तिम्रो शैली मन परेर समर्थन गरेको म, स्वर्गलोकबाट निहाली रहेछु। कठै! म विचरा।
तीन दिन जति भयो ज्वरो आएको, घट्दै घट्दैन!
आमा विदेशमै धन कमाउन गएका बाउसँग फोनमा कुरा गर्दै थिइन्। कोरोना पो होकि भनेर गाउँका मान्छे पनि कोही आउँदैनन्। स्वाब परीक्षणको पनि रिपोर्ट आएन।
रिपोर्ट त आयो तर श्वास फेर्न निकै गाह्रो भयो। अस्पताल भिडम भिड, घरमै अक्सिजनको जोहो गर्ने कुरा भयो। अक्सिजन कतै पाइएन। बल्लतल्ल आमाले कहाँ लुकाएर राखेको गोदामबाट २० हजार धरौटी राखेर अक्सिजनको जोहो त गरिन्, विसेक हुने छाटकाँटै देखिएन।
अस्पतालको गेटबाट एम्बुलेन्स भित्र छिर्नै लाग्दा मनमा लागेको थियो, अब त बाचिन्छ। एम्बुलेन्सबाट निस्कँदै गर्दा अस्पतालको प्राङगणभरि यत्रतत्र छरिएका मान्छेहरुको भिडले अस्पतालको शय्या खाली छैन भन्ने अनुमान सजिलै गर्न सकिन्थ्यो।
एम्बुलेन्स चालकले भन्दै थिए- ‘ल ल अक्सिजन सिद्धिनै लाग्यो। अब पाँच मिनेट जति मात्र छ। चाँडै अक्सिजनको व्यवस्था गर्नुहोस्।’
मेरी आमा दौडँदै अस्पताल भित्र छिर्दै बरबराउँदै थिइन्- ‘लौन के गर्ने होला? डक्टर साब! मेरो छोरालाई त साहै गाह्रो पो भयो। केही उपाय लगाउनु पर्यो।’
सेतो कपडा लगाएको व्यक्तिलाई देख्नासाथ डक्टर नै होला भन्ने सम्झेर सहयोग मागिन्।
सेतो कोट लगाएका व्यक्तिले पुलुकक हेरेर सरासर आफ्नो बाटो लागे। उनको पनि आफ्नै डिउटी थियो होला। आमा पछि पछि ‘लौन डक्टर साब त नबोली पो हिँड्नु भयो, डाक्टर साब! डाक्टर साब!’ भन्दै डौडन थालिन्। ढोकाबाट छिर्नै लाग्दा पालेले बाटोमै रोकेर भन्यो 'एकछिन यहाँ भिड नगर्दिनू होला।'
‘मेरो छोरोलाई भर्ना गर्नु पर्यो, सिकिस्त छ। अक्सिजन सकिनै लाग्यो।’
'सबै बेड त प्याक छ, पर्खनुहोस् न एकछिन कुनै खाली हुन्छ कि!'
‘कति बेला खाली हुन्छ सर?’
'खै! अब कसैलाई निको भयो वा कोही मर्यो भने त खाली हुने हो नि। निको हुन त केही समय लाग्छ।'
सजिलै अनुमान लगाउन सकिन्थ्यो कोही मर्छ कि भन्न खोजिएको थियो। विडम्बना, आफू बाच्नको लागि अरुको मृत्यु कुर्नुपर्ने कठै म!
घरमा हुँदासम्म म मात्रै होला जस्तो लागेको थियो, अस्पतालमा सबैको हालत उस्तै देख्दा मन शान्त भयो। खै पालो आउला र?
निको हुनभन्दा त मर्न छिटो नि भने झैँ सकिन लागेको असिजनको सिलिन्डर ठाकठाक ठुकठुक पार्दै लौन के गर्नै होला भनि छटपटाई रहेकी मेरी आामालाई टुलुटुलु हेर्नु सिवाय कुनै विकल्प थिएन मसँग। मलाई बचाउने आसाको त्यान्द्रोले बेरिएकी आमाको अगाडि कसरी पो मरुँ?
बोलौँ अक्सिजन मास्कले मुखै खोल्न नसक्ने। अलि अलि टोलाएका आँखा पनि चिम्लनै लागेको म। छटपटीले पोलेको छाती, मनले भनिरहे थियो- ‘मलाई बचाऊ, सत्ता तिम्रो बचाइदिन्छु। म नै मरेँ भने त अर्कोपल्ट यी औँठा छापले तिमीलाई दिने भोट म कसरी दिन सकूँला र? यो स्वर्ग लोकबाट तिमी हारेको म कसरी हेरौँला र? तिम्रो शैली मन परेर समर्थन गरेको म, लाचार छु आज।’
जोड केहीँ चलेन, सास फेर्न निक्कै कठिन भयो। हप्याक हप्याक, यो कठिन घडीमा बाच्नुभन्दा मर्न सजिलो। आमाले हात कपाउँदै घरी पैताला त, घरी हात, घरी टाउको मुसार्दै भन्दै थिइन्- ‘बेड खाली हुन लाग्या छ रे।’
आमाको आशाको त्यान्द्रो, घिटिक्क अड्किएको सास फुत्किएर गयो। हावासँगै स्वतन्त्र भै आकाशमा मडारिँदै मेरो अस्तित्व आखिर यति त रहेछ।
तिम्रो कुर्सी जोगाउने होडबाजीमा तिम्रो शैलीको समर्थनमा सडक–सडक र गल्ली–गल्लीमा लगाएका नारा-जुलुसले मेरो सास जोगाएन। मेरी आामाको सहारा जोगाएन। ती चोक र गल्लीहरुमा गफ हाक्दै गरिएका तिम्रा प्रशंसाले मेरो अस्तित्व जोगाएन।
घण्टौँसम्म आमसभामा सामेल भएर, सयौँको भिड जम्मा गरेर सुनौँ सुनौँ लाग्ने तिम्रा समृद्धी नेपालका मिठा भाषणले र घाम पानि नभनी भोकभोकै गाउँका कुना कुनामा पुगेर दुई हात जोडेर तिम्रो लागि मागेको भोटले मलाई सास फेर्न सहज बनाउने एक मुठी अक्सिजनको जोहो गर्न सकेन!
