उसलाई पहिलो चोटि बाबुसाहेबले अंगालोमा बाँधे। उसलाई बाबुसाहेबले जीवनमै पहिलोचोटि छोएको हो। आज छोटघरको कोठामा ऊ र बाबुसाहेब मात्र थिए।
उसलाई बाबुसाहेबको अंगालोको बासना पनि मिठो लाग्यो। बच्चादेखि नै ठूला जातका मानिसलाई छुन हुँदैन भन्ने मानसिकता बोकेर हुर्केकी उसलाई बाबुसाहेबले एक्कासी अंगालो हाल्दा हुनसम्म खुसी भएको थियो।
गाउँकै सबैभन्दा ठूलो मान्छे कर्णविक्रम बाबुसाहेब। उनी घोडा चढेर गाउँ पस्दा उनको खुट्टा छुनको लागि तछाड र मछाड हुने गरेको दृष्य उसको आँखाले पटक-पटक देखेकी छ। गाउँका सबैका राजा साहेब। गाउँमा सबैभन्दा ठूलो छ उनको घर।
घर पनि के भन्ने, दरबारै भन्दा हुन्छ। गाउँको सबैभन्दा ठूलो भएकोले नै सबैले बडघर भन्ने गरेका। बडघरको नजिकै बडेमाको अर्को घर छ जसलाई छोटघर भनेर चिनिन्छ। ठूलो घरको तुलनामा छोटघर भनिए पनि गाउँमा छोटघर जतिको घर पनि कसैको छैन।
यसै छोटघरमा गाउँलेहरुलाई भेट्ने गर्छन् बाबुसाहेब। आज यही छोटघरको कोठामा बाबुसाहेबको अंगालोमा छे ऊ।
बाबुसाहेबको घरमा बच्चैदेखि बाबु बखतरामसँगै धेरै पटक गएकी छे ऊ।
बाबुले घर बाहिर रहेको हावाघरमा बसेर बाबुसाहेबको लुगा नापिरहँदा ऊ बाबुसाहेबको घर हेर्दै बस्थी। कहिलेकाहीँ बाबुसाहेबनीले खानेकुरो दिँदा ऊ दौडेर गई फ्रकको फेर थाप्थी।
बाबुसाहेबनीले छोइएला कि झैँ गरी टाढैबाट उसको पोल्टामा पर्ने गरी राखिदिन्थिन्। ऊ रमाउदै घर फर्किन्थी।
उसको बाबु कहिल्यै छोटघर भित्र पसेको थाहा छैन उसलाई। गाउँका मान्छेहरुसँग छोटघरमा बसेर कुरा गरिरहेका बाबुसाहेब उसको बाबुलाई देखेपछि बाहिर निस्केर हावाघरमा आई कुरा गर्थे। गाउँका दलितहरु आउँदा भेट्नका लागि घरको पर्खाल नजिकै ढुंगाको छानो हाली बनाइएको थियो यो हावाघर।
बाबुसाहेबको घरबाट फर्किँदा उसले पटक-पटक बाबुलाई सोध्थी- 'बाबुसाहेबले हामीलाई किन छोटघर भित्र नहुलेका बा?'
