जेठको महिना, चकमन्न औंशीको रात। जुनले अनुहार लुकाएता पनि ताराहरूले आँखा झिमिक्क नगरी एक टकले धर्तीका गतिविधिहरू नियालिरहेका थिए। हुटिट्याउँको एक जोडीले पानी ट्यांकीको छतमा बनाएको गुँडबाट आकाश नियाल्दै थिए।
उनीहरू त्यहाँ गुँड बनाएर बस्न थालेको धेरै महिना भैसकेको थियो। पूर्णिमाको रात भएको भए जुनको उज्यालोमा उनीहरू राति पनि किरा खोज्न जान्थे होलान् तर औंसीको रात भएको हुनाले सबैरै सुत्न बाध्य थिए।
दिनभरि सूर्यको प्रचण्ड तापले सिमेन्टबाट बनेको पानी ट्यांकी तताए पनि सूर्यास्तपछि चिसिंदै जाँदा रातिमा खासै फरक पर्दैनथ्यो। त्यसमाथि उत्तरतिर महाभारत पर्वत शृंखलाबाट आएको सिररिरे शितल वायुले जेठको गर्मी बिर्साएको थियो।
त्यति मनोरम वातावरण र आनन्दको मौसममा हुटिट्याउँको जोडीलाई आरामको निद्रा लाग्नुपर्ने हो, तर दुवै निदाएका थिएनन्। ताराहरूले धर्ती नियाले जस्तै खुट्टा माथि फर्काएर उत्तानो परेर सुतेका उनीहरू दुवैले ताराहरूलाई नियाल्दै थिए।
दुवैका नजर आकाशमा टिल्पिलाएका ताराहरूमा भएपनि मनमा अनेकौं विचारहरू खेलिरहेका थिए। दुवैको मन चङ्गा थिएन, दुवै चिन्तामा थिए।
'निन्द्रा लागेन?' भालेले आकाशबाट नजर नहटाएर सोध्यो।
'अँ' पोथीले पनि आकाशमै नजर लगाएर छोटो उत्तर दिई।
दुवैलाई थाहा थियो उनीहरूले के सोचिरहेका थिए भन्ने। जेठ लागिसक्दा पनि उनीहरू बच्चा जन्माउने तर्खरमा लागेका थिएनन्। उनीहरूका बच्चाहरूले त्यो बेलासम्म संसार देख्न पाएका थिएनन्।
अघिल्ला वर्षहरूमा उनीहरूले अण्डासम्म पार्थे, कहिलेकाहीँ कोरल्न पनि पाउँथे। तर त्यो वर्ष त अण्डासम्म पनि पार्न पाएका थिएनन्। सामान्यतया चैत्र लाग्दा नलाग्दै पोथी हुटिट्याउँको शरीरमा अचानक परिवर्तन आउँथ्यो र शरीरले भालेहरूलाई आकर्षण गर्ने सुगन्ध निकाल्थ्यो।
पोथीको शरीरको सुगन्ध थाहा पाएपछि भाले हुटिट्याउँहरू ऊसँग सम्पर्क गर्न पखेटा फिंजाएर चुच्चो ठाडो पारी तछाडमछाड गर्दै पछि लाग्थे। त्यो बेला पोथीलाई निकै रमाइलो महशुस हुन्थ्यो, उसले आफ्नो महत्व बुझ्थी। उसको मन पनि त्यो बेला निकै फुरुङ्ग हुन्थ्यो।
भालेहरूलाई देख्दा उसको पनि आङ जिरिङ्ग हुन्थ्यो, नजानिँदो काउकुति लाग्थ्यो, कताकता भालेसँग नजिकिऊँ जस्तो लाग्थ्यो। तर मन चङ्गा नभएपछि शरीरले पनि त्यसको असर देखाउने रहेछ। त्यसैले यो वर्ष जेठ लाग्दासम्म पनि उसलाई त्यस्तो केही अनुभव भएको थिएन। भालेहरू पनि पछि लागेका थिएनन्।
पहिलो वर्ष भेटेको भाले धन्न साथ छोडेको थिएन र दुख-सुखमा साथ दिने, मनको कुरा पोख्ने साथी भएको थियो।
