाँडो, खेती हुने केही ठाउँ थिएन। टुरिस्ट नआए कमाइ प्रायः शून्य नै थियो। अरुले गरेको सापटी र सहयोगले कति दिन पो टार्न सकिन्छ र?
आज बाटाको काम सकियो, बुढाको जोश देखेर ठेकदारले आजको ज्याला पनि दियो। भक्ते हात समाइ खुसी हुँदै ५०० र १०० नोट लिएर घर फर्कियो।
नान्सीले कौसीबाट बुढेसकालको माया ओठमा दर्साई। भक्ते पनि त्यही लयमा मुसुक मुस्काइदियो। छोरा र छोरा पनि दौडिँदै आए बाबाबाट ठूलो आश लिएर।
थमाइदियो ५०० को नोट। नान्सीले पनि राखी मुस्कान छर्दै पटुकीको तुनामा। १०० को च्यातिन लागेको नोट इष्टकोटको भित्रपट्टिको गोजीमा १० फन्को बेरेर राख्यो।
सामान्य दैनिकी चलिरहेको अवस्थामा अचानक दाहिने कोखा कुनै घनले हानेजस्तो भलक भलक गर्यो। अचानक के भयो, भक्तेको मनमा च्वाँस्स पस्यो। दुखाइको बेदना सहन सकिने थिएन।
नान्सीलाई बोलायो। भन्यो 'मलाई तातो पानी र बेसार ल्याइदेऊ, आझ ग्यास्ट्रिक बढेछ क्यारे।'
भक्तेलाई थाहा थियो, आज बाटाको काममा ठूला- ठूला ढुंगा उचाल्दा ४ महिना अगाडिको अप्रेसनको घाउ बल्झिएछ क्यारे। अब त्यो ६८ हजार कताबाट लिएर आउनु।
गरिबीको रेखा, गोठाले जीवन, भक्तेको रुखको छहारी ठूलो थियो तर के गर्नु! त्यो रुखको छहारीमा १२ सूर्य उदाएर शितल भने कतै थिएन। चारैतिर च्वाँस्स पोल्ने घाम मात्र।
वनको बाघले नखाए पनि मनको बाघले खाने अवस्था निकै डरलाग्दो हुँदो रहेछ। भक्तेको मनमा पनि मनको बाघले चारैतिरबाट घेरिसकेको थियो।
बुढीले ल्याएको बेसार पानी कनि कनि खायो, छोराछोरीलाई अंगालोमा बाँधेर इष्टकोटको खोल्तीमा बेरी राखेको १०० को नोट निकालेर भन्यो 'तिमी ६० लिनू, भाइलाई ४० दिनू।'
नान्सीले भनी 'के भयो बुढो हजुरलाई, यिनीहरुलाई यत्रो पैसा किन दिनु पर्यो?'
भक्ते फेरि बनावटी हाँसो मुखमा छर्दै भन्यो 'सम्पत्ति भनेकै यिनै हुन् हाम्रा।'
नान्सी केही पनि बोलिन। छोराछोरी मख्ख पर्दै १०० को बेरिएको नोटलाई १०/१२ पल्ट हेरिसकेपछि बार्दली मुनिको खाटमा सुत्न गए।
भक्तेको दाहिने कोखाको दुखाइको कुरा नान्सीलाई बताउने मन नहुँदा नहुँदै दुखाइ रोक्न सकेन। भन्यो- 'नान्सी, मेरो दुखाइ बढ्दो छ। फेरि पुरानो एपेन्डिस्क बल्झिएछ क्यारे!'
नान्सीको मनमा पनि चसक्क पर्यो। अचानक नान्सीको अनुहारमा रहेको हाँसोमा कालो बादल लाग्यो। मन बिझायो। बिझायो त केवल गरिबी बिझायो। त्यही ६८ हजार बिझ्यो। अरु त के नै थियो र?