'हामी साना मान्छेलाई भित्र जान मिल्न्या नाई छोरी' उसका बा सधैँ यसै भनेर उत्तर दिन्थे।
बाको उत्तरले उसको चित्त बुझ्दैनथ्यो।
'तपाईभन्दा सानो रने खत्री काका त भित्रै थिया त!' ऊ प्रतिप्रश्न गर्थी।
'हामी साना जातका मान्छे। बडा जातका मान्छेलाई छुन मिल्न्या नाई। बाबुसाहेबले हामीलाई छोया त उनका जातै गैजान्छन्। घरभित्र लैजाने त दूरका कुरा भैगयो। तँ पनि बाबुसाहेबका घर जाँदा कसैलाई छुन्या होइन है।'
बाले यति भनेपछि मात्र ऊ चुपचाप बाको पछिपछि घर लाग्थी। कहिलेकाहीँ त बखतरामलाई उसको चित्त बुझाउन हम्मे हम्मे पर्थ्यो।
बाको कुराले ऊभित्र बच्चैदेखि बाबुसाहेबको छोटघर भित्र पस्ने लालसा पलाउँथ्यो। छोटघरभित्र के छन् भनेर हेर्ने इच्छा उम्लिएर आउँथ्यो। उमेर बढ्दै गएपछि ऊ एक्लै लुगा ल्याउन पुर्याउन बडधर जान थाली।
उसका बा बडघरको बाली दर्जी भएकोले पूराना लुगा टालटुलदेखि नयाँ लुगा सिउनेसम्म सबै काम उसैका बाबुले गर्नुपर्ने हुन्थ्यो। चाडबाडमा त बाबुसाहेबका परिवार र दश/बाह्र जना हरुवा-चरुवाको समेत लुगा सिउनुपर्ने भएकोले भ्याई नभ्याई नै हुन्थ्यो।
जाडो महिना लाग्नु अघि आमाछोरी दिनभर बाबुसाहेबकै आँगनमा बसेर सिरक डसना बनाउने पनि गर्थे। दिउँसो खाजा पातमा ल्याएर दिन्थे। ढोका बाहिर रहेको सिलावरको अंखरा माझेर पानी थाप्थे।
'ए उजेली! तेरी छोरी त तरुनी भैगयो। अब यसका बिहे गर्दिन्या हो कि नाई?' बाबुसाहेबले उसलाई हेर्दै उसकी आमालाई यस्तो प्रश्न गर्न थालेको वर्ष दिन जति भयो होला।
'खोई मालिक, यसका भाग्यमा कस्तो लेख्या छ उही भैजाला' उसकी आमाको जवाफ सधैँ यस्तै हुन्थ्यो।
केही महिनादेखि बाबुसाहेबको नजरले उसको शरीर नियाल्न थालेको कुरा उसलाई हेक्का नै थिएन। उसले बाबुसाहेबलाई छुन नहुने जात सम्झेकीले बाबुसाहेबबाट आफूलाई कुनै खतरा देख्दिन थिई। त्यसैले बाबुसाहेबको कुराले उसलाई कुनै असर नै गर्दैनथ्यो।
'तेरी छोरी त कस्ती राम्री भकी हौ उजेली। ठकुरी खानदानकी छोरी जस्ती। कुन ठकुरीका आँखा लागिजाला भन्ने डर' बाबुसाहेबनीले यसो भनिरहँदा बडघरको बार्दलीमा बसेर जुँगामा ताउ लगाइरहेका हुन्थे बाबुसाहेब।
आज भने उसले नसोचेको कुरो भयो। बिहानै लुगाको पोको बोकेर बडघर पुगेकी थिई ऊ। बाबुसाहेबनी पूजाको घण्टी बजाउँदै थिइन्। घरको बाहिर कोही थिएनन्। पोको पिंढीको डिलमा छाडेर फर्किनै लाग्दा बाबुसाहेबको स्वर उसको कानमा ठोक्कियो।
'दुधकली!'
आवाज सुनेर ऊ टक्क अडिई। छोटघरको भित्रबाट आएको थियो त्यो आवाज। उसले आवाज आएको ठाउँतर्फ पाइला बढाई। छोटघरको आँगनमा पुग्दा बल्ल उसले बाबु साहेबलाई देखी।
'दुधकली! भित्र आइज न' बाबुसाहेबले हातको इसाराले भित्र बोलाए।
ऊ द्विविधामा परी। जाउँ भने सानो जातको मान्छे भित्र कसरी जाने? आजसम्म मालिकको घर भित्र छिरेको छैन। फेरि कसैले देखे भने गाउँबाटै खेदलान् भन्ने डर। नजाउँ भने बाबुसाहेबले बोलाएका छन्, आफ्नो मालिकको वचन कसरी काट्ने! ऊ आँगनमै उभिएर बाबुसाहेबलाई एकोहोरो हेरिरहिन्।
'भित्र आइज न भनेको लाटी, केही हुँदैन। डर मान्नु पर्दैन' बाबुसाहेबले एक कदम अघि बढेर फेरि बोलाए।
बाबुसाहेबले दोस्रोपटक बोलाएपछि भने ऊ सबै कुरो बिर्सेर हुत्तिँदै भित्र पसी। बच्चैदेखि छोटघरभित्र पसेर हेर्ने उसकोमनको धोको आज पूरा भयो। भित्र बाबुसाहेब एक्लै थिए। उनले एक्कासी दुधकलीलाई आफ्नो अंगालोमा कसे।
'ओहो मालिक! क्या अनर्थ हुनगयो। हामी साना जातका मान्छेलाई छोएसी हजुरका जात जान्या त होइन?'
