मेरा हरेक सास
मरूभूमिको तातो हावामा विलिन हुन्छन्
जसरी हरेक बिहान
मेरी आमाले फिका चियामा हालेको चिनी विलिन हुन्थे
तर एक मिठास बोकेर ल्याउँथ्यो त्यो चियाले
अनि एक नमिठो उच्छ्वास् बोकेर ल्याउँछ यो बाफिलो हावाले
सम्झनामा हराभरा वर पिपल चौतारीले झक्झकाइरहन्छन्
त्यो चिसो हावाको एक झोका पाउन
खै कति बर्स मेरा पैतालाले यो बालुवाको तातो खेप्नुपर्ने हो
बाले थुप्रै वर पिपल का चौतारी थपे
थुप्रै कुवा र पधेँरा जोगाए
भन्थे प्रकृति छिन् र पो हामीले सास फेर्न पाएका छौं बाबै।
तर आज एक मुठी हावा नपाएर त्यही प्रकृतिका पुजारी
मेरा बा प्याकप्याक परेको खबर सुन्दा
मेरा कानले पनि एक नमिठो सुस्केरा हाल्यो टुउउउउउउउउ.....
न उडेर जान सक्थे
न मुखमा मुख जोडेर एक फ्वाक सास दिन सक्थें बालाई
म त ऋणको भार थेग्न नसकेर ऋणै काढेर विदेशिएको एक मजबुर छोरो
परदेशको विशाल भवनको साँघुरो कोठाबाट
सम्झिएँ पालैपालो मेरा साथी अनि आफन्तजन
जसले म यो बिरानो मुलुकमा पाइला टेक्ने बित्तिकै
आइफोन र ल्यापटपको अर्डर गरेका थिए
म फर्किने दिन एयरपोर्टमै लिन आउने प्रतिबद्धता देखाएका थिए
ती तिनै अनुहार थिए
जो मलाई बिदा गर्ने दिन व्यस्तताको खोल ओढेर गायब भएका थिए
अनि
केबल मेरा बाले टोपीले मुख छोपेर रूदै मलाई बिदाइका हात हल्लाएका थिए।
आज तिनै बा कसैले नछुने रोग लागेर थलिँदा
खै कुन सहयोगको याचना गरूँ म तिनै अवसरवादी आफन्त सँग
बा
तिम्रो भागमा तातो गाँस, नचुहिने बास अनि नफाटेको कपास जुटाउन
विदेशिएको छोरोले कहिल्यै सोचेन
एकदिन तिमीलाई एक मुठी सासको लागि यत्रो संघर्ष गर्नुपर्ला
आमाको बसमा हुँदो हो त
एक हल गोरू अनि दुई हलको पाखो सबै बेचेर
तिम्रो लागि एक मुठी सास किन्थिन्
मिल्ने भए आफ्नै सास सुकाएर
तिम्रो सासको मुहान खोलिदिन्थिन्
हिक्क हिक्क गर्दै आमाले फोन गर्दा
यता मेरो हिक्का छुट्यो
तर यो बिरानो मुलुकमा
न तिम्रो हात थियो आँसु पुछिदिने
न त आमाको काख थियो शिर अडाउने
अस्पतालको कमिला सम्म नपुग्ने हरेक कुनामा
बिरामीको खात देख्दा
आँगन, करेसा, पेटी भर्याङ सबैतिर
जिजिविसामा छटपटिएका जिउँदा लास देख्दा
मेरा आँखाले तिमीलाई खोज्छन्
आफ्नाले छुन सम्म नपाएका
प्लास्टिकमा पोको पारिएका लासको थुप्रो देख्दा
प्यारा मान्छेको वियोगमा
लासमा घोप्टो परेर धित मरून्जेल रून सम्म नपाएका
अनि अन्तिम संस्कार सम्म गर्न नपाएका परिवार देख्दा
अतालिन्छ मेरो मन
अनि मेरो मनले केलाउँछन् हरेक विकल्प
जसले मेरा बालाई एक मुठी सास पैंचो देओस्
मैले यो तातो हावामा फेरेका हरेक सासले
मेरो देशले प्राण धानेको छ
आज मेरो बाको प्राण धान्न
एक मुठी सास पैंचो दे सरकार
मैले यहाँ पल पल मरेर जोगाएका
दुई चार पैसाले एक सिलिण्डर हावा पठाको छु
मेरो बालाई दुई चार मुठी हावा दिएर
म माथि गुन लगाइदे सरकार
तेरो गुनको सदा ऋणी रहनेछ
ऋणको भारले परदेशिएको यो लाचार छोरो।