हुन त मलाई तिमीलाई जिताएर कुर्सीको मालिक बनाएकोमा र तिम्रो सत्ता जोगाएकोमा पश्चताप लागेको होइन। मलाई त तिम्रो सत्ता जोगाउने शैलीप्रति मेरो सर्थन सम्झेर आश्चर्य लागेको हो। तिम्रो शैली र मेरो समर्थन दुवै गलत पो रहेछ। मरेपछि बल्ल थाहा भयो, जुन शैली र समर्थनले धित मरुनजेल बाँच्न समेत सकिनँ।
आज, कोही एक गाँस खान नपाएर छटपटाउँदै मरिरहेछन्। कोही बस्ने बासको ठेगान नभएर चिसोले कठ्याग्रिएर मरिरहेछन्। भविष्यका कर्णधार मानिने ती कलिला लालाबालाले अक्षर समेत चिन्न पाएका छैनन भने कोही रोगसँग लडिरहेछन् र जीवन-मरणको भिक मागिरहेछन्।
तिनै मृत्युसँग भिक मागिरहेकालाई उपचार त के सास फेराउन एक सिलिन्डर अक्सिजन पनि तिम्रो शैली र मेरो समर्थनले जुटाउन सकेन। मरेपछि लास पोल्ने दाउरा समेत जुटाउन कठिन भयो!
तिम्रो शैली र मेरो समर्थन जनतासँग माग्ने भोटभन्दा बाच्ने र बचाउने खेल तिर केन्द्रित भएको भए, न त आज अक्सिन नपाएर छटपटिँदै मृत्युको भिक मागिरहेकाहरुको चिच्याहट सुन्नु पर्थ्यो न अकालमा मृत्युको मुखमा होमिनु नै पर्थ्यो। न त सत्ता जोगाउन विश्वास र अविश्वासको जोड-घटाउ नै गर्नु पर्थ्यो।
हिजो दुई हात जोडेर ‘मलाई र मेरो पार्टीलाई भोट दिनुहोस् है’ भन्नुको साटो जनतालाई ‘आउनुहोस्, सबै मिलेर हाम्रो सुरक्षाको लागि काम गरौँ’ भनेर अस्पलाल, स्कुल, बाटोघाटो, आवास, उद्योगधन्दा विस्तार गर्ने तिर तिम्रो शैली र मेरो समर्थन केन्द्रित भएको भए पक्कै पनि मेरो सास फुत्किएर जाने थिएन होला।
आज कयौँ मान्छेहरुले अस्पतालको पिँडीमा बसेर छटपटाउँदै चिच्याई चिच्याई जीवन-मरणको भिक माग्नु पर्ने थिएन होला। उपचारको अभावमा कयौँले अकालमा ज्यान गुमाउनु पर्ने थिएन होला।
मृत्युपछि लास जलाउन समेत चिताको प्रतिक्षामा लाइन बस्नु पर्ने! मेरो त अब, तिम्रो शैलीलाई समर्थन गर्ने भौतिक शरीर पार्थीव भैसक्यो। अझ भनौँ खरानी बनेर विलीन भैसक्यो। लासहरुको खातमा लाइन बसेर चिताबाट मडारिँदै निस्केको धुवाँसँगै हावामा हराइसक्यो।
मेरो फुत्किएको सास र चिताबाट निस्किएको धुवाँ दुवै हावामा विलीन म सोचिरहेछु, ती कोरोना भाइरसले भित्र भित्रै पोलेर अक्सिजन नपाएर छटपटाउँदै जीवन र मरणको भिक मागिरहेका जनताहरु म जस्तै हावामा विलीन भए भने तिम्रो शैलीको समर्थन कस्ले गरिदेला? विश्वास र अविश्वासको हिसाब किताब कस्ले गरिदेला?
आशा छ अब शैली र समर्थन दुवै बदलिनेछ। कलिला लालाबालाले उचित शिक्षा पाउने पद्धतिको विकास हुनेछ। दुई छाक जुटाउन र टाउको लुकाउनको लागि प्रत्येक नागरिकलाई सक्षम बनाउन रोजगारको व्यवस्थापन गर्न उद्योगधन्दा विस्तार हुनेछन्।
तर शैली र समर्थन बदल्नलाई ढिलाइ नगरी ती अक्सिजनको अभावमा छटपटाउँदै जीवन र मरणको भिक मागिरहेका जनतालाई बचाउनु छ। यी जनतालाई बचाउँदै गर्दा, यिनलाई बचाउन आवश्यक स्रोत साधन व्यवस्थापन गर्दै गर्दा तिम्रो शैली आफै बदलिने छ।
शैलीसँगै समर्थन बद्लिने छ। अनि तिम्रो सत्ता आफैँ जोगिने छ। समृद्ध नेपाल आफै बन्नेछ। पक्कै पनि यो महामारीले एउटा सकारात्मक फड्को मार्नेछ। अन्यथा यो स्वर्ग लोकबाट तिमी हारेको म कसरी हेरौँला र? तिम्रो शैली मन परेर समर्थन गरेको म।