'धत् लाटी! मान्छे मान्छेमा के फरक हुने हो र। तेरो र मेरो रगत एउटै छैन र?'
'उसो भा मेरा बालाई किन छोटघरमा पस्न नदिया हौ त मालिक?'
'कसले नदिया छ। तेरै बा पस्ने हैनन् अनि हाम्लाई के भन्छस्। यी तलाई त मैले भित्र ल्याएँ नि हैन?'
बाबुसाहेबले उसलाई तानेर भित्रकोठामा लगे। उसले बाबुसाहेबको कुनै प्रतिकार गरिन। बाबुसाहेबले जे-जे भन्छ मान्दै गई। बाबुसाहेबसँग छोटघरमा बस्दा उसलाई आफ्नो जात चढेजस्तो लाग्यो। पहिलोचोटि कुनै पुरुष हातले उसको सम्पूर्ण तन छोयो।
उसले छोएको पानी समेत नखाने बाबुसाहेबले उसको जुठो खायो। सुरुमा उसलाई कस्तो कस्तो लाग्यो तर पछि विस्तारै विस्तारै ऊ आफै पनि छुट्टै संसारमा पुगी। कहिल्यै नगएको, कहिल्यै नपुगेको संसारमा। बाबुसाहेबको बुढो अनुहारमा उसले सूर्यको जस्तै तेज देखी।
'दुधकली! अबदेखि लुगा पुर्याउन सधैँ तैँ आइज है?'
उसले टाउको हल्लाई र छोटघरबाट निस्की घरतर्फ कुदी। कतिखेर घर पुगी पत्तै पाइन।
बाबुसाहेब प्रफुल्ल मुद्रामा बडघरको बार्दलीको कुर्सीमा बसेर पारि पाखोमा रहेको दुधकलीको झुप्रोतिर हेर्न लागे। उसो त बाबुसाहेबको बार्दलीबाट गाउँका सबै घरहरु प्रष्ट देखिन्थ्यो। बार्दलीमा बसेर आफ्नो गाउँ र तल बगेको भेरीलाई हेर्दा उनको मन आनन्दित हुन्थ्यो। आजबाट भने गाउँमा उनको एउटा हेर्ने ठाउँ फेरि थपियो, दुधकलीको झुप्रो।
बिहानीको झुल्के घाम उनको बार्दलीमा पर्ने हुनाले प्रायः बाबुसाहेबको बिहान बार्दलीको कुर्चीमा नै बित्दथ्यो। प्रायजसो भेट्न आउने मान्छेहरुसंग पनि माथिबाटै कुरा गर्थे। लामो सरसल्लाह गर्नुपरे मात्र छोटघरमा निस्कन्थे। गाउँलेका सामान्य कुराहरु बार्दलीमा बसेर नै निप्ट्याइदिन्थे।
उनका बाबु बडा बाबुसाहेब बितेको बीस वर्ष भयो। बाबुको मृत्युपछि बाबुको बिडो धानेको पनि उति नै वर्ष भयो। यो बचमा देशमा प्रजातन्त्र आयो। प्रजातन्त्र पनि खाली काठमाडौँलाई मात्र आए जस्तो भो। गाउँमा अझै मोटर आउन सकेको छैन। गाउँलेका दुःख उस्तै छन्।
हुनेखानेहरु त जहाजमा चौरजहारी हुँदै आउँछन्। नहुनेहरुका लागि त मोटर देख्न पनि दुई दिनको बाटो हिँडेर शितलपाटी पुग्नुपर्छ। यी र यस्ता कुरा सोचेर बेलाबेला उनी निकै भावुक हुने गर्थे। तर उनका अगाडि समाधानको कुनै उपाय थिएन। उनले पनि तीन/चार वर्ष अघिसम्म त गाउँमा रजगज गरेर नै बसेका त हुन् नि।
