नजिकै अर्को मोबाइलबाट कुल पोख्रेलको ‘जब साँझ पर्छ...’ गुन्जिँदै छ। हातको मोबाइलमा भने सामाजिक संजालका म्यासेज दौडिँदै छन, आफ्नै गतिमा।
धेरै जनाको म्यासेजले मोबाइलको घण्टी बजाए पनि औँला भने उस्कै रिप्लाई गर्न नाचिरहेछन्। कुराका अनेक विषय झिकिँदै छन् त कुराहरु पनि लम्बिने क्रम जारी छ।
सोचाइ भने खै कहाँ पुगेको छ, आफैलाई थाहा छैन! रातको समय बाहिर सबै शान्त भए पनि उस्को कुराले मनमा भने ठूलै हावाहुरी चलिरहेको छ।
नयाँ बसपार्क नजिकै गंगा हलको ठिक अगाडि वन विज्ञान अर्थात् फरेस्ट्रीको प्रवेश परीक्षा दिन म लगायत पोखरा जाने तयारीमा छौँ। इन्स्टिच्युटले हामीलाई लैजाने ल्याउने कुरा व्यवस्थापन गरेको छ।
करिब एक सय जनाको हाम्रो समूहमा मैले चिनेको मात्र दुई जना, किरण अनि विधता। यतिकैमा किरणले मलाई सोध्छ 'हेर त त्यो केटी कस्तो राम्री! बोइफ्रेन्ड छ कि छैन होला?'
सामान्यतया यस्तो कुरा केटाहरूले कुनै राम्री केटी देख्दा सोधिहाल्छन्। ‘तिमीलाई के मन पर्यो उस्को, रुप? रुपमै तिमीलाई उस्को प्रेम जीवन बारे जान्न इच्छा भयो? तिमीलाई थाहा छ भने भन न’ भन्दै उस्ले आफ्नो कुराको बिट मार्यो।
अब मैले किरणले भनेको राम्री केटीलाई हेर्ने मौका पाएँ। खैरो रंगको कर्ली कपाल, गाजलु आँखा, आँखा माथि ठिक्कको निधार, हल्का चुच्चे नाक, खैरो कालो रंग पोतेको ओठ भित्र मिलेका ती दन्त लहर, निलो रंगको जिन्स पाइन्ट, निलै रंगको आउटर।
झट्ट हेर्दा जो कोही पनि मोहित हुने उस्को त्यो रुपले मेरो पनि एक नजर भने लिएकै हो। मलाई पनि मनमा खुल्दुली जागेकै हो, उस्को प्रेम जीवनको बारे जान्न। झट्ट हेर्दा मोहित म पक्कै भएको हो तर यसलाई म प्रेम भन्न सायद सक्दिनँ।
सुगन्ध आइरहेको फूलमा भमरा बस्छ, रस छ भने बस्छ तर त्यो भन्दा मिठो रस आएको फूल भेटेँ? आखिर भमरा न हो सँधै भर त्यही फूलमा बस्छ भन्ने कहाँ छ र? के म पनि त्यही भमरा हुँ त?
म पनि नयाँ फूल पाउने बित्तिकै त्यतै जान्छु होला त? म जान्छु भने त्यसलाई प्रेम कसरी भनौँ? मेरो लागि ऊ बगैंचा नै हो भनौँ भने पनि त कुनै बेला उजाड पनि हुन सक्छ? त्यो बेला मेरो प्रेम पनि उस्को लागि सुख्खा मरभूमि नै पो हुने हो कि?
'विधता यहाँ आऊ त, उस्को कोही छ कि छैन होला?'
'किन मन पर्यो र ऊ?’ विधताले मेरो प्रश्नको जवाफ स्वरुप मलाई नै प्रश्न गरी।
'हैन, त्यस्तो केही होइन। जान्न मन लागेर मात्र।'
मेरो जवाफपछि उस्ले पनि एउटा सामान्य वाक्य बोली जुन त्यहाँ उसलाई हेरेर बस्ने केटाको मनको लागि असामान्य थियो- ‘छ रे, कोसिस नगर।’
म कोसिस गर्ने पक्षमा पनि थिइनँ। त्यतिन्जेलसम्म मेरा नजरहरु ऊबाट हटेका थिएनन्, जो कोहीले पनि त्यो हेराइलाई घुरेको भनी भन्न सक्थ्यो। संयोग भनौँ कि के? हामी चढ्ने बस पनि एउटै रहेछ।
बसमा रमाइलो गर्दै हिँड्ने हामी उस्ले पनि केही हौसला थपिरहेकी थिई। नृत्यकला पनि राम्रै रहेछ। सायद त्यहाँ सबभन्दा राम्री ऊ नै थिई त्यसैले त हेरेक केटाहरुको मुखबाट उस्कै कुरा निस्किएको थियो।
पोखरा लेकसाइड होटल हाम्रो त्यही थियो। सामान्य आरामपछि केही छिनको लागि हामी बाहिर निस्केका थियौँ। केटाहरुको नजर भने उतै, दिउँसोभन्दा झन् राम्री देखिएकी ऊ।
पहेलो कुर्थामा गोरो अनुहार हर कोहीको ध्यान केन्द्रित गर्न सक्थ्यो। बसमा सामान्य कुराकानी भए पनि एकअर्काको परिचय भने गर्न सकिएन।
अर्को दिन, अर्थात हाम्रो परीक्षाको दिन हामी केही साथी भएर नजिकैको चिया पसलमा चिया पिउँदै थियौँ। ऊ अनि केही केटी भएर त्यही पसलमा चिया पिउन आए।
त्यहाँ हामीले उस्को नाम मात्र सोधपुछ गर्ने कार्य गर्यौं। नशिमा, नाम अनौठो थियो उस्को। कोठामा पुगेर केही बेर फेसबुकका भित्ताहरु घिसार्दै थिएँ। त्यतिकैमा नोटिफिकेशन आयो 'नशिमा सेन्ट यू अ फ्रेन्ड रिक्वेस्ट!'