अब पनि अण्डा नपार्ने हो भने यो वर्ष ढिलो हुन थालिसक्यो भन्ने दुवैले बुझेका थिए। अरु वर्ष भए यो बेलामा बच्चाहरू
कोरलेर पनि उनीहरूलाई आफ्नो पछाडि टुकु टुकु हिंडाउने बेला भैसक्थ्यो। असारमा वर्षा ऋतु सुरु हुनु अगावै उनीहरूलाई उड्न पनि सिकाइसक्नु पर्थ्यो नत्र पानीमा डुबेर या भेलले बगाएर मर्ने डर हुन्थ्यो। तर त्यो वर्ष पनि त्यत्तिकै खेर जाला जस्तो भएको थियो।
गएका चार पाँच वर्षहरूमा उनीहरूले कति ठाउँ बसाइ सराइ गरेर उनीहरूलाई यकिन थिएन। जहाँ बसाइ सरे पनि त्यहाँबाट मानिसहरूले उनीहरूलाई लखेटिरहेका थिए। उनीहरू कहीँ पनि स्थायी बासस्थान बनाउन सफल भएका थिएनन्। अन्त कतै ठाउँ नपाएपछि उनीहरूले अलि सुरक्षित जस्तो देखिने पानी ट्यांकीलाई आफ्नो घर बनाएका थिए।
उनीहरू जन्मँदा विशाल खाली डाँडोमा उनीहरूको घर थियो। उनीहरूका बाबु आमाले त्यही डाँडोमा नै उनीहरूलाई हुर्काएका थिए। उनीहरूका बाजे बराजुदेखि नै धेरै पिंढीले त्यहाँ एक छत्र राज गर्दै आएका थिए।
कालिगेडीका बुट्यान, असुराका पोथ्रा अनि अजम्बारीका झाडीहरू सहित सधैँ हरियो रहने खोलाको नजिकैको त्यो डाँडो उनीहरूको लागि स्वर्ग जस्तै थियो। तर एक दिन अचानक एक हुल मानिसहरू आएर त्यो डाँडोमा सबै झाडीहरू काटकुट पारे, फरुवा र कोदालो ल्याएर डाँडो खन्न थाले।
केही दिनपछि सबै डाँडो समथर पारेर उनीहरूले घर ठड्याए। हेर्दा हेर्दै केही दिनमै सयौं वर्षदेखि शान्तसँग बसिरहेको त्यो ठाउँमा मानिसहरूको कोलाहल बढ्यो।
हुटिट्याउँहरूले भर्खर अण्डा पारेका थिए तर मान्छेको गतिविधि बढेपछि आफूले पारेका अण्डाको माया मारेर त्यहाँ बस्ने सबै हुटिट्याउँहरू आफ्ना पुर्खाले आर्जेको ठाउँ छोडेर बसाइ सराइ गर्न बाध्य भए।
त्यहाँबाट भागेर उनीहरू अर्को बास्थानको खाजीमा पूर्वतिर लागे। भाग्य बलियो रहेछ, नजिकै एउटा खाली खरकट्टी भेटियो। उनीहरूको पहिलेको बासस्थान जस्तो हरियाली नभए पनि, बाज र न्याहुरी मुसा जस्ता शत्रुहरूबाट बच्नको लागि लुक्ने झाडीहरू नभएपनि बस्नको लागि खरकट्टी राम्रै थियो।
फागुन तिर खर सुकेपछि मानिसहरूले खर काटेर लान्थे अनि असारमा वर्षा सुरु नहुँदासम्म खरकट्टी पूरै खाली हुन्थ्यो। पहिलेको डाँडोभन्दा पनि निकै ठूलो क्षेत्रफलमा फैलिएको त्यो खरकट्टीमा कहिलेकाहीँ बाज र स्यालबाट आक्रमण हुने र कहिलेकाहीँ मानिसहरूले पालेका घरपालुवा जनावरले कुल्चेर गुँड बिगारिदिने, अण्डा फोडिदिने बाहेक अरु खासै ठूलो समस्या उनीहरूले झेलेका थिएनन्।