अझै पनि बाबुसाहेबको रवाफमा कहा कमी आएको छ र! तर प्रजातन्त्रसँगै च्याउ उम्रे झैँ उम्रेका नेताहरुका कारण उनको पुरानो हैकममा भने पक्कै फरक परेको छ। केन्द्रको शक्तिसँगको सम्पर्क टुटे पनि गाउँमा अझै बलियो प्रभाव छ बाबुसाहेबको।
गाउँमा हुने चुनावमा उनलाई हराउने ताकत कसैमा छैन। अझैपनि गाउँमा मर्दा पर्दा गाउँलेलाई सहयोग गर्ने उनै हुन्छन्। जसले जे भने पनि गाउँलेका लागि उनी जति दयावान अरु कोही भेटिन्नन्।
दुधकलीसँग भेटेपछि बाबुसाहेबलाई पनि उसको माया लाग्न थालेको थियो। त्यस दिनपछि बाबुसाहेबले लुगा सिउन पठाउने र दुधकलीले लुगा पुर्याउन आउने क्रम चलि नै रह्यो। दुधकलीको छोटघरमा प्रवेश सामान्य हुँदै गयो।
हप्तैपिच्छे बाबुसाहेबको लुगा फाट्न थाल्यो। बखतरामको कलले सिउँदै गयो। दुधकलीको झुप्रोको रुप पनि फेरिँदै फेरिँदै गयो। बाबुसाहेबको लुगा फाटेको कुरा गाउँघरमा पनि गाइँगुइँ चल्न थाल्यो। पछाडि जे-जेस्तो भएपनि अगाडि आएर बोल्न सक्ने हिम्मत कसैको थिएन।
बाबुसाहेबनी पनि यसबाट बेखबर थिइनन्। बाबुसाहेबनी उमेरले बाबुसाहेबभन्दा पनि जेठी भएकीले उनले लोग्नेलाई ध्यान दिन छाडेको पनि वर्षौ बितिसकेको थियो।
बाबुसाहेबले के गर्छन्, कसो गर्छन् त्यतातिर खासै चासो दिन्थिनन्। घरमा खान नपाएपछि बाहिर खान्छन् भन्ने कुरामा उनी प्रष्ट थिइन्। बाबुसाहेबहरुको मोजमस्तीका बारेमा सानैदेखि जानकार भएकीले उनलाई कुनै असर गरेको थिएन।
'तन दिया नि मन दिन्या चाहिँ होइन है राजा' उनी बाबुसाहेबलाई बेलाबेलामा सचेत पनि गराउथिन्।
एकदिन साँझमा अँध्यारो मुख लाएर दुधकली बाबुसाहेबको घरमा आइपुगी। सधैँ बिहान मात्र आउने उसलाई बेलुकी आएको देखी बाबुसाहेब हतासिए। बडघरबाट आँगनमा झरी उसलाई छोटघरतर्फ लिई गए। उसको मलिन अनुहार देखेर बाबुसाहेब एकैछिन आत्तिए।
'के भो दुधकली भन् न?'
दुधकली केही बोलिन। केहीबेरको मौनतापछि सानो स्वरमा बोली- 'राजा! मेरो त पेट बसिगयो जस्तो छ। मासिक पनि रोकिया तीन महिना भो। म त मरुँ कि क्यारु भनि भन्न आया हुँ।'
उसको कुरोले बाबुसाहेबको मथिंगल हल्लियो। आफ्नो मान सम्मान इज्जत एउटा कुरा थियो तर दुधकलीको जिन्दगी पनि उनको लागि सानो कुरो थिएन।
गोप्य नै सही दुधकलीसँग बिताएका क्षणहरु पनि उनका लागि सुनौला थिए। बाबुसाहेबले जसरी भए पनि दुधकलीको जीवन आवाद गर्नुपर्ने मन बनाए।
'दुधकली त चिन्ता नगर्। म एउटा केटो खोजेर तेरो बिहे गराइदिन्छु। पछि बच्चाको जो जे गर्नुपर्छ म गरौंला। तैले मेरो सेवा गरेकी छस्। तेरो माया कहाँ मारुँला र!'
