यसपालि मान्छेहरु बाहिर आएनन्
चर्को नारा जुलुस लाउन पाएनन्
तिमीलाई लाग्यो होला
बिर्सेछन् मलाई भनेर
तर
कोही अस्पतालमा
कोही घरमा
कोभिडले भिडै हुन नदिएकोले
तिमीलाई बधाई दिन पाइएन सरकार !
बिरामीले अक्सिजन भनिरहँदा
अस्पतालले सिलिन्डर गनिरहँदा
तिमी मत गन्दै थियौ रे
मत मात्रै होइन म त...भन्दै थियौ रे
न तिम्रो मत सम्झेँ
न तिम्रो म त....सम्झेँ
कोरोनाको सन्त्रास फैलिरहँदा
सहभागी हुन पाइएन
तिम्रो खेलमा
सरी सरकार
बधाई दिन सकिएन ।
सडकमा कुदिरहेका एम्बुलेन्सहरुमा
शववाहनहरुमा
तिमीलाई बधाई लेखेर ब्यानर टाँस्न सकिएन
हुन त
तिमी धरहरा चढ्दै गर्दा
वरपरका भोका पेटहरु जम्मा पारेर
धरहराको फेदीमा
ताली बजाएकै हो
तुल टाँगेर सजाएकै हो
यसपालि भोका पेटहरु जम्मा पारेर
बिरामीको ओइरो लगाउँदै
सुशासनको नारा भट्ट्याउन सकिएन ।।
तिमीलाई बधाई दिन सकिएन ।
संविधानका धारा पल्टाउँदा
चुनाबताकाका नारा पल्टाउँदा
मख्ख परेर
दङ्ग परेर
मैले कता कता तिमीलाई भेट्टाएकै थिएँ
कोरोनाको त्रासमा
तिमी एकाएक हराएको देख्दा
मैले तिमीलाई खोज्न सकिनँ
कोरोनाको कहर जहरजस्तै फैलिरहँदा
मैले तिम्रो मतको मात बिर्सेँ
सरी सरकार
बधाई दिन सकिएन ।
यसपटक न तिम्रो गुणगान गाउन पाइयो
न त चर्को स्वरमा नारा लाउन पाइयो
हुन त
तिम्री समृद्धि भेटाउने धोकोमा
कहिले गाउँ पसेँ
कहिले सहर पसेँे
कोही कोहीले भेटेको कुरा गरे पनि
मैले भेट्टाउन नसक्दा
हैरान थिएँ
त्यसैले पनि
त्यो निराशा
त्यो खिन्नताले अल्झाइरहँदा
बधाई दिन सकिएन ।
मैले मुखाग्र गरेका संविधानका धाराहरु
तिमीले दिएका समृद्धिका नाराहरु
सबै बिर्सेर
कोरोनाको कहर नियाल्दै गर्दा
सरकार !
तिमीलाई बधाई दिन सकिएन ।।
तिम्रो विजयोन्मादमा
तिम्रो उल्लास अनि उत्साहमा
न दीपावली मनाउन पाइयो
न जाग्राम बस्न सकियो
यसपालि तिमीलाई
प्रशंसाको टावरमा चढाउन सकिएन
तिमीले बधाई पाएका न्युजहरुमा
भ्युज बढाउन सकिएन
सरकार तिमीलाई बधाई दिन सकिएन ।।