भक्तेले क्रमशः दुखाइ कम भएको बतायो।
तर नान्सीको मुहारको अमिलोपना भने हटेको थिएन। बुढेसकालको माया भएर पो होकि, प्रष्ट ११ बजेसम्म धन्सारपट्टिको बत्ती बलिरहेको हुन्थ्यो। गुनगुन आवाज सुनिने गरेर बाटामा आइरहेको हुन्थ्यो।
गाउँको बसाइ ६/७ बजे खाना खाई ८ बजे सुत्ने थियो। त्यहाँ भक्त गुरुङको मात्रै ११ बजे बत्ती निभाउने एक्लो घर थियो।
त्यो दिनको गफ १२ बजेसम्म होइन, २ बजिसकेको थियो।
छिमेकी घनश्याम दाइ र भाउजू पिसाब फेर्न १२ बजेतिर उठेका थिए। कल्पना भाउजूले भनिन्- ‘बुढो, आज भक्तेको घरमा बत्ती निभाउन बिर्सिएछन् कि क्या हो!’
घनश्याम दाइले भने 'यो बुढेसकालको माया, माया गर्दै होला नि बुढी। किन बिर्सन्थे? हिड् सुत्न।'
गाउँलेलाई नौलो कुरा थिएन। भक्तेको घरमा १२/१ बजे बत्ती बल्ने कुरा। यता नान्सी र भक्तेको माया साँच्चीकै बढ्दै थियो।
गरिबीले उनीहरुको मायालाई पनि खुसी पार्न नसकेको भनेर आँखाभरि आँसु बनाई नान्सीलाई भन्यो। नान्सीलाई पनि माया उर्लेर आयो। आफू जिन्दगीको पूर्ण सन्तुष्टिमा रहेको कुरा व्यक्त गरी।
यसरी दुख-सुखको कुरा गर्दै थिए। भक्तेले नान्सीलाई सिल्दुरेको माइली फुपूलाई एपेन्डिक्सको अप्रेशन गर्दाको २५ हजार तिर्न बाँकी नै रहेको बतायो।
'मागेको भाका पनि कट्यो, कमाइ हप्ताको दुई दिन काम त्यो पनि ६०० मात्र। के गर्ने त्यतिले! यता गरू, उता पुग्दैन, उता गरे यता पुग्दैन।'
नान्सीले अब आफू पनि काममा जाने अनुमति मागी तर त्यसले भक्तेको मनमा झन् दुखाइको चोट बढ्न पुग्यो।
यसरी ऋणले डुबेको जीवन र फेरि पनि दुखाइको कुरा गर्दै भक्ते र नान्सी दुवै सुत्न लागे। २ बजेसम्मको अनिदोले नान्सी भक्तेको तातो शरीरमै भुसुक्कै निदाइहाली तर भक्ते निदाउन नसकी मनमा कुरा खेलाउन थाल्यो।
भक्तेले मनमा ६ महिना अगाडिको अप्रेशनको खर्च सम्झियो। सम्झिन थाल्यो २५ हजार ऋण, तरुनी श्रीमती। सम्झिन थाल्यो ती ६/७ वर्षे छोराछोरी।
यसरी मनमा कुरा खेलाउँदै थियो, उसको आखाँबाट खोला कसरी बग्यो उसैलाई थाहा भएन। आँसु पुछ्यो, एक ओम्खरा पानी खायो। अर्को तर्फ दुखाइ पनि कहाँ कमी भएको थियो र! झन् पो बढ्दो थियो।
भक्ते पिसाब फेर्न बाहिर निस्कियो। बार्दलीमा राखेको नाम्लोको बरियो जुनको उज्यालोले टहटह टल्किरहेको थियो। मनमा के उब्जियो, के सम्झियो पत्तै भएन। ट्याप्प टिप्यो बरियो र सरासर लाग्यो सुबेदारको तल्लो पाथीगह्रा तर्फ।
बडहरको ढाड भाचिएको रुखमुनि पुगेपछि घर तर्फ फर्की हेर्यो र आफूलाई निकै कठोर बनाई त्यही बरियोको सुर्केनी गाठो बनाई आफ्नो जीवनलाई तिलान्जली दियो।
यसरी भक्ते गुरुङ आफू ३७ वर्ष हुँदा २२ वर्षे श्रमतीसँग खाएको कसमलाई २५ हजारको ऋणसँग बन्धकी राखी आफ्नी श्रीमती, छोराछोरी, सिकलेसको मायालु बस्ती र स्वार्थी लाहुरे धर्म बाउबाट सधैँको लागि बिदा भयो।
(लेखक प्रहरी निरीक्षक हुन्।)