'खै मालिक! आफूले केही जान्या होइन। हजुरले जे गर्न्या हो गर्नु' सबै कुरो बाबुसाहेबमा छोडी ऊ घरतर्फ लागी।
दुधकली निस्केर गएपछि बाबुसाहेब रातभर छटपटिए। आफूले चिनेजानेसम्मको दश गाउँका केटाहरुलाई सम्झे। अन्तिममा आएर गाउँकै खुसीराममा आएर उनको मन अडियो। दुधकलीलाई जस्तो पायो उस्तै केटालाई भिडाएर पठाउने मन पनि थिएन।
दुधकलीलाई सोझो र इमान्दार केटोको जिम्मा लगाएर सुख दिलाउन चाहन्थे। उमेरले दुधकलीभन्दा दश/बाह्र वर्ष जेठो भए पनि निकै सोझा र मेहनती थिए खुसीराम। बिहे गरेको सात वर्षसम्म पनि बच्चा नभएपछि श्रीमती मरेकी थिई।
बाबुसाहेबको बोलाहटमा भोलिपल्ट बिहान सबेरै खुसीराम बडघरमा दाखिल भयो।
'मालिक! के कामले याद भो?' उसले दुई हात जोडी बिन्ती गर्यो।
'लौ खुसीराम! मलाई तेरो दुःख सहन भएन। तलाई तातो पकाएर ख्वाउने पनि कोही छैनन्। मैले बखतेकी छोरीसँग तेरो बिहे गरिदिने सोचेको छु। गाउँभरिमा राम्री छे। शील स्वभावकी छे। तलाई अरु के चाहियो! ल यो दश हजार लिएर जा। घरमा जे-जे गर्नुपर्छ गर्।'
'मालिक जो कृपा।'
यत्रो गाउँ समाजमा आफ्नो दुःख बुझिदिने दयालु बाबुसाहेबको कुराले उसको खुसीको सीमै रहेन। त्यसमाथि बिहे खर्चको लागि पैसाको जोहो पनि गरिदिएकाले उसले बाबुसाहेबको अनुहारमा भगवानको रुप देख्यो। खुसीले गदगद् खुसीराम बाबुसाहेबको खुट्टामा शिर राख्दै पैसा बोकेर फर्क्यो।
केही दिनमा नै दुधकलीको बिहे भयो। बाबुसाहेबको निर्णयमा ऊ खुसीरामको घरमा भित्रिई। खुसीरामले उसलाई निकै माया दियो। तर जति नै माया दिएपनि खुसीराममा उसले बाबुसाहेबको जस्तो पुरुष गन्ध भने भेटिन। बाबुसाहेबको जस्तो मर्दानिपन पाइन।
उसलाई जीवन अलुनो अलुनो लाग्यो। जे होस् खुसीरामसंग उसको दिन सुखैले बित्दै गयो। सानो तिनो दुःख परे उनै बाबुसाहेबको कृपा छँदै थियो।
बिहेको सात महिनामै दुधकलीले छोरो जन्माई। गोरो, उज्यालो, अनुहारमा तेज भएको। गाउँभरी हल्ला भयो- 'छोरो त ठ्याक्कै बाबुसाहेब जस्तै पाइछे।'
यी हल्लाहरु एक कान दुईकान हुँदै उसको कानसम्म पनि आइपुग्यो। यसले उसलाई खासै फरक परेन। ऊ मनमनै झन् खुसी भई। कमसेकम आफू दलित भए पनि छोरोको नाम त बाबुसाहेबसंग जोडिएर आयो।
आखिर छोरो बाबुसाहेबकै त हो। नजान्ने नबुझ्ने को पो छ र। खुसीराम त दुनियाँलाई देखाउने बाबु न हुन्। मुखिन्ज्याल भन्न नसकेका मात्र त हुन् नि। उसो त दुधकली पाउँदा पनि उसकी आमाको नाम बडघरसँग जोडिएकै हो।
त्यस्तो कालो बाबुकी यस्ती जून जस्ती छोरी कहाँबाट हुन्छ भनेर नानाभातिका कुरा काटेकै हुन्। तर उसका बाबु कहिल्यै हल्लाको पछि लागेन। उसकी आमालाई कहिल्यै नराम्रो गरेन। दुधकलीलाई बडो मायाले हुर्काए।