त्यसैले उनीहरू खरकट्टीको बसाइमा खुसी नै थिए। गर्मी याममा दिउँसो खरकट्टीमा निकै गर्मी हुने हुनाले उनीहरू दिउँसो टाढा टाढा पानी नजिक भएको ठाउँमा चारो खोज्न जान्थे र राति सुत्न फर्कन्थे।
धेरै हल्ला गरेर अरूलाई सुत्न बाधा पुर्याएकोले भगवानले उनीहरूलाई एउटा श्राप दिएका थिए रे- उनीहरू राति निदाए भने आकाश खसेर उनीहरूलाई पुरोस्। त्यही श्रापको कारण राति निदाएको बेलामा आकाश खस्यो भने आकाशले पुरेर मरिन्छ भन्ने डरले उनीहरू खुट्टाले आकाश थामेर सुत्ने गर्थे।
खरकट्टीको जीवन सुख, शान्ति र हाँसीखुसीमै बितिरहेको थियो तर त्यो खुसी दीर्घकालीन हुन सकेन। दिनभरि घाम छल्न खरकट्टीबाट टाढा गएका उनीहरू साँझ घर फर्कँदा त्यहाँको दृष्य देखेर तर्सिए। उनीहरू बसेको खरकट्टीमा बडेमानका डोजरहरू उभिएका थिए।
खरकट्टीको ठूलो भाग खनिएर सम्याइएको थियो। उनीहरूले गुँड बनाएको ठाउँमा गुँडको नाम निशान थिएन। अण्डा कोरलिन १-२ दिन मात्र बाँकी रहेको बेला त्यसरी मानिसले आक्रमण गरेर आफ्नो बासस्थान र गुँड भताभुङ्ग पारेको देख्दा उनीहरू त्यो रात रातभरि अब के गर्ने भनेर छलफलमा जुटे।
अर्को दिन दिउँसो थप गाडीहरू आकाश थर्काउँदै खरकट्टीमा आए। १०-१२ जना मानिसहरू गाडीबाट निस्के र डोजर लगाएर खरकट्टी खन्न थाले। अमुक र निर्धा हुटिट्याउँहरू वरिपरि उड्दै कराउन थाले तर डोजरको आवाजमा उनीहरूको मसिनो आवाज मानिसको कानमा नपुग्दै हावामा बिलायो।
हुटिट्याउँरूले विलाप गर्दै आफ्नो बासस्थान नबिगार्न पुकारा गर्दैछन् भन्ने हेक्का समेत मानिसहरूलाई भएन। दुई दिनमा नै सबै माटो सम्याएर मानिसहरूले त्यहाँ घर पनि बनाउन सुरु गरे। केही दिनमा उनीहरूले निलो जस्ताका छाना भएका दुईवटा लामा लामा घरहरू ठड्याए।
धेरै दिनसम्म हुटिट्याउँहरूले मानिसलाई बिन्ति गरे, रोए, कराए, रिसको झोंकमा रातिमा डोजरलाई आक्रमण गरे, डोजरमा बिष्टा गरिदिए। तर ती सबै गतिविधिहरूले मानिसलाई कुनै असर गरेन। उपाय नलागेपछि त्यहाँबाट भागेर खरकट्टीको बाँकी रहेको सानो खाली ठाउँमा गएर हुटिट्याउँहरू बस्न बाध्य भए।
निलो जस्ताको छानाको घर तयार भएको एक हप्तापछि मानिसहरूले त्यहाँ सयौं चल्लाहरू ल्याएर राखे। त्यहाँ मानिसहरूले कुखुरा पाल्ने फार्म बनाएका थिए। ती चल्लाहरूको रातभरिको चिरिबिरि, कहिले चल्ने, कहिले बन्द हुने बिजुलीको जेनेरेटरको आवाज र चल्ला घर भित्रबाट आउने बत्तीको उज्यालोले हुटिट्याउँहरूलाई नजिकै बस्न पनि नसकिने स्थिति खडा गरिदियो। त्यो सबै सहन नसकेपछि उनीहरू त्यहाँबाट पनि भागे।
