अब, तपाईले पहिला जसरी
बन्दुक तेर्स्याइराख्नु पर्दैन
धम्की ओकल्नु पर्दैन
बन्दुक समाउँदा
तपाईको हात दुख्न सक्छ
धम्की ओकल्दा
मुख सुक्न सक्छ
हामी तपाईलाई कष्ट भएको
कहाँ देख्न सक्छौँ र!
तपाईलाई कसैले भ्रम फैलाएछ
कि हामी विद्यार्थी हौँ
शिक्षक हौँ
कर्मचारी हौँ
व्यापारी हौँ
आम जनता हौँ भनेर
हामी त तपाईकै कार्यकर्ता हौँ
तपाईकै पछौटे हौँ
तपाईकै झोले हौँ
हामी अन्याय विरुद्ध
कसरी विद्रोह गर्न सक्छौँ र!
त्यसैले तपाई निर्धक्क हुनुहोस्!
तपाई रोगलाई हाँसो बनाउनुहोस्
हामी तपाईको ठट्यौले स्वभावको
तारिफ गर्नेछौँ
संविधानको धजिया उडाउनुहोस्
तपाईको चलाखीपनको
वाह वाह गर्नेछौँ
हरेक कुराको विज्ञ हजुर
नीति-नियमलाई किनारा लगाउनुहोस्
सबै कार्य मनपरी गर्नुहोस्
कमजोर व्यवस्थापनका कारण
निमुखा जनतालाई मर्न दिनुहोस्
बस्, बेलाबेलामा जनताका नाउँमा
अर्थहीन गफ लगाइराख्नु होस्
तपाईका गफलाई उपलब्धिको उपनाम दिन
हामी कुनै कसर छाड्नेछैनौँ।
कुनै दिन, तपाईले दुई जोड दुई पाँच
भनिदिनुहोस् मात्र
हामी आफ्ना सबै ज्ञानलाई
मिथ्या ठान्नेछौँ
तर्क शक्तिलाई
स्वाहा पार्नेछौँ
तर, दुई जोड दुई पाँच नै भन्नेछौँ।