बडघरको सेवामा पनि केही कमी हुन दिएन। दूध जस्तै सेतो भएकीले नै बखतरामले उसको नाम नै दुधकली राखिदिएका रे।
'हामी दलितका त छोराछोरी राम्रा भया पनि देख्न सक्न्या होइनन् डाम्नाहरु' उसको बाबुले कुरा काट्नेहरुलाई यसो भनेर चित्त बुझाउँथ्यो।
दुधकलीले छोराको नाम सूर्य विक्रम राखिदिई। छोराको अनुहार घाम जस्तै तेजिलो भएकोले उसले सूर्य नाम छानी विक्रम उसको मनले रोज्यो। उसको छोराको नाममा पनि गाउँलेहरुले खिसिट्युरी गरे। अब दलितले पनि छोराका नाममा विक्रम जोड्न थाले के कुरा गर्नु र भन्दै खिल्याए। तर उसले त्यसको पनि कुनै पर्वाह गरिन।
उसको छोरो तीन वर्षको हुँदा माओवादीहरुले देशभर जनयुद्ध छेडिदिए। उसको गाउँ पनि युद्ध मैदान बन्यो। माओवादीहरुले गरिब र दलितहरुलाई उठाएर बाबुसाहेबको सबै जग्गा कब्जा गरे। बाबुसाहेबलाई भौतिक कारबाही गर्ने उर्दी जारी गरे।
बाबुसाहेबलाई घरबाट निस्कनै मुस्किल भयो। गाउँमा रातभर पुलिस र माओवादीको लुकामारी चल्न थाल्यो। हरेक दिन कहिले माओवादी र कहिले पुलिस मारिएको समाचारहरु आउन थाल्यो।
माओवादीको डरले बाबुसाहेब गाउँमा हिँड्न पनि छाडे। माओवादीको ज्यान मार्ने धम्कीले बाबुसाहेबलाई गाउँमा बस्नै मुस्किल हुन थाल्यो। बाबुसाहेबको जीवनमा यस्तो संकट आइपर्ला भनेर उसले कहिल्यै सोचेकी थिइन।
उसलाई बाबुसाहेबको औधि माया लागेर आयो। माओवादीहरुले सामन्ती भनेपनि उसले बाबुसाहेबलाई कहिल्यै सामन्ती देखिन। आफ्नो हर दुःखमा साथ दिने बाबुसाहेबलाई कतै केही हुने पो हो कि भन्ने चिन्ताले उसको मन खाइरह्यो।
माओवादी युद्ध भएको चार वर्ष बितिसकेको थियो। गाउँमा कहिले के हुने हो केही ठेगान थिएन। पुलिसहरु पनि खुलेर हिँड्न सक्ने अवस्था थिएन। एक दिन अचानक राति बाह्र बजे तिर माओवादीको एक डफ्फा उसको गाउँमा आइपुग्यो।
घरको ढोका ढक्ढक्याई सबैलाई बाहिर निस्कने उर्दी जारी गर्यो। छोरालाई भित्रै राखी डराई डराई खुसीराम र ऊ बहिर निस्के। बाटो माथिको पाटामा गाउँलेहरुलाई भेला गराइसकेका रहेछन्। दुवैजना थरथर काँप्दै पर्खालको डिलमा बसे। गाउँभरी हतियारधारी डफ्फाले घेरिसकेका रहेछन्।
सबै गाउँले जम्मा भएपछि विद्रोही कमाण्डर पर्खालमा उभिएर बोल्न थाले- 'वर्षौंदेखि तपाईहरुलाई दलित भनेर सामन्तीहरुले दबाएर राखेका छन्। अब ती सामन्तीहरुको दिन सकियो। तपाईहरु माथि अछुत व्यवहार गर्नेहरुको हात काटिने छ। गर्दन छिनालिने छ।
