म नेपोलियन रहिनँ। कस्ले दिन्छ हराएको म आफूलाई?
आफू हराएको डर आफैसँग थियो। ३ वर्षको अन्तरजातीय प्रेम, म बाहुन अनि उनी क्षेत्री। उनीसँगको प्रेम सम्बन्ध, बिछोडपछिको पीडा अनि फेरि नयाँ प्रेमसँगैको मिठो आभास सँगै थिए।
फोन कराउँछ- 'कहाँ हुनुहुन्छ?’
उतर दिन्छु - ‘घरमै छु।’
'आज बाहिर निस्किन पाउछु ,भेटौँ है?’
‘हुन्छ! भेटौँ न’ जवाफ दिएँ। केही खुसीको आभास भयो।
समय तय भयो बेलुका ४ बजे, वलिभ क्याफे एयरपोर्ट मोड, बिराटनगर।
यस अगावै ३ वर्षको प्रेम गुमाएर फेरि नयाँ प्रेम सम्बन्धमा बाधिन नयाँ मुहार हेर्न जाँदै थिएँ। केही खुसी नै थिएँ तर अगुल्टोले लागेको कुकुरको तर्साइ झैँ तर्साई कायम नै थियो।
म पुग्नुभन्दा पहिल्यै ऊ आइसकेकी रहिछन्। क्याफेको पछाडिपट्टि भएको अलिक छेलिने सिंगल क्याबिनमा आम्ने साम्ने भएर बस्यौं।
अलिक होची, अनुहार गोलो, ठूला आँखा भएकी, लहर मिलेका दात, हट्टकट्टा उनी। फोटोमा मात्र देखादेख भएको थियो। मेरो नजरले उनको त्यो सुन्दरता कैद गर्दै गफ चल्दै गयो।
फेसबुकमा धेरै माया प्रेमको गफ भएको थियो। खासै अप्ठ्यारो लागेन। उनीसँगको त्यो गफमा लाग्यो कि ती कोमल ओठ जुठो बनाएर आफ्नो बनाइहालु, अलिक खुला भएकोले आँट गरिनँ।
उनमा पनि भेट भएकोमा खुसी महशुस गरिरहेको थिएँ र आफू पनि खुसी थिएँ।
केही खाउँ भनी उनकै प्रस्तावमा बियर र केही अरु खानेकुरा मगाएँ। आफ्नो झोलाबाट सूर्य चुरोट निकालिन् र खाने प्रस्ताव राखिन्।
'नाइँ' भनेँ।
सल्काइन् र एक सर्को तानिन्। धुवाँ माथि उडाइन्। फेसबुक च्याटमा भनेकी थिइन् तर पत्यार लागेको थिएन।
उनी- ‘अप्ठ्यारो नमान्नु है।’
गफ हुँदा जिस्केकी होलि भनेर ‘हुन्छ खाऊ न’ भन्ने गफ भएको थियो। आप्ठ्यारो लाग्यो भन्न सकिनँ। ‘हुन्छ’ भनिदिएँ।
'संगत र पढाइको पाटोले नशामा डुबायो' फेरि एक पफ तान्दै उडाइन्। उनकै गफमा म पनि बियरको चुस्की लगाउँदै गफ सुनिरहेको थिएँ।
‘मेरो मेडिकल लाइन, साथीहरु त गाजा नि खान्छ्न। धन्न म चुरोट मात्र’ मुसुक्क हाँसिन्।
म यस्तै यस्तै उनको फ्र्यांकनेसले मोहित भएको थिएँ। एकदम बोल्ड भनौँ कि स्टाइलिस भनौँ, उनको लगाइ अनि बसाइले चुरोट तान्दा एकदमै सुहाएको थियो।
पहिलो प्रेमिकासँग यही ठाउँमा जुनी काट्ने कसम खाँदै बियरको बानी लगाएकी थिई। अलिक करियर कन्सर्न थिइन। सधैँ रमाइलो गर्दै जीवन बिताउन चाहन्थी। आधुनिक थिई, चिनोमा यही बियर पिउन सिकाएर नशा छाडेर गई।
अहिलेकी अलिक करियर कन्सर्न भएकोले झन् प्रेम बढ्दै गयो। भन्ने गर्थी 'जुनी जुनी तपाईकै हुन पाउँ नत्र कालले लैजाओस्।' खुब माया गर्दै गई। सानो घर, दुई सन्तान, आफ्नै गाडी अनि खुसीको जीवनयापन चाहन्थी।
राम्रै चल्दै थियो। १ वर्ष नपुग्दै एक दिन ‘आई एम सरी’ भन्दै बिहेको निम्तो पठाई। मोरीले प्रेम गर्ने बेला आँखा नदेख्ने गरी प्रेम गरी अनि मलाई पनि अन्धो बनाई।
छाँगाबाट खसे जस्तो भयो। धेरै गुहार गरेँ, रोइ-कराइ गरेँ, गल्ती खोजेँ। यति गिरेर कहिले प्रेमको भिख मागेको थिइनँ मैले।
अन्त्यमा के भयो! मेरो सिंगल स्वस्थ मुटुलाई फुटाएर गई। यस्तो भयो कि मेरो प्रेम जीवन- जोसँग जात मिल्यो त्योसँग मन मिलेन, जोसँग मन मिल्यो त्योसँग जात मिलेन।
यो मन पनि कस्तो हो! आँखा फुट्ने गरी हान्न पर्नेलाई आफ्नै आँखा फुटुन्जेल हेर्न मन पर्ने। पछि थाहा पाएँ उस्ले मान्छेसँग हैन, पिआरसँग बिहे गरिछ।
उसकै बाउले बाहुन पिआरवालासँग पठाएछ्न्। मेरो त्यो प्रेमको भिख कहाँ बुझ्थी, र फेरि प्रेममा असफलता रहेँ।