मलाई सास फेर्न गाह्रो भयो
म कहाँ जाऊँ सरकार?
चन्दा दिएका मन्दिर जाउँ भने,
अर्को सूचना नभएसम्म ढोका बन्द लेखिएको छ
अस्पताल जाऊँ भने अक्सिजन मसँग जोहो छैन
मसँग आमाको तिलहरी, बाको पुरानो घरको पूर्जा छ
हामी बेच्न वा बन्दक राख्न तयार छौँ
कृपया मलाई सास फेर्न मद्धत गर।
म कसलाई बोलाउँ, मलाई गाह्रो भयो भनेर
मलाई देख्दा छिमेकी, परिवार र हितैषी डराउँछन्
यता आओ न हो कसरी भनम्!
तँलाई म मार्छु भनेर कोरोनाले जेलेको छ
कहाँ गएछ मेरो सत्कर्म, धर्म अनि आचरण
खै त मलाई बचाउन दृश्य वा अदृश्य शक्ति आएका?
एक वर्षदेखि बारेको बारेकै छु
धिक्कार छ मेरो नियतीप्रति
मलाई जनता मान्छौ भने कृपया सास फेर्न मद्धत गर।
समृद्ध नेपाल बनाउने संकल्पमा मतदान गरेँ,
देशमै बसेर राजनैतिक आन्दोलनमा जिन्दावाद! मुर्दावाद! गरेँ
तपाईंले जित्दा तपाईंभन्दा म हजारौं गुणा खुसी थिएँ
तपाईंले जनताभन्दा मलाई नै भनेको ठानेँ
म नै नेपाली जनता मानेँ
मलाई गाह्रो पर्दा तीनै तह गुहारेँ तर मौन पाएँ
के छ? भन्दा मलाई लकडाउन छ।
तपाईंहरु सत्ताको अंकगणितमा रम्दा
फेरि चुनाव आएमा म हजुरलाई नै भोट हालुम्ला
मलाई एक पटक सास फेर्ने बनाइदिनुस्।
अरु देश सुचारु हुँदा मेरो देशमा लासको गणना ठूलो छ
ढोका लगाएका भगवानले धोका दिए र जनताको सरकारले पनि
कुरा बेसार पानी, अम्बाको पात वा हाच्छ्यिूँको हैन
बिन्ती सरकार मलाई तड्पाई, तड्पाई मार्नुभन्दा
नजिकैको चोकमा राखेर गोली ठोक्दे
जय नेपाल भनेर मरौँला
हैन भने,
म सास फेर्न चाहन्छु मलाई बचाऊ।