अब तपाईहरुको मुक्तिको दिन आयो। मुक्तिकामी जनताको उन्मुक्तिको लागि वर्षौंदेखि तपाईहरुलाई शोषण गर्दै आएको यो गाउँका सामन्त कर्ण विक्रमलाई भौतिक कारबाही गर्ने पार्टीको निर्णय भएको छ। हाम्रो यस महान कार्यमा तपाईको पनि सहयोग चाहन्छौँ। यस गाउँबाट पनि दलित युवाहरु स्वस्फूर्त रुपमा महान् क्रान्तिमा सामेल हुन आह्वान गर्दछौ।'
कमान्डरले आफ्नो कुरा सकेपछि सबै जनसेनाहरु एक लाइन लागेर गाउँमाथिको बाटो हुँदै उकालो लागे।
कमान्डरको बोली सुनेर दुधकलीको शरीर फतक्क गले झैँ भयो। अँध्यारोमा चम्किरहेका ताराहरु फनफनी घुमे जस्तै भयो। सास फेर्न गाह्रो भएजस्तो भयो। बाबुसाहेबको अनुहार उसको आँखा अगाडि आएर नाँच्न थाल्यो। लोग्नेको हातको सहाराले विस्तारै घरसम्म पुगी। घरमा पुगेपछि उसको छटपटी झन्झन् बढ्दै गयो।
ऊ वास्तबमै बाबुसाहेबलाई माया गर्थी। आफू दलित हुनुमा उसले आफ्नो भाग्यलाई दोष दिँदै हुर्केकी हो। उसलाई जातले मानिस ठूलो सानो हुँदैन भनेर कसैले सिकाउँदै सिकाएनन्।
उसका बाबु आमाले नै बाबुसाहेबलाई मालिक भनेर पुज्न लगाए। बाबुसाहेब ठूला मान्छे हुन् भनेर चिनाए। बाबुसाहेबको सोझो चिताउन सिकाए। बाबु आमाकै सिको गर्दै उसले बाबुसाहेबलाई आफ्नो दुःखहरण गरिदिने भगवानको रुपमा मानी। उसले कहिल्यै बाबुसाहेबको कुभलो चिताउँदै चिताइन।
खुसीराम कोल्टो फर्केर घुर्न थालिसकेको थियो। उसले पनि सुत्ने कोसिस त गरी तर रातभर निन्द्रा उसको छेवै पर्न सकेन। चकमन्न अँध्यारोमा आँखा खुलेरै रात कट्यो। बिहान सबेरै मुखमा पानी छ्यापी भारी मन लिएर ऊ बडघर तिर लागी।
बडघरको आँगनमा पुग्दा घर सुनसान थियो। बाहिर कोही देखिन्थेनन्। कोही नदेखेपछि उसले 'मालिक! मालिक! ' भन्दै बोलाई। उसको आवाज सुनेर बडघरको बुट्टे झ्याल खुल्यो। झ्याल भित्र बाबुसाहेबलाई देखेपछि ऊ छोटघरतिर लागी। बाबुसाहेब पनि हातमा कमिज उन्दै छोटघर तिर लागे।
उसले बाबुसाहेबको आँखामा पहिला जस्तो कान्ति देखिन। अनुहारको चमक पनि हराए जस्तो लाग्यो। गालामा पनि मुजा थपिए झैँ लाग्यो। उसको मन पोलेर आयो। आँखाबाट बरर्ररर आँसु झर्यो। ऊ केही नबोली बाबुसाहेबलाई ग्वाम्म अंगालो हाली घुक्क घुक्क रुन थाली।
'किन के भयो दुधकली?' बाबुसाहेबले अंगालोबाट छुटाउँदै सोधे।
'मालिक! हजुर आजै गाउँ छाडी गइजाऊ। यो मुर्दा गाउँमा बस्न्या होइन। हजुरका गाथमा दाग धर्याछन् मालिक। म छोराका अनुहार हेरी हजुरका सम्झना गर्दाहुँला। कसै गरी गाउँ छाडिजाऊ' उसले रुँदै मनको कुरो एकै सासमा पोखी।
'दुधकली! म तेरो मायालाई बुझ्छु। चिन्ता नगर्। आजै नेपालगन्ज जाने कुरो भया छ। अब तलाई देख्न पाउन्या हो कि होइन। छोरालाई राम्रो गरी हुर्काए। बडघरको माया नमारे। दुःख परे खबर पठाए। ल यो औँठीलाई जतन गरी राख्। छोरो ठूलो भयापछि मेरो चिनो भनी दिनू।'
