हजुरको कुर्चीको लडाइँ
मेरो जन्म मृत्युको लडाइँ
आमालाई अस्पतालको शय्या नपाएर
छट्पटाइरहेको बेला
एक सर्को सास पनि
सिलिन्डरबाट फर्नु पर्न्रे
यो आपतकालको बेला
भर्खरै ४५ वर्ष पुग्दै गरेकी
मेरी दिदीको
पुछिएको सिउदोको रङ
हजुरको विजय उत्सवमा
लगाइएको सिम्रिकको रङ
कसरी एउटै हुन सक्ला?
समवेदना शून्य
हजुरलाई अस्पताल
नपाएर कहिले छ्ट्पटाउन
परेन
अस्पतालको ढोका चाहर्दा
चाहर्दै हजुरको कोही
आफन्त मरेन?
हजुरहरुलाई कुर्ची चाहिन्छ
हामीलाई अहिले
प्राण धान्न अस्पताल
चाहिएको छ
अक्सिजन चाहिएको छ
साम, दाम, दण्ड, भेद
केही नजानेकी म
एक सर्को सास बचाउन
बाबाको, आमाको
भाइको, दिदीको
कहिले यता कहिले उता
न आफ्ना न आफन्त
यो महामारी र
यो बिलखबन्दको बेलामा
आफै समालिन सकिनँ भने
कस्ले भन्ला र कठै?
हामी भुइँमान्छेलाई
हामी सर्वहारा श्रमिकलाई
मेरै काँध चढेर
हजुर सत्तामा पुग्नु भो
हजुरको कायापलट भो
यो हाम्रो मृत्यु
हजुरको विजयोत्सव बनेको बेला
हजुर नै मर्जी होस्
मलाई बधाई दिन मन छैन होला र?