तल्लीनका साथ सोचिरहँदा,
सम्झनामा आइरहेछ।
कछुवा गतिमा अगाडि बढिरहँदा
खरायो त्यही सुतिरहेछ।
जित्छु कि भनी,
अगाडि त्यो बढिरहँदा
उज्यालोमा नृत्य गरी,
सपनामा चित्रण भैरहेछ।
वरपरको मिठो सौन्दर्य,
बीचमा त्यो अड्किरहेछ।
भिडभाडमा आँखा चिम्लिएर,
अगाडि पाइला चालिरहेछ।
लड्छु कि भनी त्यो,
बीचबीचमा रोकिरहँदा
उज्यालोमा नृत्य गरी,
भिडभाड त्यो रित्तिसकेछ।
मगमगको बास्ना आइरहेछ,
मनमा लड्डु फुटिरहेछ।
खाउ कि भनी मनलाई सोध्दा,
बन्देजको आगो बलिरहेछ।
छर्किउँ कि पानी भनी,
अगाडि म बढिरहँदा
उज्यालोमा नृत्य गरी
अन्धकारको ताप भएछ।
हँसिलो थियो मुहार पनि,
मलाई देखी हाँसिरहेछ।
जुध्दै थियो आँखा पनि,
लाग्थ्यो पालुवाको बिउ उब्जिरहेछ।
गोडमेल गरौँ कि भनी,
सोच्दै म के थिएँ
उज्यालोमा नृत्य गरी,
बडहरको रुख भएछ।
विश्वासको झल्को देखाइदिएर,
आफूतिर तान्नी रहेछ।
मनगढन्ते भाव झल्काइदिएर,
च्वाट्ट प्रहार गर्निरहेछ।
यस्तै कुरा सिकाइदिएर,
आफूमाथि बढ्नी रहेछ
उज्यालोमा नृत्य गरी,
अरुमाथि खुट्टा राख्निरहेछ।
उज्यालोले प्रकाश पार्ने,
सफलताको बाटो रहेछ।
सफलतामा लाग्ने मेहनत,
त्यही नृत्यको भाव रहेछ।
कहीँकतै थकित हुँदा,
पक्कै निन्द्रा लाग्दो रहेछ।
तर,
उज्यालोमा नृत्य गरी,
निन्द्रा-प्यास मेट्ने रहेछ।