बाबुसाहेबले हातभरीको औँठीमध्ये माझीऔँलाको सुनको औंठी खोलेर उसको हातमा राखिदिए। बाबुसाहेबको आँखाबाट खसेको तातो आँसु उसको हातको औंठीमा खस्यो। बाबुसाहेबको आँसुले उसको मन निथ्रुक्क भिज्यो। उसलाई त्यहाँ रोकिन गाह्रो भयो। भारी मन बोकेर आँसु पुछ्दै छोटघरबाट निस्केर घरतिर लागी।
बाबुसाहेबको परिवारै गाउँ छाडेर हिँडेपछि दुधकलीलाई गाउँ नै बिरानो लाग्न थाल्यो। बडघर जाने आउने बाटो बन्द भयो। रित्तो बडघर देख्दा उसको मन झनै रित्तो हुँदै गयो। गाउँछाडेपछि बाबुसाहेबको खैखबर केही आएन।
जनसेनाहरुले बडघर र छोटघर दुवै जलाइदिए। दुवै घर जलेर काठका ठुटाहरु मात्र बाँकी रह्यो। अब बाबुसाहेबको निशानीको रुपमा उनले दिएको औँठी र सूर्य विक्रम मात्र बाँकी रह्यो। जबजब बाबुसाहेबको न्यास्रो लाग्थ्यो तबतब सूर्य विक्रमको अनुहार हेरेर चित्त बुझाउँथी।
उमेर बढ्दै जाँदा छोराको रुप-रंग र बोली व्यवहारमा उसलाई बाबुसाहेबकै झल्को आउँदथ्यो।
बाबुसाहेबले गाउँ छाडेको केही वर्षपछि जनयुद्ध सकियो। जंगलका कमाण्डरहरु देश चलाउन पुगे। गाउँ छाडेर गएकाहरु सबै गाउँ फर्के तर उसको बाबुसाहेब फर्केनन्। देशमा गणतन्त्र आयो। सर्वहारा भन्नेहरु सामन्ती बनेर निस्किए। गाउँमा नयाँ-नयाँ बाबुसाहेबहरु जन्मिए। तर उसको जस्तो दुःख पीर सुनिदिने बाबुसाहेबहरु उसले भेटिन।
देशबाट जातिपातिको भेदभाव हटेको समाचारहरु धेरै सुनेपनि गाउँमा भने कतै चलेन उसले छोएको पानी। उसका लागि कहिल्यै खुलेन उच्च जातका घरका ढोकाहरु। रोकिएन दलितमाथिको हेपाई चेपाईहरु। उसका लागि गणतन्त्र भनेको ल्हासाको सुन जस्तै भयो।
बाबुसाहेबको बाटो हेर्दाहेर्दै धेरै वर्ष बित्यो तर बाबुसाहेब गाउँ फर्केनन्। बरु बाबुसाहेबको मृत्युको खबर आइपुग्यो। गाउँभरि हल्ला भएपछि उसको कानमा पनि पर्यो। खबर सुनेदेखि दिनभर उसको आँखामा आँसुको भेल बगिरह्यो।
आङमा घाम पनि लागेन। छातीमा गह्रुंगो ढुंगोले थिचे जस्तै भैरह्यो। साँझपख टालोमा पोकोपारी संदुकको कुनामा राखेको औँठी झिकेर सूर्य विक्रमको औँलामा लगाइदिँदै छोराको अनुहार हेरेर निकेबेर टोलाइरही।
छोराको अनुहारमा धपधपी बलेको बाबुसाहेबको अनुहार देखी। बाबुसाहेबको माया र उदारताले उसको मन कोपरिरह्यो। आफ्नो बाबुसाहेबलाई कहिल्यै देख्न नपाउने कल्पनाले उसको मनमा भयंकर डढेलो लागिरह्यो।
रातभर उसका आँखामा दर्किरह्यो आँसुको झरी। मस्त निन्द्रामा परेको छोरातर्फ नजर पुर्याई। रातिको अँध्यारोमा पनि सूर्य विक्रमको औँलामा बाबुसाहेबको औँठी चम्किरहेको थियो। ऊ भने आँसुले बाबुसाहेबको सम्झना पखालिरहेकी थिई।