अचेल
मृत्युको सुनामीले
मच्चाउँदै छ कोलाहल
रोदन अनि क्रन्दन
छरपस्ट भइरहेछ धर्तीमा
हरेक दिन
कोमल मन त्रसित भइरहेछन्
र त सेता सिपाहीहरु
कर्ममा व्यस्त छन्।
जब तिमी मस्त निद्रामा हुन्छौ
परिवारसँग रमाइरहेका हुन्छौ
तब उ सेतो कपडामा सजिएर
तिम्रै वरिपरि रही
छरिरहेछ मुस्कान
लगाइरहेछ चिरापरेका घाउहरुमा मल्हम
अनि तिमी निर्भीक निदाइरहेछौ
र देखिरहेछौ बन्द आँखाले सपना।
देश आइसियूमा रहँदा
कोही सत्तामा लिप्त भइरहेछन्
तर ऊ पसिना चुहाउँदैछ
उसलाई मतलब छैन जात अनि धर्मको
दुखित मुहारमा
छर्दैछ मुस्कान
सम्झन्छ ऊ काखे बालकलाई
बुढा बाबुआमालाई पनि
तैपनि गुनासो छैन कोहीसँग
किनकि ऊ कर्ममा तल्लीन छ।
तर ऊ
प्रत्येक दिन रुन्छ एक्लै
देखाउँदैन आँसु
सञ्जिबनी बुटी पिलाउँदै गर्दा
हरेक साँझ बिहान
मृत्युको अट्टाहास हाँसोले
झस्काउँछ उसलाई
तैपनि विचलित हुँदैन
डटिरहन्छ ऊ आफ्नो कर्ममा
त्यसैले त
सलाम! सेता सिपाहीहरु।