बदली छाएको यो मन
मुस्कुराउन प्रयासरत ओठ
बग्न नसकेर जाम यी आँसु
तिम्रो आगमन पछि
बिलकुलै विपरीत लाग्छन् होला है
पालुवाका लहर
तिम्रो स्पर्शको सुगन्ध
अब त सकुशल चल्छ होला
यो ढुकढुकीको गति
अत्यन्तै प्रेममय पल
प्रेमिल अनुभूति
तिमी सँगै नियाल्न पाए
पूर्ण देखिन्छन् होला
कौसीमा एक्लै बसेर नियाल्दा
आधा मात्रै देखिने
मधुरा हिमालका लहर
खाँदाखाँदैका आधा गाँस
हाँस्द हाँस्दै बाँकी केही थान मुस्कान
आधा लाग्ने जति सबै सबै
भोगाइ, आवेग
अनि चाहनाहरू !
अर्गानिक
जीवनमय सुस्केरा
पवित्र
तिम्रो न्यानो अंगालोको अनुभव
त्यो पर्खाइको प्यास
इन्द्रेणी जस्तो
मुस्कान बोकेर
तिमी आयौं भने
कसो पूर्ण नहोलान्
यी अपूर्णता
आकाश जस्तो प्रतीक्षा पछि
सँगै
हेर्न मन छ जुन उदाएको आकाश
मेटाउन मन छ
यी सारा रिक्तताहरू
प्रिय! मान्छे
छिचोल्नु त छँदैछ नि प्रतिरोध
उघार्न प्रेमको अभिप्राय
दिलाउन मन छ दृढ
विश्वासको न्यानो स्पर्श
खोल्न मन छ अहिले सम्मकै
सुन्दर रहस्य
अनि भन्न मन छ तिमीले मात्रै
बुझ्ने गरी
अब कहिल्यै छाडेर नजानु है।