ठ्याक्कै त्यो बेलाको अन्तिम भोज सायद यस्तै नै थियो होला
माहोल, पात्र, वातावरण, उत्साह , उमङ्ग आजकै जस्तो थियो होला!
बाँकी सबै अन्तिम भोजमा वर्णन गरे जस्तै नै थियो होला!
जताततै झिलिमिली बत्ती बलिरहेकाछन् त्यो बेलाको जस्तै ठूला-ठूला महलमा
सिंगारिएका मानिस बगैंचामा रमिरहेका छन् अत्तरको बासना छर्दै राजकीय गफै गफमा !
राखिएका छन् टेबलमा चौरासी व्यञ्जन, मेवा र मिस्ठान्न किस्तीभरि सजिएका
हातमा ब्रान्डी भरिएका गिलास बोकी साउती गर्दै यताउति हिँडिरहेका।
देशी विदेशी अति विशिष्ट पाउना हिसाब-किताब गरिरहेका
कसको सरकार कसरी बन्दा कसलाई के फाइदा लेखा जोखा गरिरहेका
घरमा, सडकमा, अस्पतालमा जनता स्वास फेर्न नपाई तड्पी-तड्पी मरिरहेका
यस्तै नै पो थियो कि त्यो अन्तिम भोजमा झिसमिसे बिहानी हुनुअघि र पछिको अवस्था!