निरीह जनावरको गर्धनमाथि चढेर
मासुको चोक्टा र रगत चुस्तै
निमेष भरमै एउटाको ज्यान सुकाएपछि
अघाएको बहानामा
निष्ठुर हाँसो हाँस्छन् बाघहरु।
सायद हाँसोको पनि कुनै संवेदना थिएन
थियो त केवल, अभिमान र घमण्ड
अर्को दिन जंगल चहार्दै जान्छ र बुढो हरिण भेट्छ
गर्धन निमोठ्तै गर्दा बाघमा कुनै विचलन देखिन्न
हरिणको चिच्याहट र पीडाको क्रन्दन देखेर
बाघ फेरि उन्मत्त हाँसो हाँस्छ।
बाघलाई कस्ले कारबाही गर्ने!
उसको सिंहासन हल्लाउने सामर्थ्य थिएन
नाथे जनावरहरुसँग
बाघको क्रुरता स्वीकार गरेको बर्बर जंगली राज्य
चुपचाप मौन रहन्छ
बाघका लागि सजाय तोक्ने हिम्मत कसलाइ पो छ र
मानौ, बाघ नै कानुन हो।
बाघको शासन र साम्राज्य रहेसम्म
निर्धाहरुको बलिवेदी चलिरहन्छ
हराउनेछ दया माया र संवेदना
यहाँ फूल फुल्नुको कुनै अर्थ रहने छैन
ऋतु परिवर्तनले कुनै आशा दिलाउने छैन
त्रासदीको आर्तनाद भित्र, बाघमात्रै देखिनेछ।