त्यसपछि उनीहरू मानिसको बस्तीदेखि अलि धेरै नै टाढा खाली खेतमा आफ्नो बासस्थान बनाउन बसाइ सरे। त्यहाँ उनीहरूको जीवन सुखी हुन सकेन। अण्डा पार्न र बच्चा कोरल्न खेतमा सुख्खा जमिन पाउन सजिलो थिएन। खेतका मोटा आलीहरूमा भएपनि गुँड बनाएर उनीहरूले काम चलाउन थाले।
त्यहाँ बाज र न्याउरी मुसाको साथसाथै सर्प र स्यालको पनि डर थपियो। गुँडमा अण्डा बचाउन गाह्रो हुन्थ्यो, बचिहाले पनि बच्चा हुर्काउन पनि त्यत्तिकै गाह्रो थियो। त्यो बसाइ पहिले जस्तो रमाइलो, सुखी र खुसी नभए पनि कसमे कम बस्थे ठाउँ त छ भनेर उनीहरूले चित्त बुझाएका थिए।
तर त्यहाँको बसाइ पनि धेरै दिन टिकेन। एक दिन फेरि एक हुल मानिसहरू आएर सबै खेतका आलीहरू मासेर खेत सम्याए अनि खेतलाई चारपाटे टुक्राहरू बनाएर चिन्ह लगाए। त्यो वर्षदेखि ती खेतहरूमा धान रोपिएन। धान खेतमा उनीहरूलाई बच्चाहरू लुकाउन, खानाको लागि किरा र घोंगीहरू खोज्न सजिलो हुन्थ्यो तर धान रोपिन छोडेपछि त्यहाँको बसाइ झन् कठिन हुन थाल्यो।
अर्को वर्षदेखि ती बाँझा खेतहरूमा पनि मानिसका घरहरू बन्न थाले। मानिसहरू त्यहाँ पनि आएपछि उनीहरूको लागि कतै बस्ने ठाउँ रहेन। कोही कता भागे कोही कता। उनीहरू दुईजना पानी ट्यांकीमा गुँड बनाएर बस्न थालेका थिए।
पहिलेका आफ्ना अरु साथीहरू कता गए भन्ने उनीहरूलाई थाहा थिएन। पहिले कम्तीमा पनि १५-२० चराहरूको झुण्डमा बस्ने उनीहरू अहिले २ जना मात्र बस्न बाध्य थिए।
हिउँदको बेला आकाशै ढाक्नेगरी उड्ने अधिकांश गिद्धहरू मासिएको धेरै भैसकेको थियो भने धनेष, कोकले, काठ फोडुवाहरू पनि हराउन थालेका थिए। हुटिट्याउँको स्थिति पनि त्यस्तै हुन थालिसकेको छ भन्ने थाहा पाएर उनीहरू चिन्तित थिए।
'के गर्ने त यो वर्ष पनि हाम्रा सन्तानले संसार नदेख्ने भए त?' केही बेरको सन्नाटापछि भालेले आफ्नो मुख खोल्यो।
'के गर्ने त? यो पानी ट्यांकीमा बच्चा पारेर के गर्ने? उनीहरूलाई कहाँ र कसरी डुलाउन लाने नै समस्या हुनेवाला छ। बरू नपाउनु नै जाति' पोथीले आफ्नो विचार राखी।
'त्यसो भनेर भएन, हामीले आफ्नो जाति बचाइराख्न भए पनि बच्चा त जन्माउन पर्यो। सबैले यसै गरे भने केही समयपछि हाम्रो जाति नै उन्मुलन हुनेछ' भालेले चिन्ता व्यक्त गर्दै भन्यो।
'खै मलाई पनि थाहा छैन के गर्ने भनेर' पोथी विरक्त हुँदै भनी।
'भगवानको श्राप हुँदाहुँदै पनि यत्रो आकाश थाम्न सक्ने यति शक्तिशाली हामीले हिम्मत हार्नु हुँदैन' भालेले एउटै वाक्यमा सान्त्वना र हौसला दिँदै भन्यो।
'भगवानबाट आकाश त थाम्यौं तर मानिसबाट धर्ती थाम्न सकिएला जस्तो छैन' निराश हुँदै पोथीले भनी।