उसै त गरिबहरुलाई पाहुना आउनु र ८ रेक्टर स्केलको भुइँचालो आउनु उस्तै उस्तै थियो। झन् त्यसमाथि दिनभर काम गरेर मात्रै छाक टार्नेहरुलाई त महामारी आए सरह नै हुन्थ्यो।
यस्तै यस्तै केही कहानी छ घले गाउँको। हाम्रो प्यारो पात्र रामेको। निकै मिलनसार, मेहनती र सरल स्वभावको रामे गाउँकै एक किनारमा एउटा सानो झुपडी बनाएर वर्षौंदेखि बस्दै आइरहेको थियो।
ल अब पढम् है त हाम्रो प्यारो रामे र उस्को पाहुनाको कहानी।
दिनभरि खाई-नखाई काम गरेर दुई छाक खान पाइन्छ भन्ने कुरामा बल्ल तल्ल ढुक्क भइन्थ्यो रामे। फेरि कस्ले पो गाउँमा पाहुना बसाउने चलन लगाइदिएछ। अब त ती पाहुनाभन्दा पनि बाढी पहिरो नै आए झैँ पो भयो।
ल ठिकै छ, एक छाक नखाएर दिन बिताम्ला भनेर बिहानभरि आधा काम मात्र गरेर दिउँसो छिट्टै घर फर्किने गर्थ्यो रामे। जसरी त्यसरी दिन, हप्ता, महिना बित्दै गए।
एकदिनको कुरा हो, एकाबिहानै घाम नउदाउँदै आफ्नो काममा हिँड्न लागेको बेला पर पर कोही आउँदै गरेको रामेले देखेछ। ऊ हतार-हतार गर्दै फेरि आफ्नो घर भित्र पस्छ।
उस्लाई मनमा अत्यन्तै डर लाग्न थाल्यो र मनमनै सोच्न थाल्यो, 'कतै यो आउँदै गरेको मान्छे मेरै घरमा पाहुना बस्न पो आएको हैन!'
डरै डरले केही समय ढोका बन्द गरेर बिस्तारामा पल्टिन के पुगेको थियो नभन्दै उसले बाहिरबाट ढोका ढकढक्याएको आवाज सुन्न पुग्छ। फेरि उस्को मनको डर झन्-झन- बढ्दै गई चरम सीमामा पुगिसकेको थियो।
अब उस्लाई आफ्नो एक छाक कसरी जोहो गर्ने भन्ने चिन्ताले पिरोल्न थाल्यो। तैपनि, 'जे होस् जस्तो होस्, पाहुना भनेका भगवानका रुप हुन्छ। जे-जति, जे-जस्तो छ खानुपर्ला' भन्दै ऊ आफ्नो मनलाई दरिलो पार्दै ढोका नजिक सर्छ।
पहिले त उसले ढोकाको प्वालबाट चियाउन पुग्छ र चिन्न नसकेपछि निकै हिम्मत गरी ढोका खोल्छ।
नभन्दै ढोकामा उभिएको मान्छेले प्रश्न गरेछन्, 'हजुर, म बास खोज्दै आएको छु। केही दिन मलाई तपाईको घरमा बास बस्न मिल्छ?'
उसै पनि गाउँमा पाहुने चलनले गर्दा छाक टार्न गाह्रो परेको थियो तैपनि रामेले मन मारेर भएपनि, 'हुन्छ, बस्न सक्नु हुन्छ' भन्न पुगेछ र उनलाई आफ्नो झुपडीमा आमन्त्रण दियो।
ती पाहुनाले भित्र पसिसकेपछि कोठाको एक कुनामा काँधमा बोकेको झोला राखे र आफू गएर बिस्तारामा लम्पसार परे। एकछिन त रामेले ढोकाबाटै ती पाहुनालाई हेरिरह्यो। थाकेकोले होला रामेका पाहुना केही बेरैमा भुसुक्कै निदाए।
त्यसपछि रामे साँझको जोहो गर्न आफ्नो काममा निस्किन्छ। बिहानभरि काम गरेर घर फर्कँदासम्म नि पाहुना सुतिरहेकै थिए। त्यसपछि साँझ रामेले खानाको चाजोपाजो मिलायो र दुइटै खाना खान भनी बसेछन्।
खाना खाइसकेपछि केही बेर आफ्ना कुराकानीमा लागेछ्न्। कुरै कुरामा थाहा भएछ कि पाहुना त कुन टाढा सहरको निकै ठूलो व्यापारी पो रहेछ र केही काम विशेषले त्यहाँ गएका रहेछन्।
केही समय कुराकानीमा बिताएर उनीहरु सुत्न भनी तम्सिए। यसैगरी केही अरु दिनहरु बित्दै गए।
तर अचानक केही दिनपछि एकाबिहानै आएका पाहुना सहर फर्किन भनी तयार हुन थाले। रामेले कर्तब्य सोचेर भनिहालेछ, 'केही दिन अरु बस्दा नि हुन्थ्यो।'
रामेको कुरा नसकुन्जेल पाहुनाले भने, 'तपाईलाई साह्रै गाह्रो रहेछ, म अझै यतै बसेर बोझ थप्न चाहदिनँ।'
यो सुनेरा रामेले मनमनै सोचिरह्यो, 'यति दिन त सहियो एक/दुई दिन कसो सहन सकिन्थेन होला!'
नभन्दै ती पाहुना सहरतिरको बाटो लागेछन्।
दिनभरि काम गरेर आएर आज त एक्लै मजाले सुत्नु पर्छ भन्दै रामे बिस्तरा मिलाउन गयो। उसले बिस्तारा टकटक्याएको मात्र थियो, बिस्ताराबाट पैसाहरु हावामा उड्दै गरेको देख्दा ऊ केही बेर असमञ्जसमा पर्यो।
ऊ सोच्न थाल्यो, 'यो पैसा कसको हो? किन यहाँ राखेछ? कसले राखेछ? कतै कसैले चोरेर ल्याएर राखेको पैसा त हैन?'
यस्तै यस्तै कयौ प्रश्न उस्को मनमा बाझिन थाले। नभन्दै उसले त्यही बिस्तारा नजिकै एउटा चिठी पनि भेट्यो। चिठी पढेपछि मात्रै त्यो पैसा त्यहाँ राखिनु कारण थाहा पायो।
त्यो पैसा त त्यही पाहुनाले उस्कै निम्ति राखेको रहेछ्न् जुन पाहुना नआउन् भनी ऊ सधैँ बिन्ती गरिरहन्थ्यो, त्यही पाहुना जाँदाखेरी रामेका निम्ति देउता बनेर गएछन्।