कोलाहलले मच्चिएको सहर
भय र त्रासमा डुबेका मान्छे
झर्नै लागेको निलो आकाश
मुर्झाइ रहेका गुलमोहर र पारिजात
आत्मा, हाड, मासु छुट्टिएका शरीर
एउटा अस्पतालको कुनामा मौन छु म
पाइताला कुँजिएका छन्
सास अड्किएको छ
जिब्रो काटिएको छ
शरीर लाचार छ
तरपनि चलायमान छ्न्, दाहिने हातका दुई औँला
कर्तव्य निष्ठापूर्वक प्रतिज्ञा गरेका छ्न्
आफ्नो कर्म अझै छाडेका छैनन्
सरकार जस्तो, व्यभिचारि छैनन्।
सायद केही समयपश्चात्
म पनि मरेर जानेछु
तर यो कदापि नसोच्नू
म यो बर्बरता,
यो निरंकुशता,
बाट भागेर गएँ
लाग्न सक्ला,
मसँगै प्रेम मर्यो
त्याग मर्यो
बलिदान मर्यो
कोमल इतिहास मर्यो
संघर्ष सकियो
तर, यो कदापि होइन।
मेरो मृत्यु प्रेरणा हुनेछ
व्यक्ति मर्छ, विचार मर्दैन
मेरो मृत्यु एक प्रश्न हुनेछ
चेतावनी हुनेछ।
लासले छोपेर सत्य लुक्दैन
निरंकुशताले सबै कुरा मार्न सक्दैन
यसले हजारौं साहित्य जन्माउने छ
विद्रोह जन्माउने छ,
हविब, फेज जस्ता कवि जन्मिनेछन्
विचार जन्मनेछन्
तानाशाह विरुद्ध मुठी कस्ने
योगमाया, भगत सिंह जस्ता सन्तान जन्मिनेछन
मातृत्वभावको अनुभूति गराउने
पेलागेया निलोभ्ना जस्ता आमा
जन्मिनेछन्।
हो,
नयाँ युग जन्मिनेछ
नयाँ पालुवा पलाउने छ
फेरि फुल्ने छ पारिजात
गुलमोहर फेरि मगमगाउने छ।