म अचम्म, मैले त उस्लाई आफ्नो नाम समेत भनेको थिइनँ! फेसबुक आइडी कसरी प्राप्त गरी उस्ले। फेसबुकमा साथी बन्न अनुरोध आएको केही बेरमै त्यो डिलिट गरियो। आखिर के गर्दै छे उसले यो? किन?
परीक्षापछि हामीलाई फेवाताल घुमाउन लगियो। बसहरु पार्किङमै थिए। म भने घर हिँड्नु पर्ने थियो। त्यसैले केही बेर घुमी बसमा फर्किएँ। झोला लिएर निस्किनु पर्ने म, मेरो पाइला केही बेरको लागि रोकिँए।
ऊ त्यहीँ बसमा। बिहानको घटना बारे मैले उसलाई सोध्नु पर्ने, मैले मुस्कुराएरै भने 'बिहान खै के हो डिलिट गरेछौ त!'
उस्ले मन्द मुस्कानका साथ जवाफ दिई 'साथीहरुले पठाएछन्। मलाई ठिक लागेन, गरेँ' केही बेर सामान्य कुराकानी भयो। मान्छे ऊ आँटिली भनौँ कि पागल, गर्मी भयो मलाई भन्दै अन्तिम सिटमा बसेर टिसर्ट चेन्ज गर्ने।
घर आउनको लागि अर्को दिन पनि म बसकै यात्रामा छु। बोल्ने जस्तो कोही छैन। अझ बसमा एसो कुरा गरौँ न भन्नलाई कोही केटी छैन। यत्तिकैमा म फेसबुक तिरै समय कटाइरहेको थिएँ। म्यासेन्जरले घण्टी बजायो, तलाई कोही म्यासेज गर्न खोज्दै छ, बोल्न अनुरोध गर्दै छ भनी।
फेसबुकमा कसैको साथी बन्ने अनुरोध पनि आयो। उहीँ नशिमा, आज त म्यासेज पनि गरी, के आज पनि उस्को साथीहरुले नै हो त? हैन होला, म्यासेज त आफै गरी। मैले पहिला रिप्लाई दिएर साथी बन्ने अनुरोध सहर्ष स्वीकार गरेँ। कुरा हुँदै गयो।
आजभोलि हरेक रात मेरो कुराकानी गर्ने साथी बनेकी छ ऊ। आफ्ना विचारहरु राख्दै मन पर्ने नपर्ने कुरा साट्दै जाँदा उस्लाई तिमीलाई के राम्रो लाग्छ भन्ने मेरो प्रश्नमा अकल्पनीय जवाफ फर्काइ 'मलाई तिमी राम्रो लाग्छ।'
कस्तो जवाफ हो यो! राम्रो लाग्नु र मन पर्नु फरक हो। उसलाई त मन पनि पर्छ। योभन्दा अगाडि केही नसोध है भनी उस्ले सुत्नको लागि अनुमति मागी। मैले उस्को रात राम्रो होस भनी म्यासेज छाडे।
सुत्न नमानेको मनले अनेक कुरा सोच्न थाल्यो। 'आफ्नो बनाउन खोज्ने मानिसले मलाई कहिले छाड्दैन। त्यसै पनि ऊ त पक्कै प्रेममा छे।' एक मनले तर्क राख्यो।
'तर उसलाई अहिले नै प्रेम प्रस्ताव राख्दा ठिक होला र?' प्रश्न अर्को मनबाट।
'हो, यति छिटै प्रस्ताव त नराखौँ होला, प्रस्ताव बिना प्रेम हुन सक्दैन र?' आफैलाई जवाफ सहित प्रश्न सोध्छ मन। प्रस्ताव बिना नै मायामा पर्दा पछि केही दिनको आकर्षण मात्र हो भनी उस्ले मलाई नअपनाए के गर्नू?
के म साच्चै ऊसँग प्रेममा छु त? मेरो मनमा उस्को लागि माया पलाएकै हो त? यदि ढिला भयो भने मेरो प्रेम समयमै बुझेनौ भनी भने म के गर्नू? आफ्नै प्रश्न को जवाफ विहीन म न त कुनै निष्कर्षमा पुग्न सक्छु।
अन्तिम म्यासेज छाडेँ उस्लाई 'के तिमी मलाई चाहान्छौ त? मलाई आफ्नो बनाउने सोचमा छौ?’
यति भनिसकेपछि मनले अझै एक लाइन थप भन्यो तर म पछि हटेँ र मनमनै भनेँ 'एक पागल प्रेमी तिमीलाई पर्